
जसले जोड्यो ‘नेपालनाम्चा’ र ‘रचना’लाई
सदाशयताकाे अनुपम नमूना! आभार जनाउँदै
अरविन्द रिमाल
आभारका यी शब्द लेख्न बस्दा सुन्दर संयाेगका अनेक सम्झनाबाट मन स्वत: प्रसन्न भइरहेछ ।
‘नेपालनाम्चा’लाई याे व्यंग्यआलेख प्रकाशनका लागि पठाउँदा साहित्यिक प्रकाशन ‘रचना’का लागि पठाइएकाे स्पष्ट उल्लेख थियाे । ‘नेपालनाम्चा’ले अन्यथा नठानी प्रस्तुत गर्याे ! आफूले आभार जनाएँ ।
अब साेही आलेख प्रतिष्ठित ‘रचना’ले आफ्नाे ६२ ओैँ वर्षकाे अङ्क ३, पूर्णाङ्क १७८ मा प्रकाशित गरेकाे छ । सामान्य रूपमा यस्ताे हुँदैन, हुँदैहुँदैन । आलेखकाे विषयप्रति, लेखकप्रति ‘रचना’ परिवारकाे अनुमप सदाशयता नै हाे, याे । अनि यस कुराकाे उल्लेख लाेकप्रिय ‘नेपालनाम्चा’काे डबलीमार्फत् गर्न पाउँदाकाे प्रसन्नताकाे के वर्णन गरुँ !
यस व्यंग्यआलेकका प्रमुख पात्र ओलेग बेनुख याे स्तम्भकार दिल्लीमा ‘साेभियत भूमि’काे नेपाली संस्करणमा अनुवादक भई काम गर्दा साे पत्रिकाका पनि प्रधान सम्पादक थिए ! ‘रचना’ प्रकाशनकाे दुई वर्षपछि कुरा हाे कि, एकदिन उसकाे कार्यालयमा राेचक घिमिरे तथा भैरव अर्याल टुपलुक्क आए, भेट गर्न ! राेचक भाइसमान र भैरव नेपाल कम्युनिष्ट पार्टीका एक समयका सक्रियतावादी ! भलाकुसारी र पुराना रामाेञ्चक राजनीतिक जीवनकाे चर्चापछि राेचकले ‘साेभियत भूमि’ पत्रिकाकाे शीर्षक डिजाइनकाे प्रशंसा गरे । कुरैकुरामा डिजाइनर अजयकुमार शर्मालाई बाेलाएर ‘रचना’काे लागि शीर्षक डिजाइन बनाउन भनियाे ! समयमै तयार पनि भयाे, जुन अहिलेसम्म कायम छ ।
भैरव अर्याल, रमेश विकल, शक्ति लम्साल, नवराज चालीसे, अमीर मानआदि प्रगतिशील अध्ययन मण्डलका नियमित वैचारिक- वादविवाद-प्रवचन कार्यक्रमा सक्रिय रूपमा सहभागी भएपछि नेपाल कम्युनिष्ट पार्टीको काठमाडौंँ नगर समितिअन्तर्गतकाे चाबेल सेल कमिटीमा सङ्गठित हुँदाकाे कुरा हाे, याे २००८-९ सालकाे ! अनेक पटक उनीहरुले आयाेजन गरेका टाेल वा काेणसभामा याे स्तम्भकार प्रमुख वक्ता भएकाे सम्झना हुन्छ । एकपटक त पार्टी महासचिव पुष्पलालले नै भाषण गरेका थिए, चाबेल चाेकमा ! तर हाम्रा राेचकभाइ तटस्थ- स्वतन्त्र जागरुक युवा थिए– भिन्नमतावलम्बनताकाे उनकाे एकल अभियान भनुँ वा परिव्राजक यात्रा आजसम्म कायम छ, ओजस्वी रूपमा, ‘रचना’काे प्रकाशनमार्फत् !
‘भिन्नमतावलम्बनता’– याे स्तम्भकारलाई अत्यन्त मनपर्ने नाम भनाैँ वा विशेषण हाे । यता तीनवर्षदेखि अमेरिकी प्रशातन्त्रकाे दवावमा बेलायतकाे झ्यालखानमा विना अभियाेग बन्दी बनाइएका अस्ट्रेलियाई प्रकाशक-पत्रकार जुलियन असाञ्जकाे याे उद्गारपछि त अत्यन्त प्याराे लागेर उसले पनि आफ्नाे जीवन- कार्यदर्शन नै बनाएकाे छ, त्यसलाई ! ‘Non- conformity is the only real passion worth to be ruled by’, अर्थात्, जीवन ज्यूने यदि सच्चा जाेश कुनै छ भने त्याे भिन्नमतावलम्बनता नै हाे !
कुरामा कुरा चल्दा, एउटा सम्बन्धित राेचक कुरा के पनि छ भने, यिनै असाञ्जका अग्रज पत्रकार Wilfred Burchett पनि भिन्नमतावलम्बनताका कारण अमेरिकी दवावमा अस्ट्रेलियाई नागरिकता खाेसिई क्यानाडाका नागरिक हुन वाध्य भएका थिए । बर्चेटले १९४५ काे अगस्ट ६ तारिखका दिन जापानकाे हिराेशिमा नगरी आणविक बम प्रहारबाट जसरी ध्वस्त भएकाे थियाे,
त्यसबारे पहिलाे खबर सम्प्रेषण गरेका थिए, जसबाट अमेरिकी प्रशासन उनीसित क्रुद्ध भएकाे थियाे ! यिनै पत्रकार नेपालकाे पहिलाे संसदीय आम निर्वाचनकाे सिलसिलामा काठमाडौँ आउँदा भारतीय सुविख्यात राजनीतिक विश्लेषक निखिल चक्रवतीकाे परिचय चिट्ठी लिई याे स्तम्भकारसँग निकै दिन त्यस ऐतिहासिक चुनाव अभियानका प्रत्यक्ष साक्षी भएका थिए । यी कुरा ‘१९९७ सालदेखि २०१७ साल– एक अवलाेकन’ काे सम्बन्धित अध्यायमा उल्लेखित छन् ।
‘रचना’ प्रकाशनलाई तथा राेचक घिमिरेका लेखन सृजनशीलतालाई याे स्तम्भकार साेही काेटीमा राख्दछ ।
‘रचना’सित यता ६० वर्षभन्दा बढी समयकाे उसकाे अव्यक्त मित्रताले आज यस आलेख प्रकाशनबाट ठाेस अभिव्यक्ति पाएकाे छ भन्दा कुनै अत्युक्ति नहाेला !
भिन्नमतावल्म्बनताकाे कुनै आकार- प्रकार हुँदैनन् ! तर त्यसकाे सार समानरूपकाे हुन्छ ! त्याे बहुजन हितकारी निर्बाध स्वतन्त्रताकाे परिचायक हाे ! त्यसैले सदाशयतासित जाेडिन पुगेकाे भिन्नमतावलम्बनताकाे कथा आज यसरी प्रस्तुत हुन पुग्याे जुन कथामा यस स्तम्भकारका अनेकानेक ‘विवादास्पद’ आलेखलाई पूर्ण रूपले, कुनै सम्पादकीय कैँची विना, प्रस्तुत गरेर ‘नेपालनाम्चा’ले आफ्नै सदाशयतापूर्ण भिन्नमतावलम्बनताकाे परिचय दिएकाे छ ।
आजलाई जय नेपालकाे अभिवादनसहित यति नै ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



