अर्काकी बुढीसँग मायाको ‘महाकम्प’

सोनालाल शाह

प्रेम कसरी हुँदो रहेछ ठयाकै भन्न नसकिने रहेछ । जसरी भए पनि मिठो अनि रमाइलो हुँदो रहेछ । सम्झिँदा पनि अचम लाग्ने । भूकम्पको बेला काठमाडौंको बसाईमा उनी पनि मेरो जीवनमा भूकम्प को धक्का जस्तै आइन्, जतिखेर पनि मलाई हल्लाइरहने । सोच्न बाध्य बनाइराख्ने ।

बिस्तारैबिस्तारै भ्कम्प पनि दिनदिनै सामान्य हुँदै गइरहेको थियो । मलाई पनि अफिसबाट फोन आएको आए थियो, छिटै फर्किनु । म केही सोच्न सकिरहेको थिइनँ । मेरो मानसपटलमा उसैको तस्बिर घुमिराखेको थियो । काठमाडौंबाट जाने बेलासम्म एकचोटि बोल्न, भेट्न पाए हुन्थ्यो । मेरो मनले जतिखेर उसैलाई खोजिरहेको थियो, जसरी भँवराले फूल ।

मनमा अनेक कुराहरु खेलाउँदै थिएँ, अचानक मोबाइल बज्यो । हत्त न पत्त हेरेँ, अन्जान नम्बरबाट कल आएको रहेछ । मनमा खुशी पनि, डर पनि । एक छिनपछि कलव्याक गरेँ । मैले पहिला नै मेरो नम्बर उसलाई मेसेज गरेकोले उसले मलाई चिनी ।

‘सँच्चै हुनुहुन्छ’, उसले सोधी ।

सञ्चै छु भन्दै मैले पनि ‘हजुर ! सञ्चै हुनुहुन्छ, को कहाँबाट बोल्नु भएको ? भनेर सोधे, बच्चाको जस्तो स्वर सुनेर ।

‘कति छिटो बिर्सेको हो !’, उसले भनी, ‘मान्छे पनि चिन्न छोड्यो ।’

म अकमक्क ।

‘म हजुरको मान्छे बोलेछु’, उसले भनी ।

‘तिम्रो बोली त बच्चाको जस्तो पो छ । छोराछोरी भइसकेकोको मान्छेको बोली कस्तो सानो बच्चा जस्तो ।’

‘हजुरको अगाडि म बच्चा नै छु;, हाँसेर उसले भनी, ‘बुढो बच्चाहरुलाई घुमाउन बाहिर लिएर जानु भएको मौका छोपेर कल गरेको ।’

मैले पनि धेरै दिनको बोली सुन्ने पर्खाइको प्यास आज मेट्न पाएँ भनेँ ।

‘हजुरले पनि के के भन्नु भएको ?’

‘मैले साँच्चिकै आफ्नो मनको कुरा भनेको ।’

बुढो ढिलो आउने भएर कलमा धेरै कुरा भयो । दुःख सुख अनि आफ्नो व्यक्तिगत जिन्दगीको । कुरा गरिराख्दा मेरो शरीर जाडोको बेला चिसो पानीले नुहाए झै कामिरहेको थियो । पहिलो चोटी कसैले मसँग यति मायाप्रेममा लिप्त भएर कुरा गरेको भएर ।

प्रेमविह्वल भएर बोलिरहेको थिइ । म सुनिरहेको थिएँ । मेरो बोली नै फुटेन ।

भन्दै थिई, ‘हजुर बोल्नु न, किन चुप ?’

मसँग कुनै शब्द नै थिएन उसको मप्रतिको मायाप्रेम देखेर । अन्जान पनि आफ्नो हुँदो रहेछन् यो प्रेम मैले महसुस गरेँ अनि बिस्तारै बोलेँ ।

‘एउटा कुरा भन्छु’, भनेँ अनि उसले ‘हुन्छ, भन्नु न’ भनी ।

मैले सोधें, ‘तिमी मलाई कति माया गर्छौं ? काठमाडौं हुँदासम्म त होला यो माया । फेरि म आफ्नो कर्मक्षेत्रमा फर्केपछि बिर्सिन्छौ तिमी ।’

एकदम भावुक भएर बोली, ‘मैले सुरुमा मेसेजमा बोलेदेखि नै हजुरलाई प्रेम गर्न थालेको छु । मौका नमिलेर मात्र हो भन्न नसकेको ।’

उसको कुराले झन् म भावुक भएँ ।

अनि बिस्तारै भनेँ, ‘मैले पनि तिमीलाई माया गर्न थालेको छु । तिम्रो बोली सुन्नलाई त पानी बिनाको माछा जस्तै छट्पटाइरहेको थिएँ । तर आज सबै मनको प्यास मेटियो तिमीसँग बोल्न पाउँदा । मेरो मनमा धेरै कुरा छ तिमीसँग भन्नलाई । कहाँबाट सुरु गरुँ ? सोच्नै सकिनँ ।’

फेरि उसले भनी, ‘अनि के सोच्दै छौ, यही हो मौका । भनी हाल न । म सुन्नलाई तयार छु ।’

‘हो ? सुन्छौ ? साँच्चिकै भन्दिम ?’

‘हुन्छ । भन्नु । अब तिम्रै त हो । किन डराएको ?’

साँच्चिकै प्रेममा पर्दा मनभित्रको सबै डर हराउँदो रहेछ । मनमा भावनाको हजार ज्वारभाटा चल्दोरहेछ। के राम्रो, के नराम्रो छुट्याउन गाह्रो । मैले मनमनै सोचेँ, एउटा केटी मान्छे भएर उसले यति हिम्मतले म हजूरकै हो, हजुरलाई माया गर्न थालेछु भनी अनि म एउटा केटा मान्छे भएर किन भन्न नसक्नु जब कि मैले पनि उसलाई माया गर्न थालेको छु ।

हिम्मत जुटाएर भनेँ, ‘साँच्चिकै तिमीमा सुन्ने हिम्मत छ त ?’

‘छ ।’

‘त्यसो भए प्रेममा डुबेर सुन । म सबै सुनाउँछु ।’

… अनि मैले ;आई लभ यू सानी’ भनेँ ।

उसले पनि ‘लभ यू टु’ भनी ।

यहीँबाट प्रेमको सुरुवात भयो । एकछिन मायाप्रेमको कुरा गरेर मायाको संसारमा डुबुल्की लगाउँदै थिए । मेरो भौतिक शरीर त्यहाँ भए पनि मन उसैसँग डुल्दै थियो । म पूरा उसकोमा हराइसकेको थिएँ ।

उसले भनी, ‘बुढो आउनु भयो । अहिलेलाई राख्छु । पछि मिलाएर फोन गर्छु ।’

यति सुनेपछि म आकाशबाट खसे जस्तै भएँ । अझै बोली सुनिरहुँ लाग्यो तर चाहेर पनि कल गर्न सकिनँ ।

राति खाना खाएर पल्टिरहेको थिएँ । मोबाइल हातमै थियो । निद्रा पनि लागेको थिएन । छट्पट भएको थियो उसलाई सम्झेर ।

१० बजे राति मेसेज आयो, ‘हजुरलाई पाएर म धेरै खुसी भएकी छु । हजुरको माया मलाई सधैं चाहिन्छ । मलाई माया गर्न नछोड्नु होला ।’

‘हुन्छ छोड्दैन । सधैं माया गर्छु ।’

‘सबै जागै छन् । म छतमाथि आएर कुरा गर्दै छु । अब हजुर पनि सुत्नु म तल जान्छु । भोलि कुरा गर्छु । मिले कल नै गर्छु ।’

मैले मनमाथि ढुङ्गा राखेर हुन्छ जाऊ भनेँ । अनि मोबाइल राखेर उसको बोली अनि भावनामा डुब्न थालेँ । मभित्र पनि उसको प्रेमले जरा गाडिसकेको थियो । धेरै बेरसम्म मनमा कुरा खेलाउँदै खेलाउँदै उसको मप्रतिको मायाप्रेम सम्झिँदै कोल्टो फेरिरहेँ । कति खेर निदाएछु, थाहा नै भएन, उसको यादमा डुबेर ।

बाँकी अर्को भागमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button