हुत्याईएकी म छोरी

नीता राई
नाम परिवर्तन

“नीता … छिटो गरेर स्कुल जाउ है, म खेततिर गएँ ।”

आमाको माया भरिएको यो आवाजलाई सम्हाल्दै हाम्रो घरदेखि तलतिर सङ्लो पानी बगिरहेको खोला तरेर स्कुल जाँदै थिएँ ।

एक्कासी “नीता … नीता स्कुल जानु पर्दैन”, होस्टेलमा संगै बस्ने रीता दिदीको आवाज मेरो कानमा ठोकियो । म त आमाको त्यो मिठो आवाज त सपना पो सुनिरहेको रहेछु । रीता दिदीले दोहोर्याएर फेरी मलाई बोलाउनु भयो । आँखा उघ्रेका थिएनन् । सपनामा नै किन नहोस् आफ्नो आमासँग भेटेको, कुरा गरेको अनि माया गरेको त्यो क्षणले रमाईलो महशुस भइरहेको थियो । आमा कतै यतै हुनुहुन्छ कि भनेर मेरा यि दुई हातले आफ्नो ओछ्यानको वरिपरि आमा खोजेँ तर खाली थियो ।

“कहाँ पाउनु मैले तिमीलाई मेरी आमा । तिमी त छैटौं सन्तान जन्माउने बेलामा प्रसव पिडाले च्यापेर छटपट्याइ रहदा बाउले उपचार गर्न अस्पताल लैजानुको सट्टा रक्सीले मातिएर आएर उल्टै कुटपिट गरेपछि त्या दुखाइ सहन नसकेर यो धर्ति नै छोडेर गयौ । तर मैले भने तिमीलाई गुमाउनुको पिडा देखी तिमी विना विताउनु परेका यो अहिले १५ बर्ष भईसक्दाको जीवन पनि त्यहि दुखाईलाई साथ लिएर विताउनु परेको छ मेरी आमा” । आमासंग यसरी मनमनै गन्थन गरिरहंदा आमाको सम्झना बनेर ह्रदयमा अड्कीएका आंसुहरु एकनासले बर्सिरहे ।

केहिबेरपछि मन भारी बनाएर जुरुक्कै उठें, आँखा मिच्दै भित्तामा रहेको बत्तिको बालें । नाडीमा बाँधेकोे पिलिक पिलक घडीमा यसो आँखा लगाएँ, । बिहानको ५ः४५ भै सकेछ । सबै साथीहरु स्कुल जानको लागि तयारी गर्दै थिए । म पनि हतार हतार गरेर तयार भएर साथीहरुसंग स्कुल गएँ । सवै साथीहरुको साथमा हुंदा पनि म भने एक्लो महशुस गरिरहें । केवल आमाको सम्झनामा डुविरहें ।

नेपाली पढाउने प्रभा म्याम कक्षा कोठामा छिर्नुभयो । सबैजना उठेर गुड मर्निङ भन्दै म्यामलाई अभिवादन गर्यौं । म्यामले आज परिवारको महत्व र आमाको महिमा पाठ पढाउन सुरु गर्नुभयो । आमाको सम्झनामा बल्लबल्ल थामिएका आंसुहरु फेरी सल्बलाउन थाले । म्यामले आमाको महिमा गाईरहंदा म पुन आमासंग गोप्य वार्ता गर्न थालें । “आमा तिमीले मलाई छोडेर गएपछि मलाई जन्माउने बाउबाट समेत सुरक्षित रहन सकिनँ । हरेक दिन उनी मातेर आएर म माथी गर्ने दुव्र्यवहार सहन मलाई धेरै गाहे हुन्थ्यो । बाउले मेरो खुट्टामा दाउराको चिरपटले हानेको घाउ अहिलेसम्म सन्चो भएको छैन । आमा तिमीले हामीलाई छोडेर गएपछि हाम्रो घर मियो बिनाको दाईजस्तो भयो । हाम्रो घर त घर नभई पुरै नर्क नै भएको थियोे । बाउको स्वभावले गर्दा आफन्तहरु सबै टाढिए । बाउलाई सधै रक्सी खानुपर्ने । रक्सी खाने पैसा नभएपछि पैसाको लोभमा उनले माख्लाटोलका ४० वर्ष उमेरको साइलासंग मेरो विवाहको नाटक गरेर मलाई बेचिदिए । त्यसपछि त न मेरो घर नै रह्यो, न परिवार नै । सबै रित्तियो । तिमी त मरेर गयौ । तिम्रा दुख त्यतिमै टुगिंए । म भने ज्युंदो भएर पनि दिनदिनै मरेर बांचिरहें ।”

“निता तिमी कता हरायौं हँ ?”, प्रभा म्यामले झस्काउनु भयो । आमालाई आफ्ना सवै ब्यथाहरु सम्झाईरहंदा म्यामको आवाजले म एकछिन अलमल परें । धेरै सोच्दै नसोची फ्याट्ट बोलें, “खै म्याम हजुर त परिवार मानिसको सबै भन्दा सुन्दर संसार हो भन्नुहुन्छ तर मेरो त परिवार ….।” मैले अगाडी बोल्दै थिएँ, कक्षा सकिएको संकेत आयो । त्यसपछि मेरो बोली पनि बन्द भयो । आजको बांकि कुरा अर्को दिनमा गरौंला भनर म्याम कक्षाबाट निस्किनु भयो । साथीहरु कक्षाबाट बाहिर निस्के । म भने कक्षामै बसेर आमाकै सम्झनाको साथमा बसिरहें । आमासंग आज धेरै नै कुरा गर्न मन थियो । आमालाई धेरै कुरा सुनाउन मन थियोें । फेरि आमालाई मनमनै सुनाउन थालें, “आमा, माख्लाटोलको साहिलाले मसँग विवाह गरेवापत बुबालाई ५० हजार बुझाएको थियो रे । उसले मलाई कहिले काठमाण्डौं ल्याएर इट्टा भट्टामा त कहिले होटलहरुमा बेचिदियो । उसलाई पैसा चाहिएको थियो । म एउटा मान्छे थिएं वा पशु थिएं म आफैंलाई थाहा थिएन । मलाई थाहा छैन आमा, म त्यतिखेर कसको लागि के का लागि र किन बाँचिरहेकी थिएं ? यस्ता दिनहरु झन्डै ५ बर्ष विताएपछि संयोगबस कुनै संस्थासंग जोडिएपछि मैले त्यतिखेर पाएको दुख म एउटी सानी बालीकको लागी धेरै ठुलो संघर्ष रहेछ भन्ने महशुस गर्न पाएं । त्यो माख्लो घरको साईला र आफ्नै बाउलाई मैले सजायं दिनै पर्छ भनेर अठोठ गर्न थालें । एक महिना अघि मात्र बाउ वितेको खवर पाए ।मलाई बाउ बितेको कुराले कुनै पिडा पनि भएन ।”

स्कुल छुट्टी भयो । “खै निता” भन्दै साथीहरु मलाई खोज्दै थिए, म भने आफ्नो डेक्सबाट उठेकी थिइनँ । साथीहरुले बोलाएपछि रसाएका आखाँ पुछ्दै “पख है, म पनि जान्छु” भनी किताव कापी ब्यागमा हालें । आमासंगको त्यो गोप्य वार्तालाई यहि बन्द गर्दै म साथीहरुसंगै स्कुल सकाएर होस्टेलमा फर्कियौं ।

दशै नजिक आइरहेको थियो । सबै साथीहरु घरजाने तयारी गर्दै थिए । सबै खुसी देखिन्थे तर मेरो भने जाने ठाउँ कत थिएन । न घर, न मावली, न त आफन्त । यदि भएको भए यतिका वर्षसम्म खोजी गर्थे होलान तर आजसम्म कसैले खोजेका छैनन् ।

तिमी घर नजाने दशैमा ? स्कुलदेखि लिएर सबै साथीहरुले सोध्छन् । मसंग कुनै जवाफ छैन, निशब्द हुन्छु । आमाको न्यानो माया, बुबाको छहारी दाजु र दिदीहरुको प्यारी भएर बाँच्न चाहन्थेँ तर मेरो न त माया गर्ने आमा छन् न त सुरक्षा दिने बाउ । बारम्बार मेरो अस्मिता लुट्दा खम्बा बन्नु पर्ने दाजुहरु खै कता हराए थाहा छैन । मलाई माया गर्ने दिदीहरु कता छन् त्यो पनि थाहा छैन । कति धेरै याद आउँछ आफु खेलेको त्यो घर गाउँ, वल्लो घरको सिता दिदी, मेरो बाल्यकालको साथीहरु । कहिलेकाही उडेर पुग्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । मुटु फुटेर आउला जस्तो हुन्छ । तर फेरि कहाँ जाउ को छ र जाउ फेरि मन बुझाउँछु ।

कहिलेकाही त लाग्छ, म कसका लागि बाँच्दैछु ? मेरो भविष्यका उद्धेश्य के हो ? कसका लागि खुसी हुने ? फेरि मन बाँध्छु, आज मलाई आफ्नो जन्मदिने परिवार नभए पनि शोषण र जोखिम ठाउँबाट मुक्त गरी एउटा नयाँ जीवन दिने सहयोगी हातहरुलाई मैले बिर्सनु हुँदैन । १७ वर्षकी भए पनि कक्षा ३ देखि पढ्न अवसर पाएकी छु । सिपमुलक तालिमहरुको अवसर पनि पाइरहेकी छु । उहाँहरुको सहयोगमा हराएको मेरो पहिचान एउटा जन्मदर्तामा लेख्न पाएकी छु । आमाले जस्तो माया गर्ने म्यामहरु पनी पाएकी छु र दिदीबहिनी जस्तो साथीहरु । यहि हो मेरो संसार । अब यहि रमाउनु छ, जिन्दगी सिंगार्नु छ र जीवनको कुनै मोडमा मेरो जिउँदा रहेका दिदी दाईहरुले मेरो प्रगती देखेर पक्कै मलाई खोज्नेछन् ।

लैंगिक हिंसाविरुद्धको यो अभियानमा म सम्पुर्ण अभिभावकहलाई के भन्न चाहन्छु भने आफ्ना छोराछोरीहरुलाई माया गरौं, उनीहरुको कुरा सुनौं । उनीहरुको भावना बुझौंँ । मैले जस्तो डर र त्रासमा कुनै पनी बालबालिकाले हुर्कन नपरोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button