
लैङ्गिकता महिलाको मात्रै सवाल हो त ?

रसना ढकाल
वर्षौदेखि महिला अधिकारको सवालमा वकालत गर्दै आईरहेको एक सामाजिक संस्थाका जिम्मेवार पदका व्यक्तिले ‘हामी लैङ्गिक हिंसामा काम गर्दैनौ, केवल महिलामाथि हुने हिंसालाई मात्र हेर्छौ’ भनेर मासमा सम्बोधन गर्नु भयो ।
उपस्थित सबैले एक अर्काको मुख हेरेर कानेखुशी गर्न थाले । र, त्यहि मासमा एक व्यक्तिले उठेर सोधे, ‘ए हजुर ! तपाई आफैलाई थाहा रहेनछ, लैङ्गिक हिंसा भनेको के हो ? समाज परिवर्तन कसरी गर्नु हुन्छ ?’
उनको प्रश्न सुनेर ती महिला लाजले पानी–पानी हुनुभयो । केहि बोल्न सक्नु भएन ।
यसैगरी एक कार्यक्रममा वक्ताले ‘महिला हिंसा धेरै बढ्यो । यसले भोलिको सभ्य समाजमा प्रश्न चिन्ह लाग्दैछ । खै कँहा गए महिला अधिकारकर्मी ?’ भन्दै उफ्रिदै भाषण गरे । उनको भाषण सुनेर मासले ताली बजाए तर उनको सोचाईलाइ कोहिले पनि खण्डन गर्न सकेनन् । किनकी लैङ्गिकताको सवाल महिलाको मात्र हो भन्ने बुझाई छ । लैङ्गिकताको सवाल आउँदा प्राय सबै दुविधामा रहेको पाइन्छ । यस्तै यस्तै दुविधायुक्त भाषण सुन्न पाइन्छ । महिला हिंसा लैङ्गिक हिंसाको एक कारण हो भन्ने बुझाई धेरैलाई छैन । यो महिलाको मात्रै बुझाई हो भन्ने मान्यता व्याप्त छ भने अर्कातिर महिला हिंसा सुन्दै, भोग्दै र देख्दै आइरहेको समाजले लैङ्गिक हिंसा कस्तो हिंसा हो भनेर बुझन सकेको छैन । महिलामाथि हुने हिंसा लिङ्गको आधारमा नै हुने हो र त्यहाँ हानिकारक परम्परागत मूल्यमान्यताहरुको जरो गाडिएको छ । लैङ्गिक संरचनाले महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसख्यकहरुको काम र भूमिका बाँडफाँड भएको र त्यस भूमिकाले निम्ताएको समस्या हो ।
हामीले बुझ्नैपर्ने अर्को कुरा के हो भने लिङ्गउपर हामीले कहिले बहस गरेनौ किनकी त्यो जैविक रुपमा नै छुटिएर आएको हुन्छ, त्यसलाई परिवर्तन गर्न सकिदैन । तर छोरा–छोरी जन्मिएपछि लिङ्गलाई आधार बनाएर घर परिवारले उनीहरुको हुर्काइको क्रममा दिने भूमिका, जिम्मेवारी र त्यसले निम्त्याएको परिणामको व्यख्या लैङ्गिकले गर्दछ । लिङ्ग र लैङ्गिक दुइ फरक कुरा हुन् । एक लिंङ्ग जैविक रुपमा नै छुटिएर आयो भने लैङ्गिकतालाइ समाजले छुट्टाई दियो । समाजले छुट्याएको भूमिका उपर नै बहस हो लैङ्गिकताको सवाल । यसले बलियो पक्ष पुरुषलाई बनायो भने महिलालाई कमजोर पक्षको रुपमा चित्रण गरिदियो । फलस्वरुप बलियो पक्षबाट कमजोर पक्ष हिंसा प्रभावित भयो । बलियोले कमजोरलाई शासन गर्न थाल्यो । महिलाको शरिर पुरुषको नियन्त्रणमा हुन गयो । आफ्नो शरिरमाथिको निर्णय लिनबाट महिलालाई बञ्चित गरिदियो । फलस्वरुप अहिलेसम्म समाजमा देखिएका हिंसाको कारण केलाउदै जाँदा पुरुष शक्तिले दोस्रो दर्जालाई तल पारेको देखिन्छ ।
परम्परागत रुपमा हुदै आइरहेको कृयालाई वर्तमानसम्म आईपुग्दा धेरैले सोचमा परिवर्तन त ल्याएका छन भने आवश्यकताको हिसाबले सोचमा परिवर्तन आउन सकेको छैन । यसै भित्र महिलाको विविधताको कुरा पनि आउँछ । पितृसत्ताको आडमा हुर्किएको एक प्राणीले त्यहि हुर्काइको क्रममा पाएको शिक्षाको प्रयोग अरुलाई गर्ने हो, फलस्वरुप महिला महिलाभित्र देखिएको असमानताको कारक तत्व पनि यहि नै हो । त्यसैगरी यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको सवाल छ । जन्मिँदा केटा या केटी भए पनि हुर्काइको क्रममा केटाले केटीको जस्तो हाउभाउ गर्न थाल्यो, उसलाई केटी बन्न मन लाग्यो भने उसले आफनो शरिरको सबै चिज परिवर्तन गरेर केटी जस्तो बन्छ र त्यहि रवैया केटीमा पनि हुन्छ यदि उनी केटी छिन् तर केटा बन्न मन लाग्यो भने । त्यसपछि समाजमा स्थापित हुनको लागि समाजिक सम्मान पाउने कुरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको सवाल त झनै बहसपूर्ण छ । परिवार, घर र समाजमा सम्मानको लागि लडिरहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुप्रति अहिले पनि मान्छेको दृष्टि र सोचमा परिवर्तन आउन सकेको छैन ।
यति भनिरहँदा समाजिक संरचना, मूल्यमान्यताले सबैभन्दा धेरै असर कसलाई पारेको छ भन्दा महिलाकै कुरा आउँछ । हाम्रो समाजिक संरचनाले महिलालाई घरभित्र सिमीत गर्यो भने पुरुषलाई घर बाहिरको कामकाजको जिम्मा लगायो । महिलालाई कमजोर, दयालु, मायालुलगायतका तक्मा दियो भने पुरुषलाइ तिमी बलवान, पुरुष रुँन हुँदैन बहादुर हुनु पर्छ, मर्द हुनु पर्छ लगायतका तक्मा लगाई दियो । समाजले महिला र पुरुषको लागि समाजको ढाँचा बनाई दियो । त्यहि ढाँचाबमोजिम महिला र पुरुष हिँड्नु पर्ने बाध्य गराई दियो । यसभित्र समाजिक सोचले कमजोर पारिएको महिला वर्गलाई दमन गर्न, हिंसा गर्न झन् सजिलो बनाईदियो । समाजले महिला र पुरुषलाइ दिएको ढाँचामा अहिलेसम्म हामी हिंडिरहेका छौं ।
तसर्थ नेपाली समाजमा परापूर्व कालदेखि नै विद्यमान लैङ्गिक मूल्य मान्यताका साथ महिला र पुरुष बीचको असमान शक्ति सम्बन्धका कारण लैङ्गिक विभेदले बलियोसँग जरा गाडेको देखिन्छ । यसैगरी पुरुष भएकै कारण उत्पिडनमा पर्ने, मानसिक यातनाको शिकार हुने यस्ता हिंसा स्वीकार्य विषय होइन तर फरक केवल यति हो, समाजले पुरुषलाई बलवान र पुरुष रुँनु हुदैन भन्ने जस्ता कुविचारको कारण पुरुषमाथि भएको यातना खुलेर आउन सकेको छैन ।
अहिले पनि यहि समाजिक संरचनाले दिएको मूल्यमन्यताको कुप्रभाव परिरहेको छ । देशमा बढ्दै गइरहेको बलात्कार, मानव बेचविखन, घरेलु हिंसालगायतका अपराधहरु लैङ्गिक विभेद नै कारक तत्व हुन् । देशमा ठूला ठूला परिवर्नन भए, राजनीति परिवर्तन भयो तर सामाजिक रुपमा महिला पुरुष र यौनिक तथा लैङ्गिक अल्पसख्यकहरुप्रति हेर्ने र गर्ने व्यवहारमा परिवर्तन आएन । त्यसैले लैङ्गिकताको सवाल महिलाको मात्रै होइन ।
सबै मानवको आत्मसम्मान र सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित हुनु पर्छ । एक अर्कालाई गर्ने व्यवहार र सोचमा परिवर्तन आउन आवश्यक छ । आजको लडाई कुनै लिङ्गसँग होइन, पुरातन सोच र मूल्यमान्यतासँग हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)