जसलाई हररात श्रीमान बलात्कार गर्छ अनि दाइजो नभएर जसको विहे भएको छैन

हिंसाको स्वरुप परिवर्तन भयो तर अन्त्य भएन

कोपिला तिमल्सीना
चन्द्रपुर नगरपालिका, रौतहट

हाम्रो समाजमा हिंसाको स्वरुप परिवर्तन भयो तर अन्त्य भएन । लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानले महिला र पूरुष दुवैको अधिकारको सवालमा वकालत गर्ने भएतापनि हाम्रो समाजमा लैङ्गीक विभेद भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझिन्छ । किनकी हाम्रो समाजका छोरी, श्रीमती, बुहारी, सासु, आमा जुनसुकै भुमिकामा रहेतापनि महिला भएकै कारण हरेक अवस्थामा हिंसाको सिकार बन्नु परेको छ । करीव एक महिनाअघि मेरो एक विवाहित साथीसँग भेट हुँदा सोधेँ, “तिमी आजकल किन दुब्लाएको ? के तिम्रो घर त ठिकै छ ? तिमी हेर्दा पनि खुशी देखिंदैनौ, के भयो ?”

उनले मतिर हेर्दै नहेरी उत्तर दिइन्, “केही होइन ।”

मलाई उनको विश्वास लागेन । त्यसैले फेरि सोधेँ, “केही त छ । तिमीले आज भन्नै पर्छ ।”

जर्र्बजस्ती लुकाएका उनका आँसु बरर झर्न थाले ।

“म मेरो श्रीमानबाट प्रत्येक दिन बलात्कारको शिकार भएकी छु । खाना खाएपछि जब म मेरो बेडमा जान्छु । म प्रत्येक रात बलात्कारमा पर्छु । यतिसम्म कि महिनावारी भएको ४ दिन पनि मैले छुटकारा पाउँदिनँ,” उनले आफ्नोे चित्कार सुनाइन् ।

“यो कुरा म कसैलाई पनि भन्न सक्दिनँ । किनकी मलाई यो समाजले दिने जवाफ थाहा छ । यो समाजले मलाई नै भन्छ, “अनि तेरो श्रीमानले के पुजा गर्न लगेको हो तलाई ?” या यस्तै यस्तै ।” उनी थप्दै गईन् । मैले त्यो दिन झण्डै २ घन्टा लगाएर उनलाई सम्झाउनु परेको थियो ।

मधेश प्रदेमा अन्य प्रदेशको तुलनामा यस्ता घटनाहरु अझै बढि पाईन्छन् । त्यसमा पनि रौतहट सबैभन्दा कम विकसित भएको जिल्ला हो । यस जिल्लामा एक अध्ययन गर्दा शिक्षा भन्दा ठुलो छोरीको लागि दाइजो हो भन्ने विचार बोकेर र त्यसलाई कार्यान्वयन गर्न लागि परेका अनगिन्ति मानिस अझै पनि भेट्न सकिन्छ । चन्द्रनिगाहपुर घर भएका एक परिवारमा ४ छोरी रहेका छन् । जसर्को ३ छोरीको विवाह भएको र एक छोरी करीब ३२ वर्षकी थिइन्, उनी अविवाहित थिइन ।

एउटा कामको सिलसिलामा म उनको घर पुग्दा मैले उनलाई तिम्रो विवाह भयो भनेर सोधेँ । उनले बोल्न नपाउँदै करीब ६५ वर्षका उनका वुवा नजिक आउनु भयो र मलाई जवाफ दिनुभयो, “कमाएको पैसा अरु छोरीको विवाहमा सकियो । अहिले म बिरामी छु । म ठीक भएपछि दाइजो दिन पुग्ने कमाएर ल्याएपछि अनि यो छोरीको विवाह गर्छु ।”

उनको कुराले मलाई केहि छिन भावुक बनायो ।

मैले पुनः सोधेँ, “कति वर्षमा दाइजो दिन पुग्ने कमाउनु हन्छ बुवा ?”

उहाँले भन्नुभयो, “करीब ३ वर्षजति लाग्छ होला ।”

जब कि अहिले उनकी छोरी ३२ वर्षकी छिन् र ३ वर्षमा उनी ३५ बर्ष हुन्छिन् । हामी यस घटनाबाट सहजै हामी के अनुमान गर्न सक्छौ भने ती बहिनी सबै कुरामा ठिक छिन् । उनीसँग रुप, शिक्षा, सबै गुण छ । तर दाइजो दिन सक्षम नभएसम्म उनको विवाह हुन सक्दैन । फेरि अर्कोतिर २० वर्ष पनि छोरीलाई माइतीमा राख्न कानुनको बल प्रयोग गर्नुपर्ने समाजमा ती महिलालाई उमेर गईसकेको महिलाको भनेर विभिन्न उपनाम दिएर समाजले तिरस्कार, अपहेलना, वेवास्ता, मानसिक हिंसा, यौनजन्य हिंसा जस्ता अनेकौं अपहेलना र हिंसा गरिरहेको हुन्छ । त्यसैले सदियौंदेखि चल्दै आएको यस्ता हिंसालाई हटाउन नितिनिर्माण तहबाटै विशेष पहल गर्नुपर्ने आवश्यकता देखिन्छ भने बालिकाहरुको शिक्षालाई जोड दिनुपर्ने र उनीहरुको पढाई बीचैमा रोकिने अवस्थाको अन्त्य हुनु जरुरी छ ।

देश तथा व्यक्ति परिवर्तनको प्रमुख तत्व भनेको शिक्षा हो । तर शिक्षित परिवारको रुपमा आफुलाई परिभाषित गर्ने हाम्रो समाजमा पढेलेखेको महिलामाथि पनि विभिन्न रुपमा हिंसा गरिरहेका छन् । घरबाहिर श्रीमान वा पूरुष सरह सँगै नोकरी या विजनेस गर्न गए पनि फेरि पनि घरभित्रको जिम्मेवारी, बालबच्चा, अभिभावकको रेखदेख, दैनिक सरसफाई, दैनिक घरभित्र गरिने काम यो सबैको घेराबन्दी जस्ताको तस्तै छ । सबै जिम्मेवारी पनि छ अनि बाहिरको काम पनि त्यतिकै छ । यसले गर्दा घर बाहिर निस्केर काम गर्ने महिलाहरुको अवस्था पनिे हाम्रो समाजमा बुढापाकाले गर्ने उखान “खाए खा, नखाए घिच” भने जस्तो देखिन्छ । बाहिर गएकै छे । खुल्ला छ । स्वतन्त्र छ पनि भन्ने अनि घरको वातावरण पनि नबनाईदिने । जिम्मेवारी पनि नघटाइदिने अनि नैतिक दबाव पनि दिईरहने जस्ता कुराहरु अहिलेको आधुनिक समाजले गहिरिएर सोच्नुपर्ने विषयहरु हुन् । एउटी महिलाले बाहिर काम गर्न जानु पनि घरभित्रको जिम्मेवारी उठाउन आयस्रोतको बाटो खोजेको हो भन्ने तरिकाबाट खासै विश्लेषण गरीएको पार्ईदैन । उनी पनि परिवारको हितको लागि उभिएकी हुन् भन्ने जस्ता कुराहरुमा एक रति पनि विश्वास गरिंदैन । जबसम्म यस्ता हिंसाको बिरुद्ध एक–एक गरी व्यक्ति–व्यक्ति लाग्दैनन्, तबसम्म हामी समाजको परिवर्तनको कल्पना पनि गर्न सक्दैनौ । त्यसैले लैंिगक हिंसाको अन्त्य गर्ने सुरुवात परिवारबाट नै हुन जरुरी छ ।

विद्यालयले दिईने शिक्षाका विवीध क्रियाकलापहरुमा पनि लैंगिक संवेदनशिलता अपनाउनु पर्ने जरुरी देखिन्छ । हालसालै छोरीसंस्थाले चन्द्रपुर नगरपालिकाको दुईवटा वडाका ११७ जना बालबालिकासंग एक अध्ययन गरेको थियो । सो अध्ययनमा बालबालिकाको लागि धेरै आवश्यकताहरु मध्ये जीवनमा हरेक क्षेत्रको अनुभव तथा सिकाईको लागि अपरिहार्य भनेको खेल तथा मनोरन्ञन नै हो । यस क्षेत्रको बालबालिकाहरुसँग गरिएको अध्ययनले के देखाउँछ भने करीब ९५ प्रतिशत बालिकाहरु खेल तथा मनोरञ्जनमा सहभागी हुन नपाउने र पाइहाले पनि सिमीत खेल मात्र छोरीहरुले खेल्ने भनेर तय गरिएको हुन्छ । त्यसमा मात्र सहभागी बन्न पाउने भन्ने तोकिएको हुन्छ । जस्तै फुटबल छोराहरुले खेल्ने र भलिबल चाँही छोरीहरुले पनि खेल्दा हुन्छ भन्ने । सो अध्ययनले के पनि देखाएको छ भने बालकको तुलनामा बालिकाहरुले धेरै खाले परिधिभित्र रहेर बाँच्नु परिरहेको हुन्छ । बालिकाहरुलाई घरको काम हुँदा स्कुल जान छोडाएर घरको काममा बढी लगाउने, विवाह तथा मेला पर्व आउँदा घरबाहिर जान निश्चित समय सीमा, नियममा बाँधिनुपर्ने, खेलकुदमा भाग लिन विध्यालयमा सरहरुको नियम, घरमा आमाबुवा तथा दाजुभाईको नियम पालना, आफुलाई मन परेको कपडा लगाउन पनि नियम, यतिसम्म कि अब के पढ्ने भन्ने पनि अरुको निर्णय, कहिले कति पढेपछि कोसँग विवाह गर्ने निर्णय सबै अभिभावकको हुने, समाजमा हिँड्दा कति हाँस्ने, कति बोल्ने, कति खर्च गर्ने, कुनै गल्ती भइहालेमा छोरी भएकै कारण माफी माग्नुपर्ने वा गाली खानुपर्ने लगायत हरेक कुराको समय सीमालगायत नियम पालनाले गर्दा छोरी मान्छेको जिन्दगी अर्कैको भरमा परिदिनुपर्ने कुराहरुले गर्दा हरेक क्षेत्रबाट पछाडी पर्ने र परिवर्तनशिल समाजमा पूरुषवादी सोचका कारण छोरीले भेदभावको सिकार बन्न पुगिरहेको अवस्था देखिन्छ ।

पितृसतात्मक संरचना भएको समाज जहाँ एक बच्चा जन्मिन्छ, हुर्किन्छ, खेल्छ र घर तथा विद्यालयबाट सिक्छ, ति सबै गतिविधीले उसलाई महिलालाई दबाउने, नियन्त्रणमा लिने अनि आफ्नो कुरा मात्र सुन्ने बनाईरहेको हुन्छ । उसले समाजमा जे देख्छ, जे ग्रहण गर्छ ऊ स्वयं पनि त्यस्तै बन्दै जाने हो । त्यसैले एउटा बच्चा जन्मेदेखि नै उसले देख्ने घरको वातावरण, परिवारका सदस्यहरुविचको कुराकानी अनि घरायसी कामहरुमा महिला तथा पुरुषको उतिक्कै भुमिक देख्न पायो भने उक्त बच्चामा पनि सुरुदेखि नै महिला र पुरुष समान हुन भन्ने सोचको विकास गर्न धेरै नै मद्धत पुग्छ, जसले कालान्तरमा लैगिंक हिंसा अन्त्य गर्न ठुलो भुमिका खेल्न सक्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button