
महिलाको नाममा आएको बजेटमा सामाजिक हिंसा !

कल्पना तिमल्सेना पोखरेल
पितृसत्तात्मक मुल्य र मान्यतामा आधारित असन्तुलित सामाजिक संरचनाको कारणले पुरुषको प्रधानता र महिलाको सहायक भुमिका भएको विद्यमान नेपाली समाजमा महिला विरुद्धको हिंसा अझै कम भएको छैन । अन्य हिंसाको साथसाथै महिलाहरुलाई हुने भावनात्मक र सामाजिक विभेद पनि एक हो ।
म ललितपुरको भैंसेपाटीमा बस्दै आएकी छु । हामी स्थानिय महिलाहरुले स्थानिय विकासका निमित्त महिला समुहको स्थापना गरेको २ बर्ष भयो । यसै क्रममा महिला हिंसा कम गर्न थुप्रै प्रयास गर्यौं र केहि राम्रा सफलताहरु पनि भए । तर अब यस्तै कुरामा मात्र अल्झेर नहुने ठानी विकास तर्फको बजेट माग गर्यौं । धेरै कठिनाईका बाबजुद विपद् व्यवस्थापनको निम्ती भनी बीस लाख रुपियाँ बजेट प्रदेशबाट दिईने निर्णय गर्यो । सो बजेटबाट सार्वजनिक स्थानमा भवन बनाउनु थियो । अनि हामीले स्थानिय सरकार वडाध्यक्ष र महानगरका मेयरसँगको सहमतिमा रितपुर्वक रुपमा भवन बनाउने स्विकृती पाई भवन निर्माण गर्न थालेका मात्र के थियौं, हामीलाई अनेक लाल्छाना लगाई ठूला व्यापारीसँग पैसा खाएर बजेट पारेको आरोप लगाईयो । ति सबै आरोपलाई पन्छाउँदै हामी अघि बढ्यौं । । फेरि यी महिलालाई यसरी विकास कार्यमा अगाडि बढाएमा निकै राम्रो काम गर्ने र पछि हामीलाई बजेट लिन गाहृो पर्ने भन्ने सल्लाह स्थानिय पुरुषको भएछ । षड्यन्त्रको जाल फिँजाइएछ । हामीले भवन बनाउने भनेको त्यो सार्वजनिक स्थानमा सानो रुख थियो ।
त्यसैलाई हतियार बनाई कैयौं बर्ष पहिला त्यस स्थान जंगल भएको र त्यसको संरक्षणार्थ एक महिला वन उपभोक्ता समिती रहेको र त्यसैले त्यस महिला वन उपभोक्ता समितीले उक्त स्थान नदिने भनी एक कथित महिलाको नाममा नक्कली वन भएको नक्सा समेत बनाई वडा कार्यालयमा रोक्ने अनुरोध र एक रुख काटेकोमा सजायं समेत गरिपाउँ भनी निवेदन परेछ । हामीलाई उनीहरुको कुरामा कुनै विश्वास थिएन । त्यसैले हामी सत्यतथ्य बुझ्न वन मन्त्रालयसम्म पुग्यौं । र, यी सवै कुरा कथित रहेछ भनेर सम्म पत्ता लगायौं । हामीले वडा अध्यक्षसँग ती निवेदन दिने महिलालाई भेटाईदिनु भनेर आग्रह गर्दा उहाँ आउँदै आउनु भएन । फेरि पुरुष नै अगाडि आउनुहुन्छ अनि भन्नुहुन्छ, ‘उहांलाई फुर्सद छैन, म छु, मला्ई भन्नु । म त्यहाँ केही बनाउन दिन्न । तिमीहरुलाई कामै गर्न दिन्न ।’
यस्तो तरिकाबाट हाम्रो कामलाई विथोल्ने काम तीन पटकसम्म भयो । हामी मन्त्रीलाई समेत भेट्न गयौं । त्यस सार्वजनिक स्थानमै जोडिएको एक सांसदको घर छ । हामी उहाँसंग पनि भेट्न गयौ । त्यहाँ जांदा उहाँले हामीलाई कथित कथा सुनाएर हसाउँने प्रयास गर्नुभयो । त्यो कथा के थियो भने ‘यहाँ त नागको बास छ, मेरो घर बनाउँदा ज्यामीहरु त्यस जमिनमा राती सुत्थे । सधै २-३ वटा नाग शिरमा आएर फ्वाँ फ्वाँ गर्थे । यो जमिन जसले चलायो, त्यसको सर्वनाश भएको छ, अनि हजुरहरुलाई मुद्धा परेको छ ।’
उहाँको कथाले हामीलाई केहि असर परेन । हामीले बुझिसकेको थियौं कि हामीलाई भावनात्मक तवरले बहकाउन खोजियो । हामी यसबाट पनि विचलित नभएपछि हाम्रो विरोध गर्ने पुरुषले अर्कै पुरुषको सहायता लिई काम रोक नत्र मुद्घा हाल्छु भनी थर्काए । नभन्दै ३ दिनपछि भाडामा मुद्धा हाल्ने व्यक्ति खोजेर उसलाई पैसा दिएर मुद्धा हाल्न लगाईयो । जसले गर्दा बीस लाख रुपियाँ मात्र खर्च गर्ने अवसरबाट हामी बंचित भयौं । १३ लाख बराबरको भवन बन्यो, बाँकी बजेट फ्रिज भयो । पुरुषले आफुले गर्न नपाएपछि महिलालाई त गर्नै नदिने बरु बजेट फ्रिज पार्ने भन्ने कतिसम्म निच र लज्जास्पद व्यहोरा हो, वर्णन गर्नै सकिन्न । यसले महिला र पुरुषबीचको विभेदलाई छर्लङ्गै पारेको छ ।
स्थानीय स्तरमा सानातिना कार्यक्रम जस्तै कौशी खेती, बेकरी, फोहोर व्यवस्थापन, डस्टबिन वितरण, विरुवा वितरण कार्यक्रमहरु मात्र दिईने गरिन्छ । त्यसपछि त्यस कार्यक्रमबाट परेको प्रभाव के छ, त्यो जान्नै चाहँदैनन् र आवश्यकता हो कि होइन भनेर पनि सल्लाह गरेको पनि देखिन्न । आफ्नो राजनितीक प्रभावकारिता झल्काउनका लागि महिलालाई १–२ लाख बजेटले फकाउन खोजेको देखिन्छ । महिला ड्राइभिङ ट्रेनिङ भनी राखेको तर कसरी सिकाइयो, जाने वा जानेन भनी अनुगमन नभै सकिन्छ र प्रमाणपत्र बाँड्न बोलाईन्छ । ड्राइभिङको प्रमाणपत्र भन्दा सिप आवश्यक पर्छ भन्ने थाहा नभएको हो कि झारा टारेको बुझ्नै मुस्किल छ । यसरी स्थानिय सरकारले दिने बजेट तथा संचालन गरिने कार्यक्रमहरुमा समेत विभेद भएको देखिन्छ ।
सरोकारवालाहरुसँग हाम्रो आग्रह के हो भने महिला पुरुष बराबर भनी रहँदा मुखले मात्र बोलेर पुग्दैन । सबै प्रकारका आत्मनिर्भर बनाउने सामाजिक परिवर्तन गर्ने खालका, विकासका जुनसुकै प्रकारका कार्यहरु विभेद, अन्धविश्वास, कुप्रथा रोक्ने, सार्वजनीक स्थानको संरक्षण, कानुनको संरक्षण र प्रयोग, घरेलु हिँसा विरुद्घको काममा स्थानिय महिलाहरुलाई जागरुक र सशक्त पारी सकारात्मक परिर्वतनमा परिचालित गर्नु पर्ने देखिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



