पशुपति, जहाँ लाश जल्छ, सास बोल्छ
पशुपतिमा एकैछिन घोत्लिँदा
दुर्योधन बस्नेत
एउटा मृत शरीर जसलाई लाश भनिन्छ, दनदनी बलिरहेछ आगोको मुस्लोमा र हराईरहेछ धुवासँगै अब कहिल्यै नफर्कने गरी यो भौतिक संसारमा । उसका पुरा हुन बाँकी अपुरा सपनाहरु, ईच्छा चाहनाहरु, रहरहरु, आकांक्षाहरुका साथमा सोच, विचार, प्रवृति, चेतना सबै सबै जलिरहेछन् शरिरसँगै र विलिन भैरहेछन् ।
उसलाई गुमाउनुपर्दाको पीडा आँशु बनेर छचल्किरहेको छ नजिकका आफन्तहरुका आँखामा । ज्यादै नजिकको साईनो पर्नेहरु सस्वर भक्कानिएका छन् भने थोरै टाढाकाहरुका आखा रसाईरहेका छन् । पैंचो लगाउन आएका मलामीहरु वरपर यत्रतत्र छरिएर भावुक मुद्रामा गफ गरिरहेका छन् । समग्रमा पिडाबोधको माहोल सिर्जना भएको छ । पक्कै पनि मृत्युमा जोकोहिलाई पिडाबोध हुन्छ नै । एउटा कुरा के पनि सत्य हो भने जन्मपछि मृत्यु पक्कै हुन्छ । मात्र प्रकृति फरक हुन्छ ।
कसैको मृत्यु फलामजस्तो गर्हौं हुन्छ भने कसैको भुवाजस्तै हलुका । अर्थात मान्छेपिच्छे मृत्यु फरक फरक हुन्छ । कसैको मृत्युमा समाज रुन्छ, देश रुन्छ, संसार रुन्छ । सवैतिर उसको अभाब खड्किन्छ र त ऊ मृत्युपश्चात पनि युग युगसम्म बाँचिरहन्छ । यस मानेमा कि ऊ बाँचिरहँदा केवल आफुमात्र बाँचिरहेको थिएन, अरुलाई पनि बचाईरहेको थियो । ऊ केवल आफ्नो परिवारको मान्छे मात्र थिएन । समाजको मान्छे थियो । देशको मान्छे थियो । अन्यायमा पर्नेको मान्छे थियो । दुखी, गरिव, बेसहारा, निमुखाको मान्छे थियो ।
हो, हामी पनि यस्तै मान्छे बन्न सिकौं र मृत्युपश्चात पनि बाँचौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)