
लिङ्गको आधारमा गरिने हिंसाको अन्त्य गरौं

नम्रता लामा
प्रत्येक वर्ष मनाईने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष पनि नोभेम्बर २५ देखि शुरु भैसकेको छ । लैङ्गिकताकै आधारमा कसैलाई कुनै पनि प्रकारको हिंसा हुनु हुदैन भन्ने कुरामा हामी सबै जानकार हुदाँहुदै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुमा विभेद भएको हामी देख्दै र सुन्दै आएका छौ । उनीहरुलाई देख्दा कानेखुशी गर्ने, फरक दृष्टिकोणले हेर्ने तथा विभिन्न उपनामहरु दिने गरेको पाईएको छ । साच्चै भन्नुपर्दा उनीहरुलाई समाजबाट अलग राखेर हेर्ने गरिन्छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको पहिलो लडाई आफैसंग हुन्छ किनकी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कुन वर्गमा आफू पर्छु भनेर छुट्टाउन लामो समय लाग्छ । आफुले आफुलाई जानिसकेपछि परिवारमा त्यस विषयमा खुल्न अर्को संघर्ष गर्नुपर्छ । परिवारले नस्विकार्ने डरले कतिजना त परिवार नै त्यागेर हिड्नु पर्ने अवस्था पनि आउने गर्दछ । परिवार, छरछिमेक, आफ्ना आफन्त, समाज हुदै राज्य संग पनि आफ्ना अधिकारका लागि संघर्ष गरिरहनु परेको अवस्था छ । यस समुदायका व्यक्तिहरुलाई दिईने विभिन्न उपनामको कारण पनि आफू यो हो भन्ने जान्दाजान्दै कतिपय व्यक्तिहरु आफूभित्र नै कुन्ठित भएर बाँचिरहनु परेको अवस्था पनि छ ।
विगतमा भन्दा केहि मात्रामा परिवर्तनहरु भएता पनि अझै आफ्ना पहिचानका लागी, अधिकारका लागी संर्धषरत छन् । आफ्नो स्व धोषणा पश्चात पनि कानूनी पहिचान प्राप्त गर्न राज्यसंग लामो संधर्ष गर्नु परिरहेको अवस्था छ । आफ्नो पहिचान पश्चात जन्मको आधारमा प्राप्त गरेको पहिचान भन्दा फरक पहिचानका साथ स्थापित हुनको लागी चाहिने कानूनी आधार नागरिकता लिनको लागी पनि राज्य संग संधर्ष गर्नु परिरहेको छ । संधर्ष नै संधर्ष को जिन्दगी न त परिवार र समाज ले आफ्नो भनेर अंगाल्ने न त राज्यले ने कुनै अधिकार दिने ।
नागरिकता विधेयकमा पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले आफ्नो पहिचानको आधारमा नागरिकता लिनको लागी मेडिकल सर्टिफिकेट अनिवार्य पेश गर्नु पर्ने भन्ने उल्लेख गरेर यस वर्गलाई उपेक्षा गरेको छ । कतिपय अवस्था व्यक्रिले आफ्नो स्व पहिचान र स्व धोषणा गरेर पनि आफ्नो शारिरीक परिवर्तनहरु गर्न नचाहने हुन सक्छन् । त्यस्तो अवस्थामा त्यस्ता व्यक्तिहरुलाई कसरी कानूनी पहिचान दिन सकिन्छ र उनीहरुलाई पनि समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सकिन्छ हामी सबैले विचार गर्ने हो की ?
राज्यमा रहेका तिनै तहका सरकारले पनि यस विषयलाई चासो दिएर छिटो र सहज तरिकाले समस्या समाधान तिर लाग्ने हो भने कोही पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु लुकेर, ढाँटेर बस्नुपर्ने थिएन । हामी सबैले कल्पना गरेको र चाहेको सुखी समाज र समृद्ध समाजको निर्माण हुने थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)