दर्दनाकः बाबुको मलाम गएर आउँदा आमाले प्राण त्यागिसकिछन्

सत्यकथा

रितु शाक्य

आठ वर्षको कलिलो उमेर । खाने खेल्ने उमेर । काठमाडौ.को पुरानो विद्यालय दरवार हाइस्कुलमा चार कक्षा मा पढाई चल्दै थियो । एकदिनको कुरो हो, बिहानै निद्रा पनि छुटेको थिएन, कोहि रोइकराई गरेको सुनियो ।

विनायक झसङ्ग भए । उठेर हेर्न जाँदा त उनका बुवा पूजाकोठामा ढलेका थिए । नजिक आमा र फुफु रुँदैकराउँदै थिए । एक दिदी विवाहित र एक दाई सरकारी जागिरले बाहिर जिल्लामा खटेका थिए । उनीहरुलाई पनि खबर पठाइयो । अन्त्यष्टीको लागि मलामी जम्मा भए । विनायकको हात दाहसंस्कारको काम सम्पन्न गरियो र घर फर्कने क्रममा घरमा अर्को एउटा बज्रपात परिसकेको थियो । आमाले प्राण त्याग गरिछिन् शोकले । अब बिनायक पुरै टुहुरो भयो । उसलाई के हुँदैछ थाहा नै भएन । घरमा केवल बिरामी फूपु र उनी मात्र थिए । घरको पुरै जिम्मेदारी उनमा आयो । अब विद्यालय छोडेर उनी आफ्नै टोलका एक साहुको घरमा काम गर्न थाले ।

त्यसताका सडक नाचको चलन थियो । टेलिभिजन थिएन । सबै सडक नाटक र नाचमा रमाउँथे । बिनायक पनि सडक नाचमा बरोबर भाग लिन्थे । उनी र उनका भान्जा एउटै उमेरका भएकाले साथी जस्तै सँगै रंगमञ्चमा काम गर्दै थिए ।

विनायकको घर नजिक एक युवती थिइन् जसका आमा बिरामी थिइन् । उनीहरको कोही अरु सहारा थिएनन् । विनायक बारम्बार उनीहरुलाई सहयोग गर्थे । घर आनाजाना चलिरहन्थ्यो । त्यस्तैमा उनीहरुको कहिले मायाप्रेम बस्यो पत्तै भएन ।

उता उनका भान्जाको बिहेको कुरा चल्दैथ्यो । भान्जालाई मन पराएर एउटा महिला उनको घरमा रातको समयमा घरबाट भागेर आउँछिन् । अब दिदीलाई फसाद पर्छ । फर्काउन खोज्छन् । उनी ज्यान गए नि मान्दिनन् । त्यसपछि दिदीले उनलाई खोपीमा लुकाउँछिन् । उनका ससुरा बुवा अत्यन्तै कडा मिजासका भएकाले यो कुरा भन्न सक्दैनन् । अब दिदीले भाइलाई बोलाएर त्यस युवतीसँग बिहे गर्न कर गर्छिन् । विनायक आफ्ना आमासमान दिदीको कुरा टार्न नसकेर बिहे गर्न पुग्छन् । उता यो खबरले मर्माहित उनकी प्रेमिका बिरामी पर्छिन् । उनलाई सम्झाईबुझाई गरेपछि मन बुझाएर बस्छन् । तैपनि बसिसकेको माया मेटाउन कहाँ सकिन्छ र ? विनायक आफ्ना नयाँ दुलहीसँग रमाउन सक्दैनन् । तैपनि जसोतसो दिन बित्दै जान्छ । उनीहरुका दुई सन्तान पनि हुन्छ । बिरामी फुपुको मृत्युपछि त्यो घरमा फेरि अर्को महादशा थपिन्छ । एक त आर्थिक अवस्था कम्जोर, त्यही माथि श्रीमतीलाई क्यान्सर भैदिन्छ र उनी पनि मृत्युको काखमा पुग्छिन् । सायद आफुले चाहेकोसँग बिहे गर्न नपाउनु, फेरि आफ्नो श्रीमानको अर्को प्रेमिका छिन् भन्ने थाहा भएर आत्मग्लानी हुनु नै रोगको कारण बन्यो । साना दुई बालक टुहुरा हुँदा उनीहरुलाई सम्हाल्ने कोहि हुँदैन। विनायेक फेरि आफ्नो प्रेमीसँग नजिक हुन्छन् । फेरि उनीहरुको बिहे हुन्छ र दुवै मिलेर घरजम गर्न थाल्छन् ।

विधिको विडम्वना, घरमा सन्तानले नयाँ आमालाई स्वीकार गर्न सक्दैन । उनीहरुलाई लाग्छ कि नयाँ आमाको कारणले उनीहरुका आमा बितेकी हुन् । त्यो रिस, द्वेष र शंकाबीच जीवनमा कहिले सुख नभोगेका विनायकलाई पक्षघातको बिमारीले समाउँछ । १२ वर्षसम्म अनेकन दुखकष्ट भोग्दै एक दिन उनको पनि मृत्यु हुन्छ। यसरी एउटा जीवन समाप्त हुन्छ ।

यो कथाबाट सिक्नुपर्ने कुरा के हो भने हामीले धेरै भावनामा डुबेर निर्णय गर्दा कहिलेकाहिँ हामीले जीवनमा ठुलो कस्ट भोग्नुपर्ने हुन्छ । जीवन जे जस्तो भए पनि यदि हामीले त्यसलाई स्वीकारको भावमा लिने हो भने हाम्रो दुखलाई केहि कम गर्न सम्भव हुन्छ । यसविपरित स्वीकार गर्न नसक्दा जीवन रोगग्रस्त हुन सक्छ र जीवन खेर जान सक्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button