एउटा लेखकको क्रियटिभ सुतिबियाँलो

सुतिबियाँलो

गोविन्द मैनाली

चिसो लाग्यो । अथवा कुनै बाह्य भाइरस सक्रीय भयो । करिब ओछ्यन्मा छु । सुतिबिँयालो के गर्नु गर्नु ?!

आज काममा जान सकिएन । एउटै काम एकै तमासले गरेको पनि पैतिस बर्ष बितेछ । बाबै कसरी सकेको ? अजीव लाग्छ । अझै झुन्डिएकै छु । गर्न के के गरियो गरियो तर त्यही एउटै काममा जीवन उखाडियो । काम पवित्र भएर मात्र हुन्न, मन पवित्र चाहिन्छ । हुन त काम र दामदेखि सन्तुष्ट को पो होला र ? खासै कतै हिँडिएन ।

जीवन र जगतको स्वाद सामान्य सुसेधन्दामै बित्यो ।

सबैसँग हुन्छन् आ-आफ्ना कथा । कथा खोज्न टाढा जानू पर्दैन । देख्न जान्नु पर्छ अनि लेख्न जान्नु पर्छ । अनिगिन्ती कथाको भण्डार न हो जीवन भन्नू । कहिले संयोगान्त कहिले वियोगान्त त कहिले सामान्य । लेख्ने विषय आफुसँग छन् नभए आफ्ना वरिपरि बग्रेल्ती छन्, कसैले लेख्छन्, कसैले लेख्दैनन् । नलेख्नेसँग पनि झन् अब्बल कथा ,उपन्यास, निबन्ध, कविता हुन सक्छन् । मैले खास लेखिन । देवकोटा जस्तो लेख्न जन्मिएको म होइन । पारिजातको जस्तो दु:खद र लोभलाग्दो कहानी मसँग छैन । शंकर लामिछानेको जस्तो शैली पनि छैन ।

मैले लेख्न थालेको पनि पैंतालीस बर्ष भैसकेछ । धुलौटे पाटीमा क ख शुरु गरेको ।

आजको अस्वस्थता अनि सुतिबियाँलो ।

ज्यान करकर खान्छ, नाकबाट पानी बग्छ, बेलाबेलामा खोकी लाग्छ तैपनि के गरी बस्नु भनेर लेख्न थालेको ।

यस्तोमा पनि लेख्न सकिन्छ ?

कोही छैन गफ गरुँ त । लेख्नु पनि त गफै हो नि । गफै पनि त मिल्नेसँग स्वाद । स्वादबिना मान्छेले के पो गर्छ र ? खानामा, काममा, गीतमा, ध्यानमा, यौनमा, खेलमा जता पनि स्वादकै त कमाल हो ।

“खाली दिमाग शैतानको घर” भन्छन् क्यारे आज त्यस्तै भो । शैतानबाट बच्न पनि कनिकुथी केही लेख्ने जमर्को हो यो । अन्यथा केही होइन ।

किताब टन्न छन् । “सिँह सेनापती, “एब्स्ट्रयाक्ट चिन्तन प्याच” त उहिल्यै पढेको, “नेपाल नखुलेका पाटाहरु” तिर्थबहादुर श्रेष्ठका लेखहरुको सँगालो यो पनि हिमाल पत्रिकामा प्राय पढेका रहेछन्, “बाआमा”, “वौशालीकी नगरबधु ” इत्यादी ।

सबै किताब पढ्नका लागि नै हुन्छन् तर हामी सबै पढ्दैनौँ । पढ्नै पर्ने जस्ता पनि छन् तर मन छैन । बुद्ध भन्नुहुन्छ, “मनो सेठ्ठा” मन नै सबैभन्दा श्रेष्ठ हो । मन ठेगानमा नहुनु नै सबै समस्याको जड हो । म भित्र अनेक समस्या छन । ती सबै मनका समस्या हुन् । खासमा मान्छे भन्नू नै मन हो त्यसैले मनुपुत्र भनिएको होला । एक जना मित्रले भन्थे, “धन, मान, पद नहुनु समस्या त होला तर मन फराक नहुनु सबैभन्दा ठूलो समस्या हो ।”

उहिले म चित्रकार पनि थिएँ । किशोर अवस्थामा मनमा महान चित्रकारको कल्पना बोकेको । दस कक्षामा लियोनार्दोदा भिन्चीको जीवनी पढ्ताताका । धेरै चित्र कोरियो खाली भुइँ, खाली कागज, टेबुल केही देख्नै नहुने । कति रंग खेर फालियो हिसाब छैन । तर जान्दाजान्दै पनि न चित्रकार बनियो न कथाकार न कवि ।

लेख्नु पनि पेन्टिङ जस्तै लाग्छ मलाई । लेख्दै गयो बन्दै जान्छ चित्र जस्तै ।

कोही सोध्छन्, ” तपाईं कसरी चित्र कोर्नुहुन्छ ?”

साधना हो भाइ साधना । आफुलाई ठुलै चित्रकार सम्झन्छु । वास्तवमा चित्रकारी सबैलाई आउँछ तर थोरै मान्छे मात्र चित्र बनाउँछन् । चित्र अन्तर्राष्ट्रिय भाषा हो, भावना हो तर म चित्रकार बन्ने ध्याउन्न पालेर काम नगरेको मान्छे ।

अब लेख्दैछु । लेख्न गाह्रो होला तर मलाई सजिलो लाग्दैछ किनकि लेखक बन्ने मेरो ध्याउन्न छैन । लेखकको बोझ नबोकी हल्काफुल्का गफ लेख्नलाई केको आइतबार ?

अक्सर मानिस सोच्लान्, “लेख्नु खास काम हो त्यसैले लेखक, साहित्यकार सम्मानित छन् ।” संगत गर्दा थाह हुन्छ प्रायः लेखकहरु जे लेख्छन् त्यसको उल्टो गर्छन् । गराई र लेखाइमा तालमेल हुन्न ।

भन्छन्, “लेख्नका लागि पढ्नु पर्छ, चिन्तनमनन गर्नु पर्छ ।” मनमा कुरा त अनगिन्ती खेली नै रहन्छ । एक निमेष पनि मन चुप हुन्न । हामी निदाउँछौँ तर हाम्रो मस्तिष्क सुत्दैन । केही न केही सोची नै रहन्छ । यो एक विशाल समुद्र हो फगत एक अँजुली पानी उबाउनु न हो ।

वास्तवमा मनकै खेल न रहेछ जीवन । सुखी पनि मन दु:खी पनि मन । बुद्धको शिक्षा मनकै शिक्षा हो खासमा ।

एकछिन ध्यान गरेँ । कायानुपस्यना, वेदनानुपस्यना, चित्तानुपस्यना, धम्मानुपस्यना । मन त दौडी नैरहन्छ । फेरि समाउछु ल्याउँछु । यो हरपल यात्रा गरिरहन्छ । भूत भविस्यको यात्रा । भूत र भविस्य खास होइनन्, छैनन् । बानी नै भइसक्यो एक ठाउँमा नबस्ने, प्रतिक्रिया गरिरहने । नानीदेखि लागेको बानी हो । बानी सुधार्न निकै ठूलो कसरतको आवस्यक हुन्छ । सायद सबैभन्दा कठिन अभ्यास नै त्यही हो ।

म प्रयास गरिरहेको छु वर्तमानमा बाँच्न । तर यो भन्दा कठिन काम दोस्रो छैन ।

वर्तमानमा बाँच्न, रम्न राग, द्वेष छोड्नुपर्छ । यी हाम्रा शत्रु हुन् तर साथी भएका हुन्छन् घाँसमा लुकेका साँप जस्ता ।

तिनलाई खोज्न कतै जानू पर्दैन, मनलाई नियाल्दा पुग्छ । करुणा, मैत्री खोज्न पनि भौँतारिनु पर्दैन । मनबाट राग, द्वेष, ईर्ष्या, घमण्ड, पूर्वाग्रह परित्याग गर्ने बित्तिक्कै आनन्द, करुणा, मैत्री, प्रीति प्रमोद हामीलाई खोज्दै आउँछन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button