के अकालमा मरेकालाई केमिकल प्रयोग गरेर जिवित बनाउन सकिन्छ ?

तर्क–वितर्क

देवकी केसी

जन्म र मृत्यु अकाट्य सत्य । र, यो कसैको वशमा छैन । जन्म र मृत्यु लाई रोक्न खोज्नु भनेको त प्राकृतिक नियमलाई चुनौती दिनु हो । यो संसारको सृष्टिक्रमलाई आफ्नो हत्केलामा कैद गर्न खोज्नु हो । एकपटक कल्पना गरौं त, यदि यो संसारमा जन्म र मृत्यु नै नहुने हो भने यो संसारको गति कस्तो हुन्थ्यो होला ? के यो सम्भव छ ? अवश्य पनि छैन ।

संसारका सबै चीज एकदिन बुढो हुन्छ र नाश हुन्छ अनि फ़ेरि नयाँ सृष्टि पनि हुन्छ । फरक यति मात्रै हो कि यो संसारका कुनै चीज चाँडै नाश हुन्छ भने कुनै अलि ढिलो नाश हुनसक्छ । अरु त के कुरो, त्यो निर्जीव पत्थर पनि निश्चित समयपछि पुरानो हुँदै खिइनसक्छ अर्थात टुक्रिन सक्छ । अझ मान्छे त यो संसारमा अजर र अमर छँदै छैन । मान्छे अजर र अमर हुने त उसको कर्मले मात्र हो । किनकी मरेर पनि मान्छे अमर हुने एउटा काम मान्छेले गरेको सुकर्म नै हो । हुन त हाम्रो धर्मशास्त्रका पाना पल्टाएर हेर्ने हो भने देवता र दानवबीच युद्धमा मरेका दानवहरुलाई पुन जिवित बनाइएको कथा निकै रोचक ढंगले ब्याख्या गरेको पाइन्छ।

रामायणमा रावणको टाउको काटिँदा पनि शरीरमा अमृतको कारण अर्को टाउको पलाएर जिवित रहेको, दक्षप्रजापतिको टाउको यज्ञ कुण्डमा होमिसकेपछि फेरि बोकाको टाउको जोडेर जिवित बनाएको, सुनको सुगालाई रिसले भगवान शिवजीले लखेट्दै गएपछि सुगा वेदव्यासको पत्नीको गर्भमा लुकेर सुकदेव स्वामी बनेर १२ बर्षसम्म गर्भबाट बाहिर नजन्मेको यस्ता कथाहरु सुन्दा पत्याउन सक्ने आधार त न्यून लाग्छ । यी र यस्ता कथाहरु सुनेर अनौठो लाग्नु पनि स्वभाविक हो । आज डाक्टरले एउटा गर्भवती महिलाले कहिले बच्चा जन्माउँछिन् भनेर तिथिमिति तोकेर भनिदिन्छ भने सुकदेव स्वामी १२ बर्षसम्म कसरी गर्भमा लुकेर बस्न संभव भयो होला त ? आजको वैज्ञानिक चमत्कारको युगमा त संभव नभएको कुरो त्यो युगमा कसरी संभव भयो होला त ? कि त हाम्रो धर्मशास्त्रले हामीलाई भ्रम छर्न कथा बुनेर लेखिएको हुनुपर्छ कि त अहिलेको बैज्ञानिक चमत्कार भन्दा पनि त्यतिबेला हाम्रो धर्मशास्त्र शक्तिशाली हुनुपर्छ । नत्र भने त्यतिबेला यो जन्म र मृत्युलाई रोक्न सक्ने सामर्थ्य कहाँबाट आयो ? कि त दैवी चमत्कार नै हुनुपर्छ ।

यसै सन्दर्भमा म सानो छँदा बाजेले भनेको एउटा न्याउरी मुसो र सर्पको कथाको याद आयो । एकपटक खेतमा काम गरिरहेको बेला एउटा न्याउरी मुसोले एउटा सर्पलाई मारेर तीन टुक्रा बनायो र बीचको एक टुक्रा खाएर फेरि झारबुटी खोजेर ल्याएर त्यो सर्पलाई जिवित बनाइदियो रे । बाजेको कथा सुन्दा मलाई लाग्यो, न्याउरी मुसो अहिलेको बैज्ञानिक भन्दा पनि महाबैज्ञानिक पो रैछ त । तर बाजेले भनेको न्याउरी मुसो र सर्पको कथा जस्तो प्रत्यक्षदर्शीचाहिँ म होइन । त्यसैले बाजेको त्यो कथालाई म शतप्रतिशत सहि र गलत दुवै भन्न सक्दिन किनकी त्यो घटना मेरा आँखाले प्रत्यक्ष देखेका छैनन् । आफ्नो आँखाले नदेखेका कुरा कसरी सही मान्नु र ? आजभोलि यस्तै घटनासित मिल्दोजुल्दो एउटा घटनाले सामाजिक संजाल निकै तातेको छ । एक नेपाली युवा जसले अकालमा मरेकालाई केमिकल प्रयोग गरेर जिवित पार्छु, मुसा र बट्टाई चरामा प्रयोग गरेर सफल भयो भनेर सामाजिक सन्जाल तताउनुभयो । त्यो कति सत्य र असत्य, त्यो त समयले बताउला तर यदि त्यो कुरो सत्य सावित भएमा पनि यसले प्रकृतिको नियमलाई भने ठाडै चुनौती दिन्छ र मृत्युलाई जित्न होडबाजी गरिरहेको वर्तमान विज्ञान एक हिसाबले सफल भएको मान्न सकिन्छ । तर पनि यसरी मृत्युलाई जित्नु भनेको यो संसारको चक्रलाई हत्केलाले घुमाउन खोज्नु नै हो । यसरी मृत्युजस्तो प्राकृतिक कुरोलाई चुनौती दिने काम जुन सामाजिक सन्जालमा भइरहेको छ यो कुरो सहि वा गलत के हो छानविन होस् ।

संसारका महान भनेका कतिपय बैज्ञानिकहरु पनि आफ्नै आविष्कारको कारण तनावग्रस्त भएको इतिहास धेरै पाइन्छ । त्यस्तै अहिले मृत्युपछि जिवित बनाउने केमिकल ल्याउने बैज्ञानिकले साँच्चिकै अनुसन्धान गरेर यो कुरो सहि हो भनेर प्रमाणिात गर्नु भएको खण्डमा तपाईंको बैज्ञानिक अनुसन्धानप्रति मेरो सम्मान छ । तर तपाईंको त्यो आविष्कार सहि ठाउँमा प्रयोग होस् ताकी भविस्यमा आफुले आविष्कार गरेको प्रविधी आफैलाई घाँडो नबनोस् । प्रकृतिको नियमलाई जित्ने एक योद्धा नबनोस् तपाईंको ज्ञान र भगवान शिवजीले भस्मासुरको हात जसको शिरमाथि पर्छ त्यो नाश होस् भनेर वरदान दिएपछि भस्मासुरले प्राक्टिकल गर्न शिवजीकै शिरमाथि हात राख्न लाग्दा शिवजी स्वयम भस्मासुरबाट भाग्दै हिँड्नु परेको जस्तो दिन यो सामाजिक सन्जालमा अहिले मानिसको मृत्युपछि पनि केमिकल प्रयोग गरेर जिवित बन्नाउँछु भन्दै हिड्नेलाई कदापि नआओस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button