
मामु ! म त पर सरेँ नि
प्रथम रजस्वला
मिरा पुडासैनी
मामु ! म त पर सरेँ नि
छोरीले निन्याउरो मुख पारेर भनी
आफूलाई अल्लि खुम्चाएर भनी
अरू कसैले पनि नसुनोस् जसरी भनी ।
शरिर थकित र कमजोर देखिन्थ्यो
मुहारमा एउटा बेग्लै कान्ति थियो
आभा र ओज थियो
तर हिनताबोध गरे झैं भनी
अपराध बोध गरें झै भनी
पर त ऊ सरेकै थिई
एघारौं जन्म दिवस मनाईसकेकी ऊ ।
त्यो प्रथम रजस्वला
केही आतिईएकी थिई
आङ्गबाट पहिलोपटक देखिने कुनै चोटविना नै
बगेको रगतको पहिलो धारा
तर मैले हौसला दिदैं आफ्ना हात फैलाएँ ।
ऊ आएर गम्लङ्ग अङ्गालो हाली
आज उसको शरिरमा बेग्लै ताप महसुस गरेँ
शक्ति महसुस गरेँ हिजो अस्ति भन्दा बेग्लै
किनकि मेरी छोरी पर सरेकी हैन
अबदेखि ऊ झन् उसकी आमाको नजिक भएकी छे
सृष्टिको, सृजनाको र प्रकृतिको नजिक भएकी छे
भौतिक समाजका नियमहरूले पर पुर्याउन सक्ला
भावनात्मक रूपमा आफू आफैसँग नजिक हुँदै गएकी छे
आफूभित्रै आफ्नै स्वरूप सृजना गर्न सक्ने शक्तिको नजिक गएकी छे
हरेक महिनामा उसको शरिर पखालेर बग्ने रगतसँगै ।
विकारलाई पर पर सार्नु तिमीले
दुषित नराम्रा भावनाहरूलाई पर सार्नु तिमीले
तिम्रा पलाउँदै गएका पखेटालाई
स्वच्छन्द उड्नबाट रोक्न
खोज्ने नकारात्मक उर्जालाई पर सार्नु तिमीले
आफुले आफैलाई चिन्ने कोशिस् गर्नु बरू ।
धेरैले पर सरेकी भनेर दुर दुर गर्ने छन्
तिनका नजिक पर्दै नपर्नु
याद राख सबैको नजरमा पर सरेकी भए पनि
तिम्री आमाको निम्ति सधै वर नै रहने छ्यौ
पर सरेकी हैनौं तिमी
पखालिएकी हौं पवित्र भएर
हो, पर सरेकी हैनौं तिमी ।
हरेक मासिक चक्रसँगै स्निग्ध भई जानेछौ
अरूले अपवित्र देख्लान्
तर मेरा निम्ति तिमी सधै श्रीखण्ड झैं पवित्र रहनेछौ
भौतिक अस्तित्व रहेका चिजसँग तुलना हुनै नसकिने
अतुल्य निधि भएर रहनेछौ
हो, छोरी तिमी निधि हौं ।
त्यसैले नखुम्चिनु, नडराउनु , नलजाउनु तिमी
सबैले सुन्ने गरी भन्नू- ‘म पर सरेकी हैन, सृष्टिको अझ नजिक पुगेकी हुँ ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)