
स्कूल जान्छेस् कि फूल रोपेर बस्छेस् ?
मन्जुकिरण
बिहानको भाले बासेसँगै आमैको कर्कश आवाज़ गुन्जिन्छ उजेलीको कानमा ।
‘उजेली ए उजेली उठेकी छैनस अझै ? घाम डाँडामा आइसक्यो । झटपट शरीरलाई धोएर २–४ थुंगा फूल टिपेर ले झट्ट, पूजा गर्न बेर भो । ए साँची, चप्पल नलगाई जानु नि । फेरी था पाउँछिन् मिथिलाले । तँ त आ’कै थिनस्, तलाई था छैन कति बौलाकी थिई, त्यो जाबो २–४ थुंगा फूल टिपी भनेर ।’
धर्मकर्ममा अलि उदार छिन् आमै । बार अनुसार कुन भगवानलाई के चढाउने, कुन भगवानलाई के मन पर्छ त्यै अनुसार गर्छिन् आमै ।

हस् आमा भनेर नुहाइधुवाई गरेर कछुवाको चालमा पल्लो घरको छतमा पुगेर ४ थुँगा फूल मात्र के टिपेकी थिई, मिथिलालाई आफ्नो अघि देखेर झसंग् हुन्छे उजेली । उजेलीले केही भन्नु भन्दा नै अघि मिथीला बोल्छे, ‘त्यो टिपेको फूल तिमी नै लैजाऊ । त्यो फूल टिप्नुमा तिम्रो कुनै दोष छैन । तिमी त काँचो माटो जस्ती छौ, जून आकारमा ढाल्यो, त्यतै ढल्ने । अँ साँची, तिम्रो आमैलाई पनि मैले देखेको थिएँ भनेर नभन्नु है ।’
त्यति भनेर बाटो लाग्छे मिथिला ।
‘फूल ल्याईस् ? अब भान्साको कामतिर लाग् । म पूजा गर्न गए है ?’
अलि डराउँदै बोल्छे उजेली, ‘आमा! हामी पनि गमला किनेर फूल रोपौं न, हुन्न ?’
आमैः के भन्छे बिहान–बिहान ? अब मलाई घरको काम कम छ र फूल रोप्न फुर्सत हुनु ?
उजेलीः आमा हजुरले गमला र फूलको विरुवा मात्र ल्याइदिस्यो, बाँकी काम मै गर्छु ।
आमैः के भन्छे यो केटी आज ? अब त्यो जाबो २–४ थुँगा फूलको लागि कस्ले गर्ने झन्झट ? तँ स्कूल जान्छेस् कि फूल रोपेर बस्छेस् अब ? स्कूल नगै गर्छेस् भने ल्याइदिउँला, हुन्छ ?
यो कुराले मुख बन्द हुन्छ उजेलीको । आखिर गाउँबाट पढाइदिने शर्तमा जो आकी थी उजेली ।
मनमनै आफैलाई प्रश्न गर्छे, ‘के घर धुरी जोडिएको छिमेकीलाई चिढ्याएर साँचै भगवान ख़ुशी हुनुहुन्छ त ?’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



