
डियर जिन्दगी, साँच्चिकै स्तुत्य छस् तँ
बाबुराम पाैडेल
तँ मार्फत मैले हेर्न पाएकाे अथाह सुन्दर चराचर जगत, चुम्न पाएकाे कामधेनु रुपी धरा,अतिसय प्रीय लाग्ने आफन्त र मित्रगण, हरबखत सचेत गराउने शत्रुहरु, क्षणभङ्गुर आनन्दादि रसरङ्ग,मिठासहरु, यश कीर्ति धनधान्य भाेगबाट बन्चीत हुनु छैन मलाई । यी सबै उपभाेग, अतिभाेग खातिर मैले गर्दै आएकाे अतिसयलाई सहन गरेर साथ दिई रहने तेराे परिचय यतिका समय, ठक्कर र उहापाेहका माेडहरु पार गरेपछि मात्र पाे बल्ल खुल्दैछ। डियर जिन्दगी, तँ साँच्चै कति महान रहेछस् भन्ने चेत खुल्दैछ। साँच्चिकै स्तुत्य छस् तँ ।
ममुर्खले इन्द्रीयहरुलाई स्वच्छन्द छाडेर आफैले बेसाएका फगतका संघर्ष रीस राग द्वेशहरुका बाछिटा एवं असीमित भाेग वासनाका लालसा तृष्णाहरु देखेर पनि चुपचाप मेराे बिवेकलाई कुम्भकर्ण सुताईमा रहन दिएर भने तैले मलाई बैगुन गरिस् कि? असिमित तृष्णा भाेगमा तृप्प नभैकन याे जगतमा खरबाैं मान्छे अर्थात म हरु गए, जान लामबद्ध छन् र अब जन्मिने पनि यस्तै लालसा एवं तृष्णाका महाशागरहरु पाैडेर पारगर्न नसकी डुब्ने हुन्। तर पनि यस्ताे चेत अलि पहिलै जगाईदिंदाे रैनछस् नि जिन्दगी तैंले। मैले डियर जिन्दगी भन्दै गर्दा तँ पनि मख्खै पाे परिछस् कि?
धन्य हाेस् तँ जिन्दगी । म जस्ताे स्वाँठ मुर्खकाे संगतमा इश्वरले तँ लाई मेरै रखवारी खातिर पठाएकाेमा तँ स्वयं पाे दु:खी हाेलास् है ! भलाद्मी छस्, कति शालिन छस् ! बाध्य छस् है मेराे साथ नछाेड्न !? तँ जस्ताे उत्तरदायी म भैदिएकाे भए आज सयाैं तृष्णाहरुकाे आगाले पाेलेका दाग देखाउँदै दुनियासँग कथा सुनाउँदै हिंडनु पर्थ्याे र ? छटपटाउनु पर्ने, तडपिनु पर्ने थिएन नि ! भाे अब चेतें ।
तँ, म र विवेक तीन भाइ मध्ये जेठाे तैं हाेस् । विबेक कान्छाे हाे, त्याे अलि सुतुवा परेछ। कुम्भकर्ण झैं छ महीनामा एस्साे उठ्ने र सुतिहाल्ने। मपनि आधा सुतुवा । तँ भने हरबखत हरपल मेराे रक्षाका खातिर जागाे बसेर पनि उठ,-उठ असाध्यै ढिला भैसक्याे भनिनस् नि ! सायद, तैंले अतिसय मायाँ गरीछस् र हाे कि म बिग्रेकाे,भासिएकाे, दु:खका शागरमा पाैडीने नसक्ने भएकाे ! कम्तिमाआहार बिहार र बीचारकाे सन्तुलन नै खास जिन्दगी हाेभनेर उहिल्लै भन्न सक्थिस् नि तँ ज्ञानीले। त्याे सिकाउने गुरुकूल थिएनन्, अग्रजहरुले जानेनन् भन्ने सम्म तँ जिन्दगीलेम` लाई उहिल्लै उनपरारै सम्झाईनस् र तँ सँग रिसाएकाे छु म यतिखेर !
तर तँ जिन्दगी सँग म रिसाएर साध्ये हाेला र ? तँ र म त हाे सँगै हिंडने। अरु सबैले साथ छाेड्ने हुन्। मेरा नीकटका आफन्त भन्ने र स्वार्थ खातिर जाेडिन आएका अरुहरु समेतले मेराे उपादेयता देख्न छाड्नेछन् । मेराे उपादेयताकाे दीयाे धिपिधिपी रहुन्जेल हेल्लाे हाई गर्लान्। बस्, माेडिन्छन् त्यस पछि। आँखा मर्काउछन्, चिन्दिन पनि भन्ने हुन्।
ए, रिसाईस् कि क्या हाे? नरीसा न यार जिन्दगी ! अरुहरुले जस्ताे जिन्दगीले असिमित दु:ख दियाे भन्दिन नि म। बरु मैले तँ जिन्दगीलाई दिनु दुःख दिएँ नि है। तँ र म त हाे नि संगसँगै परमात्मा मिलनकाे महायात्रामा जाने। पर्खेस् है, सँगै जाउँला !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



