छोरीको वाचाः छोरासरी बुवाआमालाई हर्ष-उल्लाससाथ राख्छौँ

कृतिका दहाल
हरिवन, सर्लाही

दुईवटा शिशुको मृत्युशोकमा पर्नुभएको मेरा हजुरबुबा–आमालाई बाबाले जन्मिएर सन्तान प्राप्तिको योग दिनुभयो । बाल्यकालदेखि नै मेहनत र परिश्रम गर्नुभएको मेरो बाबाले मेरो जन्मपछि आफ्ना इच्छा–आकांक्षा त्यागी मेरा हरेक चाहना परिपूर्ति गरिदिनुभएको छ ।

तोतेबोली बोल्दा बाबा भनी उच्चारण गरेदेखि दुई खुट्टा टेक्दा तातेताते गर्दै मेरा ती कोमल हत्केलाहरू समाइ पाइला चाल्न सिकाउने मेरो बाबाले मैले कखरा पढेको त्यो स्कुलको प्रथम दिनलाई पनि सम्झना स्वरूप डायरीमा सङ्‌कलन गरेर राख्नुभएको रहेछ । मेरो हरेक पाइलामा साथ दिने मेरो बाबाले गल्तीमा मार्गदर्शक बनी सहि बाटो देखाउन र मेरो जीतमा हर्षित हुँदै बधाई दिन भने कहिले छाड्नुभएन । जतिसुकै आर्थिक अभावले पिरोलिँदा पनि आफ्नो सन्तानको चाहना परिपूर्ति गर्न भने कहिले पछि नहट्ने मेरो बाबाआमालाई मनैदेखि सम्मान दिन चाहन्छु ।

लगभग आधा शताब्दी पार भइसकेको उमेरमा पनि दिनरात नभनी आफ्नो सन्तानलाई पढाउने र केही बनाउने सपना देख्दै काम गर्नुभएको मेरो बाबालाई जन्मदिन‌को अनगिन्ती शुभकामना दिन चाहन्छु । अहिले केही ठूलो उपहार दिन नसके पनि सक्षम भएर सफलता हाँसिल भएपछि यहि दुई छोरीहरूले छोराको भूमिका निर्वाह गरी बुवाआमालाई हर्ष र उल्लासका साथ राख्ने वाचा गर्दै हजुरको नयाँ वसन्त सुखमय बितोस् भनी कामना गर्दछु ।

धेरै माया अनि सम्झना ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button