रोमान्टिक बुढाको लुकिछिपी लभस्टोरी

कल्लु मिस्त्रीको मिस्डकल

बाबुराम पौडेल
शंकरनगर, रुपन्देही

(पर्वतेली उपभाषिका- गुल्मी, पाल्पा, अर्घाखाँचीतर्फ प्रचलित जनजीब्राे )

म नुहाई धुवाई गर्न बाथरुम गएकाे बेलामा मेराे माेबाईलमा मिस्डकल आएच । नुहाई ओरी ईश पितृ सम्झेर धुप काँटी सल्काउनै लागेकाे बेलामा “तपैंकाे मिस्कल आओछ ” भनिन् घरघनी अर्थात मेरी उनले ।

“कस्काे हाे ?” मैले साेधें । “खै कल्लु मिस्त्री भन्नी छ ” उनले उत्तर दिईन् । मेराे माेबाईल सेट बिर्सेर वा कुनै काममा, चार्जमा भएकाे बेला कसैले नम्बर बिराएर वा आफ्नु पैसाे जाेगाउन यसरी नै मिस्डकल गराे भने उनले कस्काे, किन गराे, अचाल पनि मिस्कल गर्नी कस्ताे मान्छे हाेला ?? जस्ता प्रश्नहरु गर्नी मात्र हाेईन कि मेराे अनुपस्थिति परेकाे बेला परेमा त्यसरी आउनी मिस्डकल वाला कतिपयलाई कलब्याक गरेर काे, किन भन्नी साेध खाेज सम्म गरेर कन्फर्म हुनि उनकाे बानी थियाे । तर त्याे दिन चाँही कल्लु मिश्त्रीबारे खासै साेधपुछ गरीनन् । म भने मेरा ईश पितृले जाेगाएचन् धन्न, यिनले कलब्याक गरेई`भा महाभारत उठनी रैच आज मेरा घराँ भनेर मनमनै सुस्केरा हालें ।

खासमा मैले कल्लु मिस्त्री भनेर एउटी भनम् न ओल्डफ्रेण्डकाे नम्मर सेभ गरेकाे थिएँ । ओल्डफ्रेण्ड कसरी भने आजकाल छताैरे केटा केटीकाे लभ पराे भने ब्याएफ्रेण्ड,गर्लफ्रेण्ड भन्चन् । मेराे भने उ बेला अर्थात १६/१७ बर्षे उमेराँ मन परापर भएकाे भएर उ बेलाकी गर्लफ्रेण्ड जस्तै भनम् न । उनी पन्ध्रै बर्ष जतिकि हुँदा उनलाई बिहे गरेर अर्कैले उडाएकी । मेराे र उनकाे उमेर पाक्नै लागेसी अकस्मात ३५ बर्ष पछि भेट भएर पुरानु मायाँ पुनरताजगी हुँदै फेरी अलिअलिईलु` पलाउनी मेसाे सुरु भएकाे ! परार बटाैलीकाे महाेत्सबमा अकस्मात भेट हुँदा उनले परैबाट मलाई चिनिहालिछन् । त्याे दिन चिनजानकाे सामान्य शिष्टाचार सहितका कुराकानी, रहने बस्ने ठेगाना र माेबाईल नम्बर साटासाट गरेपछि हामी छुट्टिएका थियाैं। ३/४ दिनपछि उनैले माेबाईलमा कल गरिछन्, झ्याप्प नचिनेर कन्फ्यूज भएँ म ।

“अस्ति भेटेकाे बिर्सनी ? छ्या तपैं ता कस्ताे हुस्सु मान्छे ? माेबाईल नम्बर सेभ गर्नु भा हैन र ?” भनेर पाे झपारीन् ।”

हैन,हैन म बाटाेमा बाईक चलाउँदै भा हुनाले नाम नम्बर नहेरेकाे भएर कन्फ्यूज भएकाे हाे भनेर ढाँट स्पष्टीकरण दिएपछि उनी नर्मल भएकी थिईन् । त्यसपछि पनि नम्बर कण्ठ गर्न सक्नी कुरा भएन, डिजीटल जमानामा डायरीमा टिपेर खल्तीमा राख्नुकाे कुनै तुक भएन । तिनकाे खास नाम नै सेभ गराैं भने पनि घरमा कहिले कसाे आफ्नाे साथमा माेेबाईल नभाकाे बेलाँ कल आओ भने भयङ्कर लफडा पर्च । के कसाे नाम बाट सेभ गरुँ ताे भनेर मलाई बहुतै सकस भओ हेर्नुस् । घर मर्मत गर्दै थें, कताकताट फ्याट्ट टायल लगाउनी भारतीय मिश्त्री सम्झेर उसैकाे नामबाट नम्मर सेभ गरेंकल्लु मिश्त्री`- ९८…….. ।

पाँच पढदापढदै उनकाे बिहे भाकाे हाे, म सात कलासाँ पढ्थें । त्याे समयमा बाल बिबाहकाे कानून थिएन कि कुन्नी ? बाउ आमालाई गतिलाे लागेकाे घरान र केटाे पाए गाउँतिर केटीहरुकाे सानै उमेरमा बिहे भएकाे देखियाे । साँच्चै नै नरमाईलाे लागेकाे थियाे उनकाे बिहे हुनी दिन मलाई । जन्ती हेर्न त गैयाे तर मनै अँध्याराे हुने गरि बाजा बजाएर लगाे गाँठे पल्टने लाउरेले । मेराे कुरकुरे उमेर भएकाे, मेरा दाईकै बिहे हुन बाँकी भाकाे र खाने खुट्ने कुनै मेसाे पेसाे नभाकाे कारण उनलाई भगाउने कुरै थिएन । फेरि ४/६ बर्ष कुरेर उनैसंग बिहे हुन्च भन्ने गेरेन्टी पनि त काँथ्याे र ताे ? उनी परीन् पारी गाउँमा पुरै हैकम भाका खत्री केप्टेनकी छाेरी, म परें दु:खले लाउन खान पुग्नी सिरारे बाहुनकाे छाेराे । उनकाे बिहे भएपछि घर नजिकमा स्कूल नभाकाे र त्याे बेलामा छाेरी-ब्वारी घरबाट टाढा पठाएर पढाउनी चलन नभा हुनाले उनकाे पढाइ विश्राम भएछ । त्यसपछि जन्मेका भूराभूरीकाे स्याहार, घर व्यवहार, सासू ससुरा हेर्दैमा समय गयाे । उनका श्रीमान्ले लद्धाखकाे लडाईमा बीरगति पाए पछि माईति बसाई सराई गरेर आएकै ठाउँतिर घरबास बनाएर बसेकी । छाेरा छाेरी दुबै पढन बेलायत गएका । सासू ससुराकाे देहान्तपछि फुकाफालाे जस्तै भएर बसेकी । एक्लाे पनकाे साथ दिन भाईकी छाेरी घरमा राखेकी । लाउरेकाे पिन्सिङ् र कमाईकाे जुगाडले लाउन खान छेलाेखेलाे रहेछ । यी सबै कुरा बेला बखत हुने उनका र मेरा सम्वादबाट जानकारी पाएकाे मैले ।

उ बेला हामी एउटै स्कूलमा पढनी भएका र म स्कूल टप गर्ने केटाे भएका कारण उनले मलाई राम्राेसंग चिन्नी । उनी ठुसुक्क माेटी गाेरी र चन्चले भएका कारण उनि मलाई असाध्ये मन पर्नी । हिंउद मास स्कूलकाे काेठा भित्र पढन चीसाे हुनी भा हुनाले चाैरमा लस्करै कलासै पक्षका केटाकेटी झुरुप्प झुरुप्प गाेलाईमा बस्नी,टिनकाे कुर्चीमा बीचमा बसेका सरले पढाउनी गर्थे । त्यस्ताेमा तिनले सरहरुका आँखा छलेर स-साना ढुङ्गाले पल्लाे क्लासब`ट टुक्क टुक्क मेराे पिठ्यूमा हानेर जिस्काउँथिन् । त्यति मात्र हाेईन स्कुल आउनी जानी बाटाेमा फेला परे चुटुक्क नारीमा चिमाेटेर आफ्नी साथिसंग गुरुरुरु भाग्थिन् । त्याे बेला म अल्ली लजालु स्वभावकाे र पारिवारिक हैसियत उनकाे भन्दा मेराे अल्ली तल भएका कारणले हाे कि उनीप्रति आफ्नाे मनमा माया भए पनि उनिसंग झिम्मिन सक्थिन । उनी भने मसँग लहसिन खाेजेकाे आभाष हुन्थ्याे मलाई । त्याे किशाेर किशाेरी उमेरमा एक अर्काप्रति त्यसरी लहसीनु खै प्रेम अङ्कुरणकाे सुरुवात पाे थियाे कि भन्नी अडकल काट्छु मैले आजकल ।

उनलाई घर परीवारसंग चिनापर्ची गराउनु वा आवत जावत कायम गर्नु पनि खासै उचित लागेन मलाई । बरु यसैगरी फाेन मेसेन्जरमा कहिले कसाे क्षम कूशल आदान प्रदान गर्ने र अतृप्प र अङ्कुरित हुनै लागेकाे बाल प्रेमलाई पुनरताजगी दिएर राख्नु उपयुक्त लाग्याे र सम्पर्ककाे पहिलाे सूत्र उनकाे त्याे माेबाईल नम्बरलाई “कल्लुमिश्त्री”`काे नामबाट सेभ गरेकाे मैले । आफ्नाे नम्बर “कल्लु मिस्त्री” भनेर सेभ गरेकाे तिन्ले थाहा पाए के भन्लिन ? हाँस्लिन् कि रिसाउलिन् ? यता कल्लु मिश्त्रीले काम सकेर गएकाे पनि २ बर्ष भयाे । मैले भने नाम अपडेड गर्नी चासाे राखिन । यसमा एउटा कूटनीति याे थियाे कि कहिले कसाे कारणबस म नभएकाे समयमा “कल्लु मिश्त्री” कै नामबाट मिस्डकल आएछ भने पनि उनी अर्थात मेराे घरधनीलाई फिटिक्कै शङ्का नहाेस् ।” मिश्त्रीले किन मिस्कल गराे ताे?” भनेर घरधनिले चासाे राखेमा “उई घर मर्मत गर्नी बेला सेभ थ्याे, सम्झेर गराे कि?” भन्न मलाई नि सजिलै पर्नी । खासमा म कुरा गर्नी अनूकूलतामा भए नभएकाे बुझ्न उनले मलाई मिस्डकल गर्नी र अनूकूल भए तत्कालै वा घर परिवारका आँखा छलेर कुरा गर्नी, नभए घर बाहिर निस्केका बेलामा कुरा गर्नी भन्नी उनकाे र मेराे सहमति थियाे ।

म अल्ली फरासिलाे र युवक उमेरमा अल्ली झिल्के (फन्नी) टाईपकाे, जाे जससंग पनि हाँस बाेल गर्नी, चिनापर्ची परिचय बिस्तार गर्नी किसिमकाे भाहुनाले हरहमेसा मेराे याे चरित्र मेरी उनी अर्थात घरघनीलाई खासै रुचिकर थिएन । मप्रतिकाे आशंका हटाउनी काेशिष स्वरुप मैले उनकाे माेबाईल नम्बरमाउर्वशी` भनेर नाम सेभ गरेकाे, थिएँ, भलै उनकाे चिनाकाे नाम मनकला हाे । एक दिन उनकाे माेबाईलबाट मेराे नम्बरमा खुसुक्क कल गरेर उनैलाई उठाउन लगाएँ । मेराे माेबाईल स्कृनमा “उर्वशी कलिङ्” देखेपछि उनकाे पाराे २०० डिग्री चढेकाे उनकाे हाउभाउबाट देखियाे ।

“काे हाे याे उर्वशी भन्नी?” भनेर रन्कँदै थिईन, मैले हत्तनपत्त उनकै नम्बर देखाए पछि शान्त भईन् ।

“केन हाे मेराे यस्ताे उट्पट्याङ् नाम राख्नी ?” भन्दै थिईन । मैले “एक पत्नीब्रता पुरुषले आफ्नी अर्धाङ्गिनीलाई जीवन भर स्वर्गकी अप्सराकाे रुपमा देख्नु पर्छ । उर्वशी भनेकी स्वर्गकी सबै भन्दा राम्री अप्सरा हुन् । त्यै नाम सेभ गरें तिम्राे नम्मरमा, मैले के बिराएँ ? कुरै नबुझि रन्किनी बानी छ तिम्राे त !” भनेकाे त्याे दिनदेखि मसँङ्ग मख्खै लठ्ठै मात्र हाेईन कि मेराे फरासिलाे स्वभावकाे दूरुपयाेग नगर्ला बुडाले भन्नीमा तिनका मनमा अलिअलि भराेसा दिलाएकाे थिएँ । अझ उनकी आमा अर्थात मेरी सासुआमाकाे माेबाईल नम्बरमा भागिरथी भनेर सेभ गरेकाे छु । भागिरथी कलिङ् भन्दै एक दिन मेरी सासू आमाकाे फाेन आएकाे बेला उसै गरि घरधनी पड्किईन् । मैले “हेर मैयाँ, मेरी सासुआमा- तिम्री आफ्नै आमाकाे कल आयाे । सासुआमा भनेकी मेरै आफ्नै आमा बराबर हुन् । आमा भनेका तीर्थ हुन् । आमाकाे फाेन आउँदा तीर्थ अर्थात भागिरथी नदीकाे नाम आउँछ र अलिअलि भए पनि पाप शुद्धि हुन्छ भनेर आमाकाे नम्बरमा भागिरथी नाम लेखेर सेभ गरेकाे हुँ मैले ।” भनेर रकमी पाराले सम्झाएकाे थिएँ। त्याे दिन पनि उनी “खाली उट्पट्याङ्ग मात्रै आउँच तपैंला” भन्दै मस्केकी थिईन् । मतलब के भने मैले आफ्नी घरधनी उनिलाई रनभुल्लमा राखेर बाहीरफेर कसैले गुलीयाे वचन हाँसबाेल गर्च भने बचनकाे इज्ज्यत राखिदिने गरि आएकाे थिएँ। मान्छेसंग उसकाे मान अैाकातकाे ख्याल गरेर हाँसबाेल ख्यालठट्टा गर्नु कुनै अपराध हाेईन, बरु यसले चिनजानकाे सर्कल बढाउँच, कुनै दिन अभर पर्दा काम लिन दिन सकिन्च भन्नी मेराे शिद्धान्त हाे काे भन्नुन्च । कुराे बुझ्नुस् न ।

र, यसरी “कल्लु मिश्त्री” र मेराे लुकिछिपी भर्च्यूअल अफेयरकाे खेलाे खेतीमार्फत बाल प्रेमकाे पुनरताजगी भै रहेकाे छ । थाहा छैन, कुन दिन भण्डाफाेर भएर तीन महीनासम्म मान्छेलाई कुराकाे मसला मिल्नी हाे ।? बरु बेला कुबेला “कल्लु मिश्त्री”कै मिस्डकलका डरले त्याे दिन देखि मेराे माेबाईल सेट नलिई ट्वाईलेट पनि जान्न । २/३ पटक माेबाईल सेट ट्वाईलेटकै फर्समा घद्रम्म गर्दै खसाे, एक पटक स्कृन नै फुटाे र पनि चम्केकाे छैन म । कुन दिन छप्ल्याङ्ग गर्दै ट्वाईलेट प्यानमै खस्नी हाे र बल्ल चेत आउनी हाे । गाह्राे रैछ गाँठे अदृष्य अफेयर चलाउन, पन्पाउन । हैट !

(उल्लेखित परिवेश र पात्र काल्पनिक हुन्, समाजकाे मनाेबिज्ञान र चरित्र चित्रण बारेकाे आंशिक लेखाेटकाे रुपमा मात्र बुझिदिनु हुन अनुराेध ।)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button