
दुई सन्तानकी आमालाई कुमार केटोले बिहे गर्नु चानचुने कुरा थिएन

सत्यकथा
रितु शाक्य
कक्षा आठ पढ्दै गर्दा मीराको मन मोहनसँग बस्न जान्छ । किशोरावस्थाको त्यो चञ्चलता र अविकसित मस्तिष्कले गलत निष्कर्ष लिन पुग्छ, भागेर बिहे गर्छन् । माया प्रेमको आनन्दमा रमेर जिन्दगीको यथार्थ नबुझी लिएको कदमले दुवैलाई कठिन मोडमा लान्छ ।
बिहे त भयो तर एउटा नेवार समुदायको केटोको परिवारले क्षेत्री समुदायको दुलहीलाई सहज स्वीकार्न सक्दैन । अलग बस्छन् । जीविका त चलाउनु थ्यो । शारीरिक सम्बन्ध र माया प्रेम गरेझै जीविका चलाउनु त्यति सजिलो कहाँ हुन्थ्यो र ? जीवनको त्यस्तो मोडमा दुवैले जानेका काम गरेर पैसा कमाउँदै जीविका धान्न थाल्छन् ।
१६ वर्षको कलिलो उमेरमा मीरा आमा बन्छिन् । धन्न, मोहनले सरकारी जागीर पाउँछन् र अलि आर्थिक अवस्था ठीक हुन्छ । जवानीको जोशमा होस् हराउँदा दुवैले आफ्नो जिन्दगी समस्या र दुःखमा बिताउन बाध्य हुन्छन् । पहिलो बच्चा २ बर्ष हुँदा फेरि मीरा गर्भवती हुन्छिन् । फेरि अर्को सन्तान जन्मन्छ । दुई सन्तानकी आमा १८ वर्षमा ३८ की देखिन्छिन् । भद्दा तर कमजोर शरीरमा न जोश न जाँगर न त त्यो सुन्दरता नै बाकी ? घर गृहस्थी र बालबच्चाको स्याहारसुसारमा मीरा आफ्नो स्याहार गर्न भुल्छिन् । बच्चाहरु स्कूल जन थालेपछि अलि हल्का महसुस हुन्छ उनलाई । बच्चाहरु चार र आठ वर्षका हुन्छन् ।
एक दिन बिहानै मोहन चिया खान नआएपछि मीरा कोठामा बोलाउन जाँदा मोहन लडिरहेको देख्छिन् । आत्तिएर चिच्याएर सबलाई बोलाउँछिन् तर त्यतिन्जेल मोहनले संसार छोडिसकेको हुन्छ । खुट्टाबाट जमीन खस्के झै उनी बेहोस हुन्छिन् । उनको होस् आउँदासम्म पुलिसले मोहनलाई पोस्टमार्टम गर्न लागिसकेको हुन्छ । मोहनले विष सेवन गरेर आत्महत्या गरेको पुष्टि हुन्छ । किन, के कारणले आत्महत्या गरेको मीराले ठम्याउन सक्दिनन् ।
अर्को बज्रपात आइपर्छ । एउटी महिला दुई सन्तानसहित घरमा आएर अंश माग्न आउँछिन् । पुरै सबूतसहित आफूलाई मोहनको दोस्रो श्रीमतीको रूपमा दाबी गर्छिन् । लाशको दाह संस्कार नभई फेरि अर्को समस्या आइलाग्दा मीरा अवाक् थिइन् । लोग्नेको मृत्युको शोक मनाउने कि उनको विश्वासघातको रिस गर्ने ? ठम्याउन गारो हुन्छ उनलाई । आखिर श्रीमानको दाहसंस्कारपछि आधा सम्पत्ति दिन बाध्य हुन्छिन् । त्यो पनि सहेर बस्छिन् ।
सम्पत्ति को नाउँमा सानो दुईतले घर । एउटा तल्लामा आफू बस्छिन् भने भुई तल्लामा एउटा मान्छेलाई भाडामा कोठा दिन्छिन् । केहि आर्थिक समस्या हल हुन्छ भन्ने भावले होला । भाडामा बस्ने नौजवान गाउँबाट उच्च शिक्षा लिन काठमाडौं छिरेका रहेछन् । त्यही बसेर काम गर्दै पढ्दै थिए । मीराको दुःखलाई बुझेका उनले आफूले सक्दो कामकाजमा सहयोग पनि गर्थे । तर मान्छेहरूको गलत सोचले अर्को समस्या खडा हुन्छ । सबलाई उनीहरूको शुद्ध सम्बन्धमा खोट देख्न थाल्छ । एउटा जवान ठिटो एउटी स्त्रीको जालमा फसेको अफवाह फैलिन्छ । समाजले दुवैलाई नानाभाँती गालीगलौज र अपशब्द बोल्न सुरु गर्छन् । मीराका सासुससुराले नराम्ररी गालीगलौज गरेपछि मीराले सहन नसकेर आत्महत्या गर्ने कोसिस गर्छिन् । तर भाग्यवश् त्यही युवकले थाहा पाएर बचाउँछन् उनलाई । अब त्यो युवकले संकल्प लिन्छन् कि जुन समाजले यस्तो बदनामी गरेको छ, त्यो समाजलाई उनले मीरासँग साच्चिकै बिहे गरेर देखाउने ।
दुवैले बिहे गर्छन् । त्यो ठाउँ छोडेर अन्तै बस्छन् । दुई सन्तानकी आमालाई कुमार केटोले बिहे गर्नु चानचुने कुरा थिएन । तर दैवलाई पनि मीराको दुःख देखिसक्नु भएन क्यारे, जुराइदिए एउटा गतिलो सहारा । त्यपछि मीराको जीवनमा खुसीको लहर आएको छ । बिस्तारै जीवनका दुःख हट्न थालेका छन् । दुवै एक अर्कालाई बेहद प्रेम गर्छन् । एउटा कच्चा प्रेमले डुब्यो, अर्को पक्का प्रेमले मीराको जीवन उँभो लाग्यो ।
जीवन अत्यन्त समझदारीका साथ जिउनु पर्दोरहेछ । बिना सजगता बेहोसीमा जीवन बाँच्दा अनगिन्ती समस्याको दलदलमा फस्नु पर्ने वाध्यता हुन्छ भने होसपूर्ण जीवनले समस्या आउन दिँदैन । मीराले आफ्नो एउटा गल्तीले यतिधेरै दुःख कष्ट झेल्न बाध्य भइन् । जीवनका उतावचढावमा हामीले पूर्ण धैर्यता अपनाएर होसपूर्ण जीवन बाँच्ने कला सिक्न जरुरी छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



