
‘तेरो बाउ अपुत्र हो, त्यसैले दाजुभाइलाई टीका लाउन पाएका छैनौ’
अपुत्र मेरा बा !
ऋतु श्री क्षेत्री
खोटाङ
अनेकौं अनुत्तरित सवाल छन् मसँग तर कोसँग गरौं ? अन्योलमा छु ।
छोरीको शरीर लिएर के जन्मेकी थिएँ मेरा हरेक सपना र आवाज दबाउन कुनै कसर बाँकी छाडेन यो समाजले ।
म ५ बर्षकी थिएँ । मलगत्तै जन्मिएकी बैनी २ पूरा पुगेर ३ लागेकी मात्र थिई । मेरी आमा फेरि गर्भवती थिइन् । दिदी, म, बैनी र एक अर्की मृत दिदीसहित मेरी आमाले हामी ४ छोरीलाई जन्म दिई सकेकी थिइन् र यसपाली उनी पाँचौ पटक गर्भधारण गर्दैथिइन् । हामी छोरी–छोरी भएकाले मेरा छरछिमेक र आफ्ना भनौँदाहरु मेरा बाको दोस्रो बिबाह गराउन हात धुएर लागी परेका थिए । आज पनि राम्रैसँग याद छ, म ५ बर्षकी बच्चीलाई मेरा एक छिमेकीले भने, तेरो बाउलार्इ अर्को बिहे गर भन्दा मान्दैन, यसपाली पनि तेरी आमाले छोरी नै जन्माउँछे, अपुत्रै रहने भयो तेरो बाउ ।
अपुत्र शब्दले मेरो त्यो बालमस्तिष्कमा नमज्जाले चोट पुर्यायो । मनमा कयौँ सवाल भने नउठेका हैनन् । बा अपुत्र नै छन्, त्यसो भए हामी छोरी कस्का सन्तान रु के हामीलाई आमाले नौ महिना पेटमा राखेकी हैनन रु के हामीलाई ढुङ्गामा रातोमाटो दलेर निकालिएको हो त रु के म छोरी हुनु मेरा बाको पुर्वजन्मको कुकृत्यको फल हो त रु विडम्बना बोल्न भने सकिन । मेरो त्यो बाल मस्तिष्कले न त कुनै सवाल गर्न सक्यो न त कुनै जवाफ दिन नै ।
हो, त्यो दिन पहिलो पटक तीन जिवित छोरीका बाबु भएर पनि अपुत्र बने मेरा बा । बैरी कोख भएकी अल्छिना बनिन मेरी आमा अनि त्यही दिन मेरा सारा बालसपनाको पनि मेरै आँखा अगाडि बेमलामी लास जल्यो ।

त्यो बेला मेरो समाजले हामी तीन तीन जिवित छोरीलालाई मेरा बाका सन्तानको रुपमा स्विकार गरेन र उनलाई अपुत्र कै उपनाम दिई रह्यो । मेरा बाले लामो समय नै अपुत्रको श्रीपेचलाई बाध्यतावस् स्विकार गर्नै पर्यो ।
मलाइ अझै याद छ, तिहारमा म केवल ५ बर्षकी बच्चीलाई मेरा आफ्ना भनौँदाहरुले मलाइ तेरो बाउ अपुत्र हो, त्यसैले आज तिमरुले दाजुभाइलाई टीका लाउन पाएका छैनौ भनेर रुवाएका थिए ।
यस्पाली पनि तिहार आयो । विगत १५ बर्षदेखि मैले मेरो भाइलाई टीका लगाउन पाएकी छु तर ती आफ्ना भनौँदाहरुका तिखा बचनले भने अझै पनि घोच्न छोडेको छैन ।
आज मेरा बा पुत्रवत बनेका छन् । पाँचौ गर्भधारणपश्चात् मेरी आमाको कोखले पनि बैरी उपनामबाट मुक्ती पायो । विडम्बना, बेमलामी लास भै जलेका मेरा ती बालसपनाले भने अझै पनि उन्मुक्ती पाएका छैनन् । यो समाज आज पनि हामी अनगिन्ती छोरीहरुलाइ सहृदयले मानवको रुपमा स्वीकार गर्दैन । गर्छ त केवल सवाल । हो, त्यही पुरुषत्त्वको सिंहले गाँजेको समाजलाई आज मेरो एउटा सवालः जुन छोरीलाई हिजो एउटा सन्तानको रुपमा स्वीकार गर्न नसक्ने तपाइलाई आज उसैका प्रत्यक पाइलामा सवाल गर्ने अधिकार कस्ले दियो ? के एक छोरीलाई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार छैन ? उस्को आवाज जहिले दबिनु नै पर्ने ? उस्लाई बोल्ने अधिकार छैन ?
आज कान सफा गरेर मेरो एउटा जवाफ सुनोस् यो समाज, हिजो एउटी छोरीलाई उसैका बाउको सन्तानका रुपमा स्वीकार गर्न नसक्ने यो समाजलाई आज उसैका बारेमा सवाल गर्ने कुनै पनि अधिकार छैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



