मेरो छोराको बाबा र मेरो बाबा

बाबा र माया

कल्याणी तिमल्सिना

लोकमा हरेक सन्तानका लागि आमा सर्वश्रेष्ठ मानिन्छिन् । जिवित भाष्य खडा छ- “आमा बिना बच्चाको संसार हुँदैन !आमा बिना बच्चा टुहुरा हुन्छन् !” आमा र सन्तानको साइनो बाबा भन्दा नौ महिना अगाडिदेखि गर्भमा स्थापित भएर आएको हुन्छ ।

यहींनेर, सन्तानसंग बाबाको सम्बन्ध कहांबाट कसरी जेलिएर स्थापित छ त ? म अन्तरमनबाटै भन्नसक्छु कि बाबा र सन्तानको सम्बन्ध गर्भ चरणबाटै स्थापित छ । अनि त्यो भन्दा बिशेष त बाबाको काधमा अथाह जिम्मेवारीको बोझ स्वतः निर्बाह भएर आएको छ । त्यो छाड्न बिसाउन नमिल्ने भारीभित्रबाटै एउटा नयाँ आंकुराको सम्पूर्ण बोझ बोक्न लालायित र आतुर भएका ती हातहरू, एक एक गरी नयाँ पालुवा हुर्कदै गरेको देख्न व्यग्र ती आंखाहरू, गर्भबाट च्याहां गरेर धरामा आउने समयलाई कुर्दै नवशिशुको मिठो सामिप्यताके सपना सझाउने त्यो मुटु अनि जीवनको अन्तिम सास उसैको काखमा फेर्ने रहरलाई मनैदेखि सगालेर कर्मचर्यामा रहेका त्यो देहधारी भगवानलाई कसरी टाढा देख्न सकिन्छ ?

समयले सपनालाई बिपनामा पहिलो पटक छोराको अनुहार ती लालायित आंखामा राखिदिदा रसायका ती आंखा र हर्सविभोर भई तप्किएका आंसुको मूल्य मापन भन्दा बाहिर छ । अनि तत्समय नर्सले छोरा हातमा राखिदिइन र कम्पित ती हातहरूले थामेको स्नेहको महासागर तरड्॰गित भएर आजसम्म बांचेको सार प्रष्टिएको छ ।

जीवनको इतिहासमा पहिलो पटक चुम्वनको उपहार दिदै “छोरा ! मेरो भविष्य !!” भन्दै थरथरीयको त्यो आवाजमा असिमित खुसी र सुखी अनुभूती गरेको देख्दा बाबाले पनि उति नै पिडा सहेको देखिन्छ । आमाले जति पिडा सहेकी हुन्छिन् भने बाबाले उतिनै रेक्टर स्केलमा महसुस गरेका हुन्नन् र ? पक्कै हुन्छन !

म मेरो छोराको बाबालाई सानो सानो कुरामा छोरा खोजेको देख्छु । बजारमा पाइने हरेक खेलौना र राम्रा राम्रा कपडाहरू आफ्नै घरमा देख्छु । बजारभरी छोराको खुशी बटुलेर घरमा आउनुहुन्छ र बाबा छोरा रमाउॅंछन् ।

मलाई सम्झनी छ कि पहिलो पटक छोराले बाबाको नाम कापीमा लेख्दा निकैबेर त्यो कापी छातीमा टासेर बरबर झरेका ती खुसीका आँसुले मलाई पनि आंखाहरूसम्म छचल्किएका थिए । अझ फुरुङ्ग भएर पहिलो दिन स्कुल पुराउन गएर छोरालाई छाडेर स्कुलमा घर फर्किन गारो भएको पल ओहो !! कस्तो मर्मबोधमा आज पनि तरंगित छ !

त्यसैले त जीवनका आरोह अवरोहलाई हेरेर सन्तान प्रति आमाबाबाको मुल्यांकन गर्दा आमाबिना संसार हुँदैन त बाबा बिना छ त हुदैन र फेरि बच्चाको कुनै पनि सपना आफ्ना हुँदैनन् । यो तथ्यलाई आत्मसात गरेर बसेकी छु म !

छोराको सुन्दर भविष्यको कल्पनामा बाबाले बगाएका ती आँसु र पसिना कति बहुमूल्य छन् ! यसको मूल्य कहीं कतैबाट कसैगरेर कसैबाट पनि चुक्ता हुनै सक्तैन । बाबाको त्यो गहिरो मायालाई एउटा सानो कर्मले पनि बोलिरहेकै छ त जस्तो खानाको पहिलो गास छोरालाई खुवाउन लम्केका ती हात ओहो बयान कसरी गरुं ! त्यो अमृत छोराले हांस्तै हांस्तै निल्छ बाबा गदगद हुन्छन ।

आमाका साना साना काम संसारभरी प्रष्ट देखिन्छ । तर बाबाले गरेका ती हरेक बलिदान कुनै कुनामा बन्द हुन्छ । बच्चाको लागि आमा एक्लै लडेर जितेको जस्तो देखिन्छ नै तर आमालाई चौतर्फि रूपमा ढाडस दिने बाबालाई कसैको आखाले नदेख्न कहां मिल्छ ! देख्ने गरौं ।

म देख्छु कि मेरो छोराको बाबा बाटो हिड्दा कसैले केही खान दिएको चिज/कुरा छोरालाई छुट्याएर राख्ने अनि, दिनभरीमा बिग्रन्छ कि भनेर दुई लिटर पेट्रोल सक्काएर मोटरसाइकलमा छोराको लागि खानेकुरा ल्याएको र छोरालाई खुवाएर खुशी खुशी भएको म पनि हेरेर धन्य भएको अनुभूत छ । बाबा मन्द मुस्कान मुहारमा बोकेर घर भित्र आउनु हुन्छ । प्रथमतः छोरामा नजर र सामिप्यता बिसाउॅंदै छातीमा टांसेर छोरालाई चुम्वनको लेनदेन चल्छ । तब म सम्झना र यथार्थमा रुमलिन पुग्छु कि कस्तो बहुमूल्य माया बाबाको आफ्नु सन्तानप्रति !? यतिखेर मैले पनि मेरो बुबा सम्झन्छु मेरो छोराको बाबा र मेरो प्यारो बुबामा कुनै अन्तर देख्दिन ! सायद संसारभरीका बाबा यस्तै हुन्छन् !!

बाबा र मायामा म पनि पागल छु !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button