
त्यो ‘हिप्पी एन्ड ह्यासिस्’ अखडा, जहाँ म सोह्र बर्ष बसेँ

रितु शाक्य
काठमाडौंको वसन्तपुर क्षेत्रको दक्षिणपट्टि लगन जाने बाटोमा पर्ने पुरानो नेवार बस्ती हो झोछें । स्थानिय नेवार समुदायको बाहुल्यता रहेको छ र उनीहरुत्यहाँ परापुर्वकालदेखि बस्दै आएका छन् । तर आजभोलि त्यहाँ नेवार औंलामा गन्न सकिने मात्र छन् । झोछेंको शाब्दिक अर्थ लहरै भएको घर हो । हुनसक्छ पहिले जनसंख्या धेरै नहुँदा पनि त्यो इलाकामा नेवारहरुको बस्ती बाक्लो भएर झोछें नामकरण गरिएको होला ।
मेरी फुपुको घर पनि झोछेंभन्दा अलिमाथि छ । मलाई बुवाले बच्चामा धेरै पटक भाईपूजामा फुपूको घरमा लानुहुन्थ्यो । मलाई त्यो समय झोछें खुबै मन पर्थ्यो । किनकि त्यहाँ काठका कठपुतली, मुखौटालगायत विभिन्न हस्तकलाका सामानका पसलहरु धेरै हुन्थे । पुरै बस्ती नेवार, त्यहिँमाथि सबमा भाइचाराको शुद्धभाव, सेवा सहयोग गर्नमा तल्लिन, सबै एउटै परिवारजस्तो मेलमिलाप र सुमधुर सम्बन्धले भरिपुर्ण थियो । म त्यहाँ जाँदा सबैले मायाले बोल्न आउँथे ।
मेरी फुपुले मलाई छोरी झैँ धेरै माया गर्नु हुन्थ्यो । मलाई आफ्नो आँखा अगाडि देखियोस् भनेर आफ्नै छिमेकीमा मेरो बिहेको कुरा चलाउनु भो र राजी खुशीसाथ बिहे पनि धुमधामसँग भयो । झोछेंमा म करिब १६ बर्ष बसें । पछि २०७२ सालको भुकम्पपश्चात त्यहाँबाट हामी अन्तै सर्यौं ।
फुपुले सुनाउनु हुन्थ्यो कि पहिले ९० सालको भुकम्प जाँदा त्यहाँ धेरै घरहरु भत्केर धेरै जनधनको नोक्सान भएको थियो रे । भुकम्प आउँदा जमिन कहिले फाटिन्थ्यो र कहिले जोडिन्थ्यो रे । त्यो बेला मान्छे त्यहाँ फसेका पनि थिए रे । एकदम भयावह बनेको थियो रे त्यो समय । फुपुको आफन्तजन पनि त्यही बेलामा बित्नु भाको थियो रे ।
पछि त झोछें फ्रिकस्ट्रीटको नामलेल चर्चित भयो, जुन भएभरका हिप्पीहरुको अखडा बन्यो । हिप्पीहरु त्यहाँ खुल्लमखुल्ला रुपमा नशाजन्य गाँजा, तम्बाखु खान, मोजमस्ती गर्न आउन थाले । सरकारबाट लाइसेन्स प्राप्त पसलहरुले खुल्ला रुपमा बिक्रि वितरण गर्ने गर्थे ।
अहिले त पुरानो बस्ती सखाप जस्तो भएको छ । नयाँ गगनचुम्बी होटेल, भवन, लज, गेस्ट हाउस, रेस्टुराँ, भट्टी, क्याफे मात्र देखिन्छ । त्यो ठाउँ कस्तो थ्यो, कस्तो भयो ।
तैपनि धेरै कुरा राम्रो पनि नभएको चाहिँ होइन । त्यहाँ अहिले पस्मिना खास्टो, हस्तकलाका विविध सामान, विभिन्न चियापत्ती, काठका खेलौना र मुखौटा, हातबाट बनाइएका चाँदीका विविध गरगहना, पुराना ऐतिहासिक सामाग्रीहरुको राम्रो व्यापार हुने गर्छ । त्यस ठाउँ अहिले पर्यटनको हिसाबले राम्रो मानिएको पनि छ ।
त्यहाँ घन्टाकर्णलगायतका संस्कृतिलाई पर्याप्त जगेर्ना गर्न सके अझ पर्यटक भित्रिने थिए । हामी सबैले यस बिषयमा सोच्नुपर्ने देखिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




रितु शाक्य वहिनिले झाेछेंबारे अाफनाे िवगतकाे अनुभव सुनाउनु भएकाेमा हािदर्क अाभार ।