आमा खुशी छिन् किनभने उनको हातमा घोषणापत्र छ

सुशील लामा
लिमासोल, साइप्रस

नोभेम्बर दोस्रो हप्ताको आइतबार छुट्टीको दिन ।

मेरो पनि छुट्टी भएकोले शनिबार बेलुकी निक्कै ढिलोसम्म साथीहरुसँग भलाकुसरी गरेर बिताएकोले आइतबार बिहान ढिलो उठेँ । बिहानी कर्म सक्काएर एक कप कफि लिएर बाल्कोननीमा गएर बसेँ । कफिको चुस्कीसँगै टाढा क्षितिजमा हराउन पुगेँ । कफिको तातो घुट्कोसँगै आधुनिकताले छपक्कै छोपेको अग्लाहोचा मिलाएर बनेका सुन्दर कोलोनीको दृश्यपान गरेँ ।

कोलोनीलाई सिंगार्न बनेको ठाउँठाउँमा अवस्थित सुन्दर स–साना पार्कहरुमा फुलेको फूलको सुगन्ध सिधै नाकमा ठोकिन्थ्यो । पार्कसँगै कुम जोडेर बसेको खाली बेन्चहरु । मर्निङ्ग वाक गर्न बनेको सुन्दर पथहरु । मनमोहक थियो वातावरण । कोलाहल बिल्कुल थिएन । जाडो सुरु नभइसकेको र पनि हल्का चिसो भएकोले न्यानो घामको तातोपन पर्खिरहेका थियो मेरो चिसो शरीरले ।

कफि कप रित्तिदै थियो । कपसँगै टेबुलमा लडिरहेको मोबाइल फोन उठाएँ । फेसबुक खोलेर हेर्न मन लाग्यो । मनमा उब्जेको चाहनालाई रोक्न सक्ने कुरा भएन । तिर्सना मेट्न भ्रमण गरेँ फेसबकुको पाखा–भित्ता ।

भर्खरै दशैं ,तिहार र छठ जस्तो ठुल्ठुला चाड पर्व सकिएको थियो । पोहोर साल आफैले राखेको भाकालाई पूरा गर्न नसकेर आफूसँगै आफू लज्जित थिएँ । दशैंको बेला आमाले सार्‍है मन दुखाएको कुरा । अनि तिहारमा बहिनीले रुँदै भिडियो कल गरेको क्षण बितेको धेरै दिन भएको थिएन ।

फेसबुकको भित्ता स्क्रोल गर्दै हेर्दै थिएँ । बहिनीले फोटो ट्याग गरेकी रहिछ । क्याप्सन लेखेको रहेछ, मिस यु दाई । भाईटिका गर्दै गरेको फोटोहरु सुन्दर थियो । दुई भाई र एउटी बहिनीको । सँगै थालीमा मेरो लागि उनेको मखमली फूलको माला थियो । पुजा थालीमा सप्तरंगी टीका । तर म थिइनँ । र, त मचाहिँ अटेको थिइनँ त्यो फोटोमा । भाइटिकाको दिन बहिनीले रुदैं कल गरेको सम्झेँ । दशैंमा आमाले दशमीको दिन भिडियो कलमार्फत दिएको आशिर्वाद सम्झेँ ।

बहिनीले रहर मिसाएर गाँसिएको माला लाउने चाहना हुँदाहुँदै, आमाको हातले बनाएको खाना खाएर परिवारसँगै बसेर रमाइलो गर्ने मन हुँदाहुँदै म किन यसरी अरुको देशमा हड्डी घोटेर रगतपसिना बेच्न बाध्य छु भनेर आफुले आफैलाई प्रश्न गर्न मन लाग्यो । बिना उत्तरको प्रश्नहरुको चाङ्गको पहाड छ भन्दा फरक नपर्ला । मभित्र आक्रोसको प्रश्न थुप्रै छ । मभित्र आशाको प्रश्न छ । निराशाको प्रश्न छ । बिडम्बना, मेरो मनको प्रश्नको उत्तर दिने कस्ले हो ? थाहा छैन ।

फेसबुक चलाउँदै गर्दा उता परिवारको मान्छेले अनलाइन देखेछनश क्यारे । फ्याट्ट कल गरे । म पनि फ्रि नै भएकोले कल रिसिभ गरेँ । मसँग बोल्न बहिनी र आमा तछाडमछाड गर्दै गरेको देख्दा मेरो आँखा आँशुले भरियो, मप्रति दर्शाएको मायाभाव देखेर । आमा नै फस्ट हुनु भो मसँग बोल्न । आमा भनेको आमा हो ।

‘बाबू ! कस्तो छ तिमीलाई ?’

‘आमा ! ठिकै छु। अनि तपाईंलाई कस्तो छ ?’

‘मलाई पनि ठिकै छ। तर मन दुखेको छ मेरो । पोहोर यसपालीको दशैमा आउँछु भनेर नआएकोमा ।’

‘के गर्नु आमा ! छुट्टी मिलेन । अरुको ठाउँ अरुले भनेको मान्नै पर्‍यो ।’

‘खाना खायौ ?’ आमा सोध्दै हुनुहुन्थ्यो ।

‘बेला भएको छैन’, मैले भनेँ ।

बहिनीको पालो । बोली, ‘दाइ ! यसपालीको तिहार पनि पोहोर जस्तै नरमाइलो भयो । आगुङ्ग सालचाहिँ पक्कै आउनु पर्छ नि ।’

मैले हुन्छ मात्रै भनेँ । अरु केही बोलिनँ ।

फेरि आमा आउनु भो बोल्न, ‘बाबू ! तलाई थाहा छ ? चुनाव हुँदैंछ रे नि । हिजो भर्खरै हाम्रो घरैमा आउनु भएको थियो ठूलो नेता र साथमा कार्यकर्ताहरु । मैले पहिले कहिले देखेको थिइनँ । आएर मीठो कुरा गर्दै थिए । छोराछोरीको बारेमा सोधपुछ गर्दै थिए । के के विकासको कुरा पनि गर्दै थिए । तर मैले बुझिनँ। अब तिमी फर्के हुन्छ । उनीहरुले भनेको, खोइ के रोजगार हो कि सोजगारको ग्यारेन्टी गर्छौं । कुनि के पत्र भन्दै एउटा सानो किताब छोडेर गा’को छ ।’

बहिनी आमाको छेउबाट बोल्दै थिइ, ‘दाइ ! पत्र-सत्र होइन, आमाले भन्न नजानेको हो । हिजो उहाँहरुले छोडेर गएको विकासको खाका कोरेको घोषणापत्र हो दाइ ।’

‘त्यसैले बाबू फर्किहाल्नु । पर्दैन अरुको देशमा बस्न । आफ्नै ठाउँमा सुखदुःख गरि बाँचौला’, आमाले भन्नुभयो ।

म छक्क परेँ आमाको कुरा सुनेर । खुशी लाग्यो, उत्साह र उमंगमिश्रित आमाको मीठो सन्देश सुनेर । जिन्दगीको डाडाँपारी पुगिसकेको मेरी आमासँग यसरी पहिले पनि पटकपटक नबोलेको होइन । बोलेकै थिएँ । तर यसरी खुशी भएको संभवत पहिलो पटक देख्दैछु ।

खुशी हुनुको कारण थियो । उनको छोरा म अब उनीसँगै बस्छ, काम गर्न विदेश जानू पर्दैन भनेर ।

सोझी मेरी आमा झण्डै सत्तरी बर्ष पुग्न आँटेकी । चुनावताका नेताले बोलेको कुरामा विश्वस्त बनेकी । नेताले भनेजस्तै । टाढाको अर्काको देशमा नेपाली रगतपसिना सस्तो श्रमबजारमा लिलाम गर्दै गरेको छोराछोरी फर्किन्छ भन्ने कुरामा ढुक्क भएकी मेरी आमालाई के थाहा राजनीति गर्ने मान्छेको बहुरुपी रंगबारे ।

मलाई सोध्न मन लागेको थियो, ‘आमा अघिल्लो चुनावमा घर–घरमा ग्याँसको पाइप जोड्छु भनेको थियो, जोड्यो ग्यासको पाईप भनेर ।’ तर मैले सोधिनँ र आमाले पनि भन्नु भएन ।

त्यस्तै घोषणापत्रमा लेखेर देख्दै गरेको सपनाको महासागरमा कुदिरहेका नेपाली झण्डाजडित पानीजहाजमा चढेर तिम्रो लागि दोबाटोमा अलमल परेको परदेशी जिन्दगीको कथा लेख्दैछु आमा भन्न मन लागेको थियो । तर मैले भनिनँ । आमाले पनि सोध्नु भएन ।

बार्षिक बजेटभन्दा धेरै ऋण बोकेर घिस्रिदै गरेको खोक्रो राष्ट्रिय अर्थतन्त्रको कुरा गर्न मन लागेको थियो आमासँग तर गरिनँ । गरेर के फाइदा, के थाहा उनलाई त्यो बारेमा । के चासो उनलाई त्यो बारेमा । कौवालाई बेल पाक्यो, न हर्ष न विस्मात भनेजस्तै ।

तिम्रै जस्तो लाखौं छोराछोरी निर्यात गरेर आयात भएको रेमिट्यान्सले ढल्न आटेको अर्थतन्त्रलाई थांग्रा बनेर टेको दिएको कुराबारे बहस गर्न थियो । बिचरी सोझी आमालाई यस्ता कुरा गरेर रनभुल्लमा पार्ने दुस्साहस गरिनँ ।

खासै राजनीतिदेखि टाढा बस्न लाग्ने मलाई आमाको कुराले निकट विगतमा मेरै जिन्दगीले भोगेका देखेका राजनैतिक बहुरुपी रंगमा मिसिन विवश तुल्यायो । २०४६ सालमा प्रजातन्त्र आएयता आधा दर्जन त्यस्तो घोषणापत्रहरु पाएको छु । पढेको छु । घोषणापत्रमा लिपिबद्ध भएको कुराहरु आधा मात्रै पूरा गरिदिएको भए आज देश विकसित मुलुकमा गनिन्थ्यो होला । आज नेपालको नेपाली विश्व बजारमा सस्तो श्रमिकको रुपमा खपत हुनुको साट्टो मेड इन नेपाल लेखेको थोक वस्तुहरु बिक्री हुँदै गरेको हुन्थ्यो होला । जसरी बंगलादेशमा बनेको कपडाहरु विश्वको चर्चित ब्राण्डको साथमा मेड इन बंगलादेशको ट्याग भिरेर बिक्री हुँदैछ ।

कति मिठा हुन्छन् घोषणापत्रमा लिपिबद्ध सुन्दर अक्षरका हरफहरु । वाक्य हरु। हामी यसो गर्छु । उसो गर्छु । डाँडाको फेदीमा बगेको खोला अहिले भर्खर आँगन छेउको धारामा ल्याई पुर्‍याउँछु । बाटोको आकृति नकोरेको डाँडाडाँडामा पिच गरेको सडक बनाउँछु । खडेरीले डढेको खेतबारीमा बग्दै गरेको नदीलाई नहर बनाएर हराबरा बनाईदिन्छु । पसिनाको सुगन्धदेखि टाढै रहने सुकिला नेतारुपी महामहिमहरु चुनावताका गोबरको दाग नपखालिएको गोडालाई ढोग्ला झैं गर्छन् । चुनावताका फूलबुट्टा भरेको कुरा गर्न नथाक्ने नेताकार्यकर्ताको कुरामा मौरी नै झुक्किएर झुम्मिएला कि भनेर डर पो लाग्छ, फूल सम्झेर ।

आमा र बहिनीसँग गर्दै गरेको वार्तालापले मलाई निकट विगतको राजनीतिक पार्टीले लेखेको घोषणापत्र सम्झन बाध्य बनायो । सम्झेर मलाई फाईदा पुर्‍यायो या घाटा त्यो जिम्मा समयलाई नै सुम्पेँ । तर म खुशी भएँ आमासँग बोल्न पाएर, आमा र बहिनी खुशी भए मसँग बोल्न पाएर । आमा झनै खुशी मजस्तै धेरै छोराछोरीका लागि घोषणापत्रमा लिपिबद्ध भएको स्वरोजगारको कुराले ।

मेरी आमाजस्तै थुप्रै आमाहरुको भावनासँग खेलेर लोकप्रिय कुरामा भुलाएर जनतालाई भोट बैंक मात्रै बनाएको नराम्रो । जनताको जिन्दगीलाई सफल पार्दै जनताको आवश्यकतालाई पूरा गरे, देशलाई समरिद्धिको बाटोमा डोर्‍याए इतिहासले तिनका नाम लेख्नेछन्, जस्ले राम्रो कर्म गर्छन् ।

राज्यको आर्थिक स्थित त्यति मजबुत छैन । यसको मतलब खर्चको डरले आवधिक चुनाव नै झिसमिस गर्ने कुरा हुँदैन । चुनाव लोकतन्त्रको सुन्दरता हो । आफुले चाहेको प्रतिनिधि छनोट गरेर पुग्नु पर्ने ठाउँमा पुर्‍याएर देशको भाग्य र भविष्य बनाउने हो । राम्रो निति, थिति र विधि बनाएर सुन्दर भविष्यको निर्माण गर्ने बेला हो ।

गौमाताजस्ती सुधी सोझी मेरो आमा खुशी छिन्, आफुबाट टाढाको रहेको छोरा छिट्टै आफ्नो छेउमा फर्केर आउने कुराले । बाह्र पास गरेर डिभी भरेर अमेरिका पुग्ने भाग्य पर्खिरहेको छोरी आफुबाट टाढा नजाने कुराले । किनभने, आज उनको हातमा चुनावअगाडि छापिने गरेको घोषणापत्र छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button