लेख्दै गर्दा मनमा हुरीबतास चल्दै छ, अम्लाहरु काँप्दै छन्

अन्तिम पत्र तिमीलाई

बसन्ता पोख्रेल
धुर्कोट–१, नयाँगाउँ, गुल्मी

झरीजस्तै आँखाबाट आँसु झरेका छन् । कयौं दिन भयो सुत्केरी थला परे जस्तै मनमनै थला परेको । फरक यति हो, सुत्केरी शारीरिक रूपमा थला परिरहन्छन् अनि म मनमनै ।

मन थाम्न सकिनँ, तिम्रो यादले पोल्न थाल्यो, दुख्न थाल्यो, बिझाउन थाल्यो अनि तिमीलाई पनि त्यही पुरानो कहानी जस्तै दोधारमा राख्नु भन्दा यही पत्रमार्फत अन्तिम निर्णयसहितको अन्तिम चिठी लेख्ने कोसिस गरेँ ।

रहर होइन, बाध्यता हो । चिठी लेख्दै गर्दा मनमा हुरीबतास चल्दै छ । हातका अम्लाहरु काँप्दै छन् । रहर त मलाई पनि कहाँ हो र ? फेरि सोचेँ, आखिर कति दिन म तिम्लाई मात्र एकोहोरो सम्झी राखुँ अनि दुःख दिउँ ? छुट्टिनु त छ एक दिन । आखिर ढिलो या चाँडो मात्र हो ।

म तिमीलाई मायाको नाम पनि दिन सक्दिनँ । न तिमी मेरो प्रेमी हौ न म तिम्रो ? आखिर सम्बन्ध के छ, त्यो तिमी आफै बुझ्न सक्छौ ।

प्रेम गरेपछि गुमाउनु पर्ने सहने शक्ति राख्नु पर्छ । यी कुरा मैले तिमीसँग नजिक हुँदादेखि बुझ्न थालेकी हुँ । त्यसैले त अन्तिम पत्र लेख्न आँट गरेँ ।

बिर्सन सकिएला तिमीलाई तर तिम्रा याद त अलि गाह्रो नै होला । तिमी व्यस्त रहन्छौ काममा । मलाई सम्झने भनेको केही समय होला । तर, म दिन भए बन्द कोठाभित्र रातीको समयसम्म तिमीलाई त सम्झुन्छु । त्यो तिमीलाई थाह छ । हुन त म सबैजस्तो कहाँ हुनसकेँ र म ? कसैको मन दुःखोस्, यो चाहदिनँ ।

मलाई थाह छ अनि तिम्लाई पनि तर मन मिल्दैन । हरेक समय रिसाउन तिमीलाई म बहाना दिन्छु अनि तिमी त्यही बहानामा रिसाउँछौ । केही नयाँ पाउन पनि केही चीज गुम्न पनि सक्छ सुनेकी थिएँ, सायद आज प्रमाणित हुँदै छ । म जाँदै छु तिम्रो बहाना अनि तिमीदेखि टाढा । हुन म तिम्रो प्रेमी होइन तर प्रेमीभन्दा कम जस्तो लाग्दैन थियो ।

म टाढा भएपछि ढुक्क हौ, तिम्रो जीवनमा नयाँ दुखसुख साट्ने साथी आउने छ । केही दिन हामी दुवैलाई गारो पर्ला तर ढुक्क हौ, तिमीसँग आगमन हुने तिम्रो नयाँ साथीले बिर्साउने छन् अनि तिमीलाई खुसी राख्ने छन् र यो पनि महसुस गराउने छन् खास उहीसँग पहिले भेट भएको भए । अनि मसँगको पश्चताप लाग्ने छ तिमीलाई ।

तिमीसँगका रमाइला पल त तिमीलाई पनि थाह छ अनि मलाई पनि । पत्रमा लेख्न त कहाँ सकिन्छ र लामो कहानी, बस् ती पल समझेर तिमी मन् नदुखाउनु अनि म पनि दुःखाउँदिनँ । ती पल तिम्रो लागि साहस बनून्, अनि धेरै कुरा सिकेको अनुभव दुवैलाई । तिमी मेरो जिन्दगीको कुनै एउटा विषय थियौ, हरेक पानापाना पढेँ र अझै पढ्ने रहर हुँदाहुँदै आज सकिन लागेछ ।

कता कता नरमाइलो महसुस त हुँदैछ तर पनि म अन्तिम पत्र लेख्ने तम्तयारीमा लागेँ । सम्बन्धका शब्द अनि नजिक भएपछि बोल्ने शब्द हलुका लाग्ने रैछ । त्यो तिमीलाई पनि थाह छ अनि मलाई पनि । बिर्सेको छौ भने यो पत्रले फेरि मलाई सम्झाउँछ अवश्य यसमा म माफी माग्न चाहेँ ल । आफ्नै रगतको नाता सम्बन्ध त छोडेर भगवानको प्यारो हुन् खोज्ने रैछन्, छोडेर जाँदा रैछन् तर पनि बाँच्न साहस गर्नु पर्छ । अनि सहन पनि । म त पराइ हुँ त्यसैले ढुक्क हौ, म पनि टाढा भएर तिमीलाई खासै फरक पर्दैन । तिमीलाई मैले अनि तिमीले मलाई एक अर्कोको आँखाअघि अर्कैको सिउँदो रङ्गाएको र अर्कैको नामले रंगिएको हेर्ने साहस राखेर त हामी नजिक भएका हौंला, चाहँदाचाहँदै या नचाहेर पनि ।

चिठी लेख्न सुरु त गरेँ तर लेखुँ भने धेरै लामो किताब बन्ने छ । नलेख्नु, मनमा धेरै शब्द आएर हैरान । कहिलेकाँही झुट नचाहँदानचाहँदै बोल्न पर्ने रैछ । हुन मजाकमजाकमा गरेको कुरा वास्तविक हुन्थे । तिमी भने मजाक ठान्थ्यौ । मलाई पछुतो होला, कुनै दिन तिमीसँग सबै कुरा चाहेर भन्न सकिन भन्ने । जे होला सबै कुरा समयसँगै परिवर्तन त हुन्छ नै अनि बिर्सन पनि । एक्लोपनले माया गरेदेखि मलाई एक्लोपनसँग प्रेम बस्यो । त्यही एक्लोपनको वास्तविक जीवन देखाउन नसकेपछि म यो काल्पनिक कथा लेख्न बाध्य भएँ ।

अन्तिम चिठीसँगै तिम्रा यादहरु म यही डायरी सँगै बन्द गर्न चाहन्छु ।

कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button