
हजुरआमा ! जिन्दगीमा तपाईंको अभाव खड्किरहने छ

अन्तिम स्पर्श हजुरआमासँगको
बसन्ता पोख्रेल
धुर्कोट-१, नयाँगाउँ, गुल्मी
सबैभन्दा पहिला हार्दिक श्रद्धाञ्जली हजुरआमा ।
निकै सताउथेँ हजुरआमालाई । हुन् त प्राय नातिनातिनीलाई आफ्नो हजुरबुवा, हजुरआमा प्यारो लाग्छ भने हजुरबुवा, हजुरआमालाई पनि नातिनातिनाको निकै माया । त्यसैले त फुलफूलमा हुर्काएर राखेका हुन्छ्न् ।
मलाई आज अन्तिम पटक हजुरआमालाई विदाई गर्दा मनले मानेन तर गर्नु पर्ने नियमलाई पनि तोड्न कहाँ सकिन्छ र । बाल्यापनदेखि अहिलेसम्म उहाँसँग यसरी बित्दै थिए दिनहरू कि जिन्दगी खुसीमा बितिरहेको थियो । तर पहिलो पटक आज निकै पीडा भयो मलाई, मानौं मुटु नभएर सास फेर्न गाह्रो भएजस्तो । शरीर गलेर निकै कमजोर बन्यो, शरीरको शक्ति खस्दै गयो । म नजिक भएर पनि समयमा सास भेटाउन नसक्दा पीडा अनि पछुतो भयो । मलाई के थाहा ? भगवानले यसरी छिटै बोलाउदै थिए भन्ने ।
म देख्न र भेट्न भनेर गाडी चढेँ । मलाई हतार थियो, हजुरआमासँग साथमा हुन् तर नपुग्दै केही समयअघि नै बहिनीको कल आयो, कहाँ आइपुग्नु भयो ? त्यहीँ बस्ने कि आउने यहाँ ? रिडी आउने तयारीमा छौं अब हामी ।
त्यो खबर सुनेपछि मेरा हात काँप्दै थिए । गाडीको अन्तिम सीटमा आकाशदेखि पानी वर्षिए जस्तै गरेर आँसु खसे । आकाश गर्जिएर चट्यान परे जस्तो मेरो मन् मस्तिष्कमा चट्याङ पर्यो । तर मलाई अब हजुरआमालाई देख्न हतार थियो । म उहाँसँग पुग्न निकै आतुर थिएँ । गाडीले केही नजिक छोडे पनि हिँड्न सक्ने अवस्था नभएपछि बाइकमा छोड्न अनुरोध गरेकी थिएँ मैले भिनाजुलाई । मेरो अनुरोध सहजै स्वीकार्दै मलाई बाइकमा छोड्नु भयो घरदेखि केही वरसम्म । त्यहाँसम्म त मलाई सपना जस्तो अनि होइन कि जस्तो लागेको थियो । लाइनमा थिए धेरै मान्छे, म मान्छेको भीडसँगै अघि बढ्न खोजेँ तर सकिनँ ।
शरीर कमजोर भएर त गलाएको थियो नै, अझ खसे आँसुका ढिक्का । म बाटो देख्न कोसिस गर्दै एक हातले सानो ब्याग अर्कोले आँसु पुछ्दै पुगेँ । जब म हजुरआमाको नजिक पुगेँ मेरो भित्रभित्रै रुँदा निस्केको सिक्कसिक्क आवाज फुटेर बाहिर आयो । म रुँदारुँदा मुख सुकेर अब आँसु सकिन थालेछ । मलाई भित्र धकेल्दै सम्झाउनेको लस्कर थियो । तर दिल खोलेर आफै आउँदो रैछ आँसु । कहाँ रोक्न सकिन्छ र बगेको खोला ? त्यसरी नै रोकिएन आँसु ।
मेरो रुवाई न हजुरआमासँग पुग्यो, न भगवानसँग । आफूलाई निकै सम्हाल्ने कोसिस गरेँ । म नै कमजोर भएँ भने घरका सबै सदस्यको स्वास्थ्य समस्या बिग्रदै जान्छ । मैले रुनलाई कि एकान्त ठाँउ खोज्न पर्ने थियो कि त रोएको आँसु लुकाउन मुहार पखाल्नु पर्छ भनेर सोही अनुसार आफू समालिँदै गएँ । जिउँदो हुँदा पो हो, मरेपछि त्यही मान्छे धेरै बेर कहाँ राख्न सकिने रहेछ र आँगनको बीचमा । बाँस काटेर अब लाश राखेर अबिर लगाइदिने कार्य हुँदै थियो, त्यही बेला अन्तिम पटक टीका र आफ्नो अभिवादन गर्न मन मानेन तर गरेँ अनि एक हातले माथि उठाउँदै काँधमा त्यो शरीर बोक्दै थिएँ, मलाई लागेको थियो, यो लाश होइन अब हजुरआमालाई स्वर्गमा राख्नको लागि बोक्दै छु । सायद म मरेको शरीरसँग पहिलो पटक होला नजिक भएर हेरेको बोकेको अनि मलामी बनेको ।
अन्त्यष्टीको लागि ल्याउने बेला हरेक पल गाडीमा याद गर्दै आएँ, हरेक बालापनको हजुरआमासँग बिताएका पलहरु । हजुर बुवाको मुहार बाबाले त याद गर्नु हुँदैन, हाम्रो लागि कुनै पनि महसुस भएन तर हामीलाई हजुरबुवाको सम्म कति पनि कमी महसूस गर्न दिनु भएन । भौतिक रूपमा नजिक भएर केही मिनट ढिलो हुँदा आज निकै दुःख लाग्यो । याद छल्किरहेको छ, घरमा मकैको आटो पाक्दा मेरो लागि मलाई मन पर्दैन भन्दै उहाँले नै भात पकाएर दिनु हुन्थ्यो । उहाँलाई सताउन खाना थोरैथोरै मागेर हैरान बनाउने हामी अनि माइतदेखि आउने दिन छिट्टै काम सकेर केही परसम्म लिन पुग्थ्यौं ।
सुत्नको लागि झगडा हुने गर्थ्यो, को सुत्ने हजुर आमासँग । कथा सुन्न हामी निकै सताउने र सुन्दा सुन्दै निदाउने गरेका दिन । उहाँको मुहारमा गाली र रिस कस्तो हुन्छ देख्न नि पाइनँ ।
तपाईं माइत जाने दिन चप्पल लुकाएर राख्ने अनि गएपछि रुँदै रुँदै फर्कने गरेका याद झल्झल्ती आइरहेको छ । आज सधैंको लागि जाँदा कहिले नदेख्ने गरी अब कसरी न्यास्रो मेट्ने हजूरआमा ? अस्पतालमा आफ्ना सुन्निएका हातले मलाई स्पर्श गरेको याद आइरहेको छ । अब त निको हुन्छ भनेको र निको हुने आशमा बितेको थियो तपाईंको दिन । आखिर त्यही अस्पतालको भेट अन्तिम भयो, तपाईं बोल्नेसम्म ।
हुन त आज जीवित नरहे पनि मैले चितामाथि राख्नसम्म स्पर्श गरेकी थिएँ । झल्को लाग्छ, बाहिरी दलानमा बस्दै हुनुहुन्छ कि जस्तो, म सपनामा छु जस्तो तर यो हुन सकेन । अब कामना यही कि स्वर्गमा बास होस् ।
तपाईंको कमी सधैं हुनेछ । जिन्दगीमा अभाव खड्किरहने छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



