
श्रीमती देवकी र कपाल फुलेको म बुढोबाहेक अरु कोही छैन, बिरालो छेउमा म्याउँ गर्दैछ

बाको मनोवाद
जुनु ढकाल
इलाम, हाल: काठमाडौं
अहिले म ७५ वर्ष पूरा भएर ७६ वर्षमा प्रवेश गरेको जेष्ठ नागरिक हुँ । मेरो कपाल फुलेर टाउको हिउँ जस्तो देखिन्छ । खोज्ने हो भने कालो कपाल एउटा पनि छैन । हामी दुई दम्पतीबाट जम्मा १० सन्तान जन्मिएका हुन् । २ सन्तान सानै हुँदा हैजाले बिते । हाल पनि ४ छोरा र ४ छोरी जीवित छन् ।
तिनीहरूलाई जन्माउन, हुर्काउन, बढाउन र पढाउनमा नै आमा देवकी र मेरो सम्पूर्ण जीवन व्यतित भयो । हाल हाम्रा ८ छोरा–छोरी आ–आफ्ना डिउटीमा छन् । मेरी श्रीमती देवकी र मबाहेक यस घरमा सदस्यको नाममा एउटा सानु बिरालो मात्र छ । देवकीका दुइटै घुँडाको हड्डी खिईएर लौरीको सहाराले मात्र घर भित्र र बाहिर गर्न सक्छिन् । म सुगर, प्रेसर, थाइराइड लगायतका आधुनिक सबै रोगको सिकार भई रहेको १० वर्ष भयो ।
छोरीहरु विवाह गरेर ज्वाइँ सँग पठाएँ । छोराहरु विवाह गरेर बुहारीसँग पठाएँ । उनीहरू सबै आ–आफ्नै पेशा–व्यवसायको कारण कोही स्वदेश, कोही विदेशमा बसोबास गर्छन् । अब त नातीनातिनीहरुको पढाइको कारणले पनि उनीहरू कोही घर फर्कन पाउँदैनन् ।
सबै सन्तानले घर खर्च पठाउँछन् । जहाँ जहाँ भए पनि तातो लुगा, खानेकुरा, औषधि उपचारको लागि रकम सबै आ–आफ्नै ठाउँबाट पठाउँछन् । हाम्रो जन्म दिनमा सामाजिक सञ्जालमा हाम्रा राम्रा राम्रा तस्बिर राखेर हाम्रो दीर्घायुको कामना पनि गर्न भुल्दैनन् । बेला बेला सञ्चो बिसन्चो पनि भिडियो कल गरेरै सोध्ने गर्छन् ।
तर बिहानै उठेर मै बुढोले चिसा दाउरा बटुलेर अँगेनामा आगो सल्काउन पर्छ । मै बुढोले पानी तताएर खानु र श्रीमतीलाई दिनु पर्छ । खाना पकाउनेदेखि खाएर धन्दा गर्ने अनि समाजमा चलेका सामाजिक कार्य लगायत रीतिरिवाज, शुभ–अशुभ कार्यक्रम सबैमा भाग लिन आफै जानु पर्छ ।
२० मुरी धान फल्ने सिमखेत खेती गर्न नसकेर बाँझो भएको छ । बीसौं रोपनी जङ्गलमा भएका घाँसपात सुकेर गई रहेका छन् । उहिले १० माउ गाई बाँधेको गोठ अहिले धमिराले खाएर लड्दै छ । मोही पार्ने ठेकी टोलङ र मदानीमा ढुसी परेर एक कुनामा थन्किएका छन् ।
३ मन सिन्की गुन्द्रुक सुकाउने मान्द्रा नाङला अहिले माकुराले जालो लगाएर बसेका छन् । विगतमा गाउँभरका इस्टमित्र बसेर छलफल चलाउने आँगन अहिले झारपात उम्रेर डरलाग्दो भएको छ । गाउँका सबै घरमा प्राय जेष्ठ नागरिक मात्र छन् ।
यी सब कुरा हुनुको पछाडि के कारण होला त ? हामीले छोराछोरीलाई शिक्षा दिन नजानेर हो त ? यस विषयमा कसको ध्यान जान जरुरी छ त ? कि अब यस्तै हुँदै गएर हाम्रो देशका गाउँ रितिएर शहरकै प्रदुषणभित्र रुमलिदै हामी समाप्त हुनु पर्ने हो त ? बाँझो रहेका खेत बारीमा अन्न उमारेर खाने दिन के अब सकिएका नै हुन् त ?
यिनै माथि उल्लेखित विषयले मेरो मन मुटु दुखिरहन्छ । कसलाई सुनाउने यी कुराहरू, अनि कसले सुनेर मनन गरी दिन्छ र मेरा मनका कुण्ठाहरु । मनमा यस्तै विचारहरु खेलाउँदा खेलाउदै अँगेनामा पकाउन बसाएको तरकारी डढेर गन्ध आउँदा मात्र म झसङ्ग भएछु ।
वास्तविकतामा आउँदा उही लौरी समाएर उभिई रहेकी श्रीमती देवकी र उही कपाल फुलेको म बुढोबाहेक सानु बिरालो छेउमै म्याउँ गर्दैरहेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)