
कलिलो मेरो शरीरमा त्यो छिप्पिएको हात सलबलाउँदा
प्रज्ञा
नाम परिवर्तन
प्रायः घरमा म एक्लै हुन्छु, सबैजना खाना खाएर आ–आफ्नो काममा जानुहुन्छ । मेरो काम भनेको यहीँ घरमा बस्ने, घर सफा गर्ने, भाँडा माझ्ने, घरमा भएकाहरू सबैको लुगा धुने, खाना पकाउने अनि यस्तै यस्तै । “घरको काम त हो नि, सजिलै हुन्छ नी” सबै जना यसो भन्छन् तर खै ! कताको सजिलो हुनु । म कलिलो १४ वर्षकी बालिकालाई के थाहा हुन्थ्यो र ! बिहान ५ बजे उठेदेखि राति ओछ्यानमा नपुगुञ्जेलसम्म हात खाली नै हुँदैन । जति गर्दा पनि मेरो नाता पर्ने दिदीको मुहार कहिल्यै उज्यालो भएकै छैन ।
म बसेको घरमा धेरै मान्छे त थिएनन्, दिदी (साहुनी), उनका तीन छोराछोरी र म । त्यो दिदी मेरो आफ्नै दिदी नभएर नाता पर्ने हुनुहुन्थ्यो । हप्ताको २/३ पटक दिदीको साथी रे भनेर करिब ३४ वर्ष जतिको केटा मान्छे आइरहनुहुन्थ्यो । दिदीले खाजाको परिकार बनाउन अह्रयाउँथिन् । त्यो मान्छे हरेक पटक आउँदा करिब २/३ घण्टा जति बसेर जान्थ्यो । सुरुसुरुमा आउँदा ऊ दिदीसँगै बस्ने अनि जाने गथ्र्यो । तर बिस्तारै उसको आउने क्रम पनि बाक्लिँदै गयो । अनि ऊ हाम्रो कोठामा आउँदा “के छ मैया” भन्दै मेरो टाउको पछाडि प्याट्ट पिट्ने, कति राम्री भन्दै गाला चिमोट्ने, हात समाउने जस्तो मलाई अप्ठ्यारो लाग्ने व्यवहार गर्न थाल्यो । उसको यस्तो व्यवहार मलाई पटक्कै मन पर्दैनथ्यो । मैले दिदीसँग पनि कुरा गरेको थिएँ, “दिदी मलाई त्यो मान्छे मन पर्दैन है उसले मलाई नराम्रो व्यवहार गर्छ” । मैले पटक पटक दिदीसँग भन्दा पनि दिदीले “झुट नबोल, उहाँ त्यस्तो मान्छे होइन, तँ नै त्यस्तो हों” भन्दै उल्टै मलाई नै झपार्नुहुन्थ्यो । बारम्बार मैले भनीरहँदा पनि दिदीले मेरो कुराको कुनै वास्ता नै गर्नुभएन । मलाई भने कस्तो डर लागिरहन्थ्यो । त्यो मान्छे देख्यो कि मन थररर काम्थ्यो । अनि उकुसमुकुस कता जाउँ के गरुँ हुन्थ्यो ।

हुनत मलाई दिदीेले पनि बुझ्नु भएन । काठमाडौं ल्याउँदा जे भनेर फकाएर ल्याउनु भएको थियो सबै बिर्सिनु भएको थियो । काठमाडौं आएको करिव तीन महिना भएको थियो । मैले न त पैसा पाएँ न त स्कुल पढ्न जान नै मात्र काम काम…।
आफ्नो घरको अवस्था पनि त्यस्तै थियो । घरजग्गा थिएन, बुबा कमाउनको लागि भनेर इन्डिया तिर लाग्नु भएको थियो । ५ जना छोराछोरी मध्ये म जेठी छोरी थिएँ, आमाको हरेक जिम्मेवारी सबैभन्दा नजिकबाट मैले नै हेरेको थिएँ । आमालाई घर चलाउन गाह्रो भएको, बुबाको अनुपस्थितिमा ऋण धन टार्नदेखि लिएर व्यवहार मिलाउन कठिन भएको कुराहरु आमाले मसँग नभने पनि कलिलो दिमागले आमालाई बुझ्थें । महिनाको १० हजार तलब दिन्छौं, बिहान स्कुल पढ्न पठाउँछौं भन्दै विभिन्न लोभ देखाएपछि पढ्न पाउने, पैसा कमाएर आमालाई सहयोग गर्ने आशमा आमालाई थाहा नै नदिई सुटुक्क काठमाडौंं छिरेकी थिएँ । त्यसैले केही भएमा आमाको सहयोग माग्न पनि सक्दिनथें ।
समय बित्दै थियो । म माथि नराम्रो घटना घट्यो । मंगलबारको दिन थियो । घडीले दिउँसो को १ बजेको संकेत गरिरहेको थियो । घरमा एक्लै थिएँ । आफ्नो धुनमा गीत गुनगुनाउँदै भान्सामा भाँडा माझ्दै थिएँ, बाहिर कोठाबाट “ए मैया एक गिलास पानी लेउ त” एक्कासी आवाज कानमा ठोक्किन पुग्यो । लौ यो त त्यही मान्छेको आवाज हो, फेरि आज दिदी पनि हुनुहुन्न, किन आएको होला भन्ने ठान्दै एक गिलास पानी लगेर दिँदै डराउँदै भने “दिदी हुनुहुन्न, किन आउनु भएको ? पानी खाएर गईहाल्नुहोस्” मेरो शब्दहरु सकिन नपाउदै मुस्कुराउँदै अलि जिस्किएको भावमा “म तिमीलाई भेट्न आएको नि मैया, दिदीलाई त भेटिरहेको नै छु नि । आज तिमीसँग भेट्न आको नि” भन्दै मेरो हातमा एक्कासी समात्यो ।
“छोड मेरो हात” उसको हातलाई झट्कार्दै “पख तँलाई म पुलिसलाई भनिदिन्छु” भन्दै कराउँदै फुत्कनलाई धेरै बल गरें तर ऊ पुरै योजनासहित आएको रहेछ । उसले मलाई फुत्कन दिएन र मलाई जर्बजस्ती मुख थुनिदिएर लडायो । मेरो शरीरमा लगाएको लुगा सबै च्यातिदियो । त्यसपछि भोकाएको शिकारीले झैं मेरो यो कलिलो शरीरमाथि खेल्यो । उल्टै तैंले कसैलाई भनिस् भने मार्छु, अनि तेरो आमाबुबालाई पनि सुख दिन्न भन्दै धम्क्याउँदै मेरो अस्तित्व सबै लुटेर हिँड्यो ।
घटना घटेको १ घण्टापछि दिदी पनि बाहिरबाट आउनु भयो । दिदीलाई देख्नेबित्तिकै रुँदै सबै घटना सुनाएँ र मेरो शरीर र शरीरमा लगाएको लुगाले पनि यर्थार्थ देखाइरहेको थियो । तर दिदीले पनि साथ दिनुभएन । उल्टै दिदीले पनि “कसैलाई पनि नभन है, भनिस भने तैले नै दुःख पाउँछेस्” भन्नुभयो । आफ्नो भन्ने मान्छेबाट साथ सहयोग नपाएपछि र उल्टै मेरो जीवन नै जोखिममा पर्ने भएपछि मैले पक्कै पुलिसको सहारा लिनुपर्छ, भन्ने सोचें । सानै छँदा गाउँमा केही घटना हुँदा पुलिस आएर समातेर लगेको याद थियो मलाई । त्यही सम्झेर म त्यहाँबाट भागेर नजिकको पुलिस चौकीमा गएँ । म अरुजस्तो डराउने पनि थिइनँ । त्यसपछि मैले नजिकको पुलिस स्टेशनमा यही अवस्थामा गएर घटनाको सम्पूर्ण विवरण सुनाउँदै सहयोग मागें । उजुरी लेखाएँ ।
त्यसपछि पुलिसले त्यो मान्छेलाई समातेर हिरासतमा लियो । आज मलाई जवर्जस्ती गर्ने अपराधि हिरासतमा थुनाउन सक्दा आफुप्रति गर्व महशुस हुन्छ । म माथी त्यसले जतिसुकै अन्याय गरेपनि अब उसले म जस्ता अन्य दिदीबहिनीहरुलाई छुन पाउने छैन । महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा म जस्तै हिंसा भोगेका तथा शोषणको अवस्थामा रहेका दिदीबहिनीहरुलाई भन्न चाहन्छु कि हामी सबैैजनाले बोल्ने हिम्मत गर्यौ भने मात्र एकदिन हामी माथि हुने हिंसाको अन्त्य हुन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)