
उनी कसरी बेचिनबाट ‘बालबाल’ बचिन् ?

एक प्रभावित तथा सामाजिक अभियन्ताको मष्तिष्कको डायरी पल्टाउँदा …
तीर्थ बहादुर ‘श्रमिक’
मोवाइलमा घण्टी बज्छ । एक जना छिमेकी दिदीको नाम देख्छु । मोवाइल उठाउँछु, “तिमीलाई एउटा कुरा भनौैं भनेर फोन गरेको । मेरी एकजना दिदीले एक घण्टाको लागि मन्दिरमा पूजा गर्न कन्याकेटी चाहिएको छ भन्नु भएको छ । त्यहाँ पूजा गरे वापत पचास हजार पाईन्छ रे । के तिमी मज्जुर छौं ।”
दिदीको कुराले म दङ्ग परे । जिन्दगीमा अहिलेसम्म यति ठूलो रकम हातमा परेको छैन । एक घण्टा मन्दिरमा बसेर पूजा गरे वापत पचास हजार पाईन्छ भनेपछि म खुशीले गदगद भएँ र हुन्छ भने ।
मनमा कुरा खेल्न थाले । मैले सुनेका कुराहरुको याद आयो । पश्चिम नेपालमा राखिने “देउकी”, काठमाडौं नेवार समुदायमा जीवित देवीको रुपमा राखिने “कुमारी”, गुम्बाको “झुमा” आदि । म कल्पनामा डुब्न थालँे । मन्दिरमा देवीको स्वरुपमा बसेको, सबैजनाले पूजा गर्दै भेटी, प्रसाद चढाएर प्रार्थाना गरिरहेका अनि मैले महादेवले झै सबै भक्तजनलाई आशीर्वाद दिईरहेको । आफू साक्षर भगवानको स्वरुपमा रहँदा आशीषमय हुनेछु र पचास हजारको कमाई पनि हुने भन्नो मीठो कल्पना ।
यसबारे मैले घरका कसैलाई पनि नभन्ने निर्णय गरेँ । यदि मैले त्यहाँ भनीँ भने मलाई रोक्न सक्छन् । मैले पचास हजार कमाएर ल्याए भनेर घरका सबैलाई अचम्मित पार्न सक्छु भन्ने पनि ठाने ।
दिदीसँग कहाँ कसरी भेट्ने भन्नेबारे कुराकानी गरी समय र ठाउँ निश्चित ग¥यौं ।
हाम्रो कुराकानी अनुसार दिदीसँग मैले भेट गरेँ । उनीसँग एक जना महिला र पुरुष थिए । उनीहरु श्रीमान श्रीमती रहेको र ती दिदीको आफन्त पर्ने भन्ने कुरा गरेपछि कुनै शंका भएन । लकडाउनका कारण आवतजावत गर्न गाह्रो थियो । उनीहरुले विभिन्न वाहना पारेर प्रहरीको सहायताले एउटा मिनी टाटा मिलाए । हामी कहिल्यै नगएको ठाउँ थियो, त्यसैले हामीलाई त्यहाँ जाने बाटो कता हो भन्ने थाहा थिएन । उनीहरुले जता भन्छन् त्यतै जाँदै थियौं । बाटोमा कुरा गर्दै जाँदा पुरुषसँगै बसेकी दिदीले मलाई देखाउँदै भनिन्, “यो बहिनीको कपाल काटेर छोटो बनाएको रहेछ, पूजामा बस्न मिल्दैन होला जस्तो छ, तिमी बस्नुपछ होला है ?”
दिदीले सहजै हुन्छ भनिन् । मलाई ईष्र्या जाग्यो । आफू मन्दिरमा बसेर साक्षर भगवानको स्वरुपमा रहांैला भनेको त दिदीलाई बस्नुपर्छ भन्नु भयो त, मनमा कुरा खेले ।
हामीलाई एउटा बजारको एउटा होटेलमा लगेर राखियो । ठाउँको नाम पढ्दा अर्कै ठाउँ रहेछ । उनीहरु हिन्दीमा कुरा गर्न थाले । घरीघरी फोनमा कुरा गर्दै थिए । उनीहरु हिन्दीमा के भन्दैछन् बुझिदैनथ्यो । बारम्बार पालो गरीगरी फोनमा कुरा गरिरहन्थे । एकछिन पछि पैसा लिन भारत जानुपर्ने भयो भने । अब मलाई डर लाग्न थाल्यो । मैले सँगै आएकी दिदीलाई पुलुक्क हेरँे, उहाँको अनुहार पनि न्याउरो र डराएको जस्तो देखेँ । मलाई अझ डर लाग्यो । हामीलाई भारत जानुपर्छ भन्ने दिदीको अनुहार निहालेँ, राक्षेसनी जस्तो लाग्न थाल्यो । उनको श्रीमानलाई दानवको रुपमा देख्न थालेँ । मेरो डर अझ बढ्न थाल्यो । अब के हुन्छ यहाँ … ? उनी बाहिर निस्केका थिए । मैले दिदीलाई भनेँ, “म एउटा रिचार्ड कार्ड लिएर आउँछु है दिदी ?”
दिदीले हत्तपत्त म पनि जान्छु भन्नु भयो । उनीहरु फोनमा कुरा गर्दै थिए । हामी फटाफट एउटा नजिकैको किराना पसलमा छि¥यौं । मलाई रिचार्ड कार्ड चाहिएको थिएन । मात्र सोध्नुथियो कि यो ठाउँबाट भारत कति टाढा छ । पसलमा एकजना आमालाई देखेँ, “आमा, यहाँबाट भारत कति टाढा हो ?” म आत्तिएको देखेर होला, उहाँले “किन नानी, यहाँबाट नजिकै पर्छ । १० मिनेटमा सीमाना पुगिहालिन्छ” भन्नुभयो । म झस्याङ्ग भएँ । दिदीलाई हेरेँ । उहाँको अनुहार पनि रातो भयो । थर्रथर्र कामेको देखेँ । हामी त्यहाँसम्म कसरी आयौं र हामीलाई के भनेर ल्याएको छ भनेर यथार्थ कुरा ती आमालाई बतायांै । आमा पनि झस्किनु भयो ।
“नानीहरु हो, त्यसो भए तिमीहरुलाई बेच्न लैजादै छन् ।”
दिदी झन आत्तिनु भयो, “बहिनी हामी फसेछौं, के गर्ने होला ?”
म झन् आत्तिएँ ।
आमाले हामीलाई ढाडस दिनुभयो, “तिमीहरु नआत्तियो, यही बस, म पुलिसलाई खबर गर्न लगाउँछु” भन्दै नजिकै एक जना दाइ थिए, उहाँलाई बोलाउनुभयो र हाम्रो बारेमा बताउनु भयो । ती दाइले मोवाइल डायल गर्नुभयो । एकै छिनमा हाम्रो अगाडि प्रहरीको भ्यान रोकियो । प्रहरीले सोधपुछ गर्दा यथार्थ कुरा बतायौं । प्रहरी हामीसँगै गए र त्यहाँ घेरा हालेर दुबैजनालाई गिरफ्तार गरेर भ्यानमा हाले । हामीलाई पनि भ्यानको पछाडि राखेर चौकीमा लगियो । त्यहाँ हामीसँग सोधपुछ भयो । हामीले कुनै पनि कुरा नलुकाइ सबै कुरा बतायौं ।
एकैछिन पछि दुईजना दिदीहरु आउनु भयो । एक जना महिला प्रहरीले ती दिदीहरुलाई देखाउँदै, तपाईंहरु उहाँहरुसँग जानुस् भन्नु भयो ।
मैले एक टकले ती दिदीहरुलाई हेरेँ । दुवैैजनाले मास्क लगाएका थिए र गलामा परिचयपत्र झुण्ड्याएका थिए । उहाँहरुको आँखा आँशुले भरिएको देखेँ । मैले कोरोनाको संक्रमणबाट बँच्न भौतिक दुरी कायम गर्नुपर्छ भन्ने कुरालाई भुलेँ । दौडिएर एकजना दिदीलाई अंगालो हालेँ । उहाँले पनि निसंकोच छातीमा टाँस्नुभयो । मलाई बेस्करी माया दिएको आभाष गरे । अर्की दिदीले मेरो ढाडमा थुमथुम्याउँदै, बहिनी पीर नगर तिम्रो लागि हामी छौ भन्ने ढाडसले मलाई झन् रुन मन लाग्यो । एक्कासी ममीको याद आयो अनि दुईटै दिदीलाई अंगालो हालेर डाको छोडेर रोएँ । हामी सँगसँगै रोयौं । एकैछिनमा मैले यताउति हेरेँ, दिदी पनि अर्को छेउमा बसरे रोईरहेको देखेँ । अनि मैले उहाँलाई पनि अंगालो हालेँ । त्यहाँ रहेका सुरक्षाकर्मीदेखि सबैका आँखामा आँशु देखेँ । हामीलाई लोभलालाचामा पारेर त्यहाँसम्म ल्याउने ती दलालहरुको आँखामा के थिए थाहा पाईन किनकि मलाई उनीहरुको अनुहार हेर्नै मन लागेको थिएन ।
एकैछिनमा हामी एउटा आवास गृहमा पुग्यौं, जहाँ तिनै दिदीहरु बस्दा रहेछन् । हामीले त्यहाँ बास मात्र होइन, सुरक्षा, प्रेम र सचेतना मिल्यो ।
मैले घरबाट हिडेदेख अहिलेसम्मका हरेक पलहरुलाई फर्केर हेरे र प्रण गरेँ, मजस्तै दिदीबहिनीहरुको जीवन बचाउने अभियानमा मेरो जीवन बिताउने छु । मेरो अगाडि तिनै दिदीहरु हुनुहुन्थ्यो, जसले सुरक्षा र प्रेम मात्र होइन, उहाँहरुको हरेक शब्दशब्दमा ढाडस, उत्साह, साहस र मार्ग पाईरहेका थियौ । यससँगै हामी दुबै दिदीबहिनी उज्यालो दिनको यात्रामा सँगै हिड्ने सामूहिक प्रण बाँडिरहेका थियौं ।
यही कुरालाई सुनेर होला, त्यहाँका दिदीहरुको मुहारमा मुस्कान देखियो, जसले हाम्रो उज्याले भविष्यलाई संकेत गर्दै थियो । अनि हाम्रो जीवन बचाउन सहायताका उद्गम बिन्दुका ती आमा र दाइ जसले प्रहरीलाई खबर गरेर सम्भावित दुर्घटनाबाट हामीलाई बचाउन ठूलो भूमिका खेल्नुभयो, उहाँहरुलाई भेटेर आभार व्यक्त गर्ने रहर अझै बाँकी नै थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



