
सन्तति: व्यक्ति कि सम्पत्ति ?

सरिता शर्मा ‘शैली’
हाम्रो समाजमा सुन्ने गरिन्छ ‘मेरा त सम्पत्ति भनेकै यिनै सन्तान हुन् । यिनकै लागि जीवन, धन सबै लगानी गरियो, यिनीहरुकै पालन पोषणको जिम्मेवारी लिइयो, अब भविष्यमा यिनीहरूले नै हाम्रो जिम्मवारी लिन्छन् ।’
त्यसो भए हामीले सन्तान आफ्नो भविष्य सुरक्षित गर्न जन्माएका अनि हुर्काएका रहेछौँ हैन त ?
‘हो नि जन्माई हुर्काइ गरेपछि त बाबुआमाको जिम्मेवारी लिनु सन्तानको कर्तव्य हो ।’
म जब-जब यस्तै प्रकारका कुराहरू सुन्छु, मेराे मनमा अर्कै किसिमको विचार आउन थाल्छ ।
पहिलो सोच- के सन्तानले ‘मलाई जन्माउनु’ भनेर निवेदन दिएका हुन्छन् र हामीले जन्म दियौं भनेर बारम्बार उल्लेख गर्नलाई ? हामी त केवल माध्यम हौं नवमानवलाई संसारमा ल्याउने । प्रकृति को नियमलाई निरन्तरता दिएको मात्र हो । हामीबाट नभए अरू कसैबाट उनीहरुको जन्म हुन्थ्याे हाेला । किनकी कसैले चाहना गर्दैमा सन्तान जन्मदैनन् नत्र सन्तान चाहना गर्ने कतिपय दम्पति निसन्तान हुनु पर्ने थिएन ।
दोस्रो सोच- आफ्नो शरीरको माध्यमबाट आएका नवमानवलाई हेरचाह, स्याहार सुसार गर्ने, हुर्काउने बढाउने, पढाउने र आफ्नो खुट्टामा उभिन सक्षम बनाउने जिम्मेवारी त हामीले लिनु पर्छ नि, हैन र ?
तेस्रो सोच- हुर्कि बढिसकेपछि उनीहरुको पहिचान हाम्रा सन्तानको रुपमा मात्र सीमित रहँदैन । उनीहरू एक स्वतन्त्र ब्यक्ति बनी सक्छन् । हाम्रो माध्यमबाट आएका ती मानवहरुको आ-आफ्नै अलग ब्यक्तित्वको विकास भइसकेको हुन्छ । त्यो मानवको आफनै प्रकारको सोच विचार विकास भैसकेको हुन्छ । जीवन र जगतलाई हेर्ने आफनै दृष्टिकोण बनिसकेको हुन्छ ।
समस्या यहीँबाट सुरू हुन्छ । समयक्रमसँगै सन्तान हुर्किसकेका हुन्छन् तर आमाबाबुको सोच हुर्कन सकेको हुँदैन । उनीहरू आफूले चाहे अनुसार सन्तान चलोस्, गरोस् भन्ने चाहन्छन् । जबकि सन्तान आफ्नो सोच र शैलीमा जीउन चाहन्छ । दुई पुस्ता बीचको तनाव यहीँबाट सुरू हुन्छ ।
हुर्केका सन्तानको एक अलग दुनियाँ बनिसकेको हुन्छ । उनीहरू आफ्नो इच्छा, चाहना अनुसार स्वतन्त्रतापूर्वक काम गर्ने र जीउने अवसर खोजिरहेका हुन्छन् । यस्तो अवस्थामा आमाबाबुले जरूरत भन्दा ज्यादा देखाएको माया उनीहरुका लागि बन्धन र कचकच लाग्न सक्छ । यहाँ दुबै पक्षले समझदारीपूर्ण तरिकाले व्यवहार गर्नु पर्ने हुन्छ । दुबै पक्षले एक अर्काको स्वतन्त्र अस्तित्व र व्यक्तित्वको सम्मान गर्न सक्नुपर्छ । ‘आमाबाबु र सन्तान’को अलावा सबैको अरू पनि धेरै परिचय र पहिचान हुन्छ । दुबै पक्षले एक अर्काको अन्य सामाजिक भूमिकाको कदर गर्न सक्नु पर्छ । बिशेष गरी पुराना पुस्ताले आफ्नो पुरै ध्यान (full focus) सन्तानमा केन्द्रित गर्नु भन्दा अन्य सामाजिक र सिर्जनात्मक गतिविधिमा आफूलाई ब्यस्त राख्नु राम्रो हुन्छ ।
अब कुरो गरौं आर्थिक पक्षको, सन्तान हुर्काउने क्रममा अधिकांश आमाबाबुले आफ्नो सर्वस्व उनीहरुका लागि लगानी गरिएको हुन्छ । स्वाभाविक नै हो, जहाँ लगानी गरिन्छ, त्यहाँबाट प्रतिफलको अपेक्षा पनि राखिन्छ । सम्बन्धमा समस्याको मूल जड यही वन्न पुग्छ । यहाँ लगानी धनका साथै उमेर, ऊर्जा आदि सबैको भएकाे हुन्छ । आफ्ना रहर, इच्छा सबै पन्छाएर ‘मेराे सन्तान , मेरा छोराछोरी’को रट लगाएर उमेरको पाँच दशकको हाराहारीमा पुगिसक्दा शरीरको तीनटै पक्ष कमजोर भइसकेको हुन्छ । तीन वटा पक्ष जस्तै, अङ्ग्रेजी भाषाको स्वर वर्णका पाँच अक्षर A E I O U मध्ये अघिल्ला तीन A E I अर्थात्
A- age उमेर, आयु
E- Energy ऊर्जा, शक्ति
I- Income आय, आम्दानी
माथिका सबै लगानी गरिसकेपछि आफूले सोचे जस्तो प्रतिफल प्राप्त हुन सकेन भने एक अर्का प्रति गुनासो बढन सक्छ अनि पूरानो पुस्ताले आफूलाई O र U अर्थात
O- Outdated समय सकिएको र
U- Unwanted नचाहिएको, फाल्तु जस्तो अनुभव गर्न थाल्छ ।
त्यसो भए के गर्ने त ?
समय बाँकी रहँदा नै अर्थात् उमेर, ऊर्जा र आम्दानी बाँकी रहँदा नै आफ्ना रहर र चाहनाहरूप्रति पनि ध्यान दिने गरौं । किनकी आफ्ना इच्छा आफनै शक्ति र सम्पत्तिले पूरा गर्ने हो, अरूले गरिदेला भनेर आशा गर्ने होइन रहेछ । समय रहँदै आफ्नो भविष्यका लागि पनि सञ्चय गरौं ताकि कसैसामु हात पसारेर आर्थिक सहयोग माग्न नपरोस् । आम्दानीका विविध स्रोतहरू तयार गरी राखौँ ।
अर्को मुख्य कुरा, हामीले सञ्चय गरेर राखिदिएको सम्पत्तिले सन्तानलाई सधैं भरी पुग्ने होइन । त्यसैले उनीहरूलाई आफ्नो लागि आफै कमाउन सक्ने गरी सक्षम र मेहनती बनाऔं । अरूको आर्जनमा आशा गर्ने आशामुखी नबनौ र नबनाऔं । आफ्नो पौरखले जे जति कमाउन सकिन्छ त्यसैमा रमाउन सिकौं र सिकाउँ । हामीबाट पनि सन्तानले आत्म निर्भरताको ज्ञान र सक्षमता सिक्न सकुन् । अरूले कमाएको धनमा आँखा लगाउने हैन, आफ्नो पौरखमा इज्जत र गर्वका साथ जीवनयापन गर्न सक्ने बनौ र बनाऔं ।
एक अर्काको खुशीमा खुशी हुन सिकौं। एक अर्कालाई समस्या पर्दा ” म छु नि” तिमी एक्लो छैनौं ” भन्न सकौ। मनलाई साँगुरो नबनाऔं। ठूलो मन र फराकिलो सोच लिएर बाँचौं।
(यो मेराे निजी विचार र जीवन यापन गर्ने शैली हो । यसमा पाठकहरुलाई के कसो लाग्छ ? यहाँहरुको पनि विचार र प्रतिक्रिया पाउँ है!)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)