
मनुजबाबुलाई मैले चिताएभन्दा विल्कुलै बेग्लै पाएँ
सहृदयी कलाकारसित आनन्ददायी अपरान्ह!
अरविन्द रिमाल
पात्राेले मीनपचासकाे अन्त्यकाे सूचना दिए पनि माघे जाडाे आफ्नाे पूरै रवाफमा थियाे । एकदिन पुराना किताप तह लगाउने जाँगर उठेकाे बेलाहरू “विश्वमित्र” पाक्षिककाे ‘याे’ अङ्क उसकाे हातमा पर्याे । काैतुहलवस पाना पल्टाउँदै जाँदा ऊ केही लेखहरूबाट स्वत: आकर्षित नभई रहन सकेन ! तिनमा एउटा सुविख्यात रङ्गकर्मी मनुजबाबु मिश्रसित २०५१ सालकाे जेठ महीनातिर उसकाे भेटवार्ताकाे वर्णन थियाे । त्यतिबेला ऊ साेही पाक्षिककाे सम्पादककाे रूपमा कार्यरत् थियाे । त्यतिबेला जुन भाषा र शैलीमा लेखिन्थ्याे, त्यसैलाई नै अनुशरण गरी उसलाई पुनप्रस्तुत गर्न मनासीब लागेकाेले त्यसै गरिएकाे छ ।
…
बाहिरबाट ढक्ढकाएपछि भित्रबाट ढोकाको खापा खुल्छ । भरिलो जीउडाल, ताम्रवर्णको प्रसन्नचित्त चेहरा, कोठी बढी भएको चामले ठूटो कपाल, धेरै वर्षदेखिसकेको जस्तो धर्से “टी” शर्ट र प्यान्ट लगाएका व्यक्ति भित्रबाट देखिन्छन् । हामीले आफ्नो परिचय बताउने क्रम सिध्याएकै हुन्नौं । “आउनुहोस् अरविन्दजी, म तपाईंले लेख्नु भएकै लेख यी… कृष्णचन्द्र दाई (समालोचक-साहित्यकार कृष्णचन्द्र सिंह) लाई पढेर सुनाउँदैथ्यें” भनी हाम्रो घरपेटी सुविख्यात चित्रकलाकार मनुजबाबु मिश्र हात समातेर मलाई आफ्नो कार्यकक्ष भित्र लैजानु हुन्छ । मसँग मेरा सहयोगी पत्रकार हस्त गुरुङ र फोटोग्राफर नवीन्द्र राई पनि भित्र पस्छौं । भित्रपस्ने वित्तिकै एकै पटक खुशीका दुई अनुभूति छचल्किन थाल्छन् । एकजना कलाकारसँग भेट भएको दुई-चार मिनेट पनि नबित्दै वर्षौंदेखिको परिचय र मित्रताको जस्तो न्यानो अनुभूति एकातिर, अनि अर्का एकजना साहित्यकारसँग वर्षाैँपछि भेट्दा पनि बारम्बार भेटेको मित्र जस्तो आत्मीयताको मीठो वातावरण अर्कातिर ।
आपसी भलाकुसारीका कुरापछि मनुजबाबुले भन्नुभयो: “हेर्नोस् न अरविन्दजी, आजै कृष्णचन्द्रदाइको तेल चित्र बनाउन बल्लबल्ल दुई वर्षपछि मौका जुटेको । उता संयोगले तपाईंहरूसँग पनि आजै भेट्ने तय भएको । मलाई अलि डर पनि लाग्यो, तपाईंहरू एक अर्काको परिचित हुनुहुन्छ कि हुनुहुन्न, २/४ घण्टा एउटै कोठामा कुराकानी गर्ने वातावरण मिल्ने हो, न हो ? राति कृष्णचन्द्रदाइलाई फोन गरें । “अरविन्द रिमाल मकहाँ भोलि तपाईं आउने समयमै आउनु हुन्छ, कुनै अप्ठेरो पर्ने हो कि ? `मैले भन्ठानेको अरविन्द रिमाल उहाँ नै हुनुहुन्छ भने केही फरक पर्दैन । हामी पुराना साथी हौं´ भन्नु भएपछि म ढुक्क भएँ” भन्दै मनुजबाबु बालसुलभ आनन्दी हाँसो हाँस्नुभयो । मनुजबाबुको फरासिलो व्यवहारबाट प्रभावित हुँदै म उहाँको “एम बी हार्मिताज” नाउँले प्रख्यात कार्यकक्षालाई नियाल्न पुगें तर आफू जुन कामका लागि आएको थिएँ त्यसलाई एकछिन थाँती राखेर म पुराना मित्रसँग नै पुराना दिनको सम्झना गर्न थालें ।
साच्चै मैले मनुजबाबुलाई आफूले चिताएकोभन्दा विल्कुलै बेग्लै पाएँ । चित्रकलाकार भन्ने बित्तिकै हामीले एउटा छवि बनाएका हुन्छौं… अलि बूढोपाको, लामो, दाह्रीजुँगा पालेका, गहिरो आँखा, लाम्चो औंला भएका हात, पातलो जीउडाल र गम्मीर! मनोज बाबु यी विशेषतामध्ये कुनैमा पनि पर्नु भएन, मेरा आँखामा ।

उहाँको व्यक्तित्वप्रति मेरो पहिलो छाप उहाँ कुनै सफल उद्यमी वा परिश्रमी आधुनिक कृषक प्रबन्धक भए जस्तो लाग्यो । साथै कुशल गृहस्थी र सुखी परिवारका प्रधानको लक्षण पनि उहाँमा भरिभराउ थियो । कुरा गर्दै गइयो उहाँले हामीलाई “विश्वमित्र”का लागि विशेष अनुरोधमा लेखेको र यहीँ अर्को पानामा प्रस्तुत लेख पढ्दै जाने क्रममा हामीलाई निकै प्रभावित पार्नुभयो । पछि आफ्ना विभिन्न समयावधिका कृतिहरू एकपछि अर्को गरेर देखाउँदै र तिनको व्याख्या गर्दै जाँदा पनि मलाई उहाँ चित्रकलाकारभन्दा पनि बढी प्राध्यापक वा प्रवीण कलासमीक्षक वा पारखी व्यक्तित्व जस्तो लागिरहेको थियो । उहाँको वर्णनात्मक अभिव्यक्ति- शैली धाराप्रवाह गतिमा थियो । कला सृजनामा पनि उहाँ त्यस्तै सीपका स्वामी हुनुहुँदो रहेछ । उहाँ मलाई एकै व्यक्तित्वबाट विभिन्न व्यवसायको विशेषता जनाउने आफ्नो आन्तरिक प्रतिभाको प्रदर्शन गराई रहनुभएको थियो ।
६२ वर्षीय कलाकारको जीवनमा हाम्रो नेपाली समाज गुज्रेको अनेक उथल-पुथलहरूका छाप नपर्ने कुरा थिएन । न त आफू जन्मजात सरहका कलाकार हुँदा पनि कारणवश सरकारी प्रशासनिक सेवामा लाग्दा भोगेका अनेक तीता अनुभवहरूले आज पनि उहाँलाई बीचबीचमा नघच्घचाइ रहन सक्तथ्यो । तर त्यस जीवनावधिका बीच अनेक मीठा घटनाहरूको चर्चाले आनन्द अनुभूति गराउनु त स्वाभाविकै हो, तर तीता अनुभूतिहरू बताउँदा पनि मनुजबाबुमा मैले कुनै कुण्ठा र विक्षोभका चिन्ह पाइन ।
उहाँ जीवनलाई त्यसका सम्पूर्ण स्वाभाविक रङ्गहरूमा अंगीकार गर्न समर्थवान् हुनुहुन्थ्यो । चित्रकलाकारको नाताले गर्दा पनि त्यस्तो भएको हुन सक्ला, तर यस्तो चारित्रिक गुणवत्ता सबैमा हुन्छ भन्ने यकीन गर्न पनि गाह्रै पर्छ । आफूभन्दा जेठा कलाकारहरूप्रति समुचित सम्मान, आफ्ना सहकर्मी र आफ्नै कलाकारहरूप्रति पनि समतापूर्ण आदरभाव र आफूभन्दा मुनिका कलाकारहरूप्रति अगाध माया र सिकारू कलाकारहरूलाई ठूलो प्रोत्साहन– उहाँको बोली र हावभावबाट सततः निःसृत भइरहेका अजस्र गुणहरू हुन्, मेरो मन निश्छल रूपमा यसरी उहाँको मूल्यांकन गर्नमा व्यस्त थियो । तर यसका साथै कलाकृतिको अभिव्यक्तिका बारेमा आफूले ठीक ठानेको शैली र सिद्धान्तका हकमा भने उहाँ उत्तिकै दृढ र अडिग ।
देशभित्र आजसम्म पनि उहाँका कलाकृतिहरूको समुचित प्रदर्शन नहुनुमा कला-क्षेत्रका प्रशासनिक भृत्यतन्त्रको मुख्य “योगदान” रहेको छ । तर विदेशमा विस्तृत रूपमा उहाँका एकल कला प्रदर्शनी उहाँको आफ्नै सक्रियता र कर्मठताबाट देशकै नाम एवम् ख्याति बढाउने कार्य ठहरिएका छन् । मनुजबाबु स्वयं पनि यसलाई आफ्नो निजी सफलताभन्दा देशको कीर्ति सम्वर्द्धन गर्ने गतिविधि ठान्नुहुन्छ ।
जेठको रापिलो अपरान्हमा पनि शीतलता प्रदान गर्ने उहाँको कार्यकक्षमा मैले तीन घण्टाको “अन्तर्वार्ता” टुंगेको थाहा नपाउँदा पनि एउटा कुराले भने मलाई रहस्यसरह चकित तुल्याई रहेको थियो– जीवनलाई यस्तो युवकोचित स्फूर्ति,जोश र जाँगरबाट लिने सदा उन्मुक्त व्यवहार राख्ने र प्रसन्नचित्त रहने “सफल कृषक प्रबन्धक”ले आफ्ना असंख्य कलाकृतिहरूमा व्यक्त दुःखको व्यथा कहाँ र कसरी आफूभित्र थेगिराखेको थियो होला ?
आधुनिक चित्रकलाको भाषामा नवयथार्थवादी (सर रियालिज्म) शैलीका एक विशिष्ट नेपाली प्रवर्तक मनुजबाबुका सपनाहरू यथार्थमा आजको आधुनिक विश्व समाज, रीतिथिति,आदर्श र जीवनका कतिपय शैलीप्रति घोर व्यंग्य, कटाक्ष र अभियोगको सामग्री जस्ता लाग्छन् ।
यस्तो अनुभूतिभाव व्यथित हृदयले मात्र व्यक्त गर्न सक्तछ । चेहरा प्रसन्नचित र हावभाव उन्मुक्त हुँदा पनि मनचाहिं व्यथित रहिरहन सक्दोरहेछ । मनुजबाबुसँग विदा लिएर अफिस फर्किदा यही कुरा मेरो मनमा खेलिरहेको थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
अरविन्द सरको यो संस्मरणको कालावधी स्पष्ट भएन । नत्रता यी उद्भट कलाकारले ०४५/०४६ को प्रजातन्त्रोत्तरकालपछि हर्मिताजबाट बाहिरी ( विदेश भ्रमण बाहेक) गतिविधिमा उति चासो राखेका छैनन् रे भन्ने प्रशस्तै सुनिएकाले सो कुराको कतै उठान भएन । कलाध्ययन लगायत कला पाठ्य सामाग्रीमा पनि मनुजबाबुको अतुलनीय योगदानको वर्णन वर्णनातीत छ भनिन्छ ।जे होस यी कलाकार महान थिए त्यत्ति हो !