कुण्ठा पखाल्ने ‘वासिङ मेसिन’ तपाईंभित्रै छ

पूर्णता र त्यसका बाधाहरु हटाउने उपाय

रितु शाक्य

हरेक मानिसको सबैभन्दा ठुलो लक्ष्य भनेको पूर्णतामा प्राप्त हुनु हो । यहाँ पूर्णता भन्नाले धन, सम्पत्ति, मान, प्रतिष्ठा, पद मात्र नभई शारीरिक, मानसिक,,भावनात्मक रुपबाट स्वस्थ र पूर्ण चेतनायुक्त व्यक्ति भन्ने बुझिन्छ । मानव जीवनमा विविध दुख र सुख आउनु स्वभाविक कुरा हो । पूर्ण व्यक्ति त्यो हो जसले हरेक परिस्थितिमा आफुलाई स्थिर र सहज राख्न सक्छ ।

पूर्णताको मुख्य बाधक भनेको हामीभित्रको क्लेश, डर, चिन्ता, व्यथा, रिस, राग, मोह, आदि मानसिक विकार नै हुन् । यी विकारहरुकै कारणले मानिस जतिसुकै प्रगति गरे पनि अपूर्ण नै हुन्छ । उसलाई कुनै न कुनै समस्याले गाजेको हुन्छ ।

विकारहरुलाई हटाउने उपायहरु

१) हामीले फेर्ने स्वासको नियमित क्रियालाई परिवर्तन गरेर । जस्तै हामी विविध प्राणायामको सहाराले आफुभित्को कुण्ठालाई विसर्जन गर्न सक्छौं ।

२) शरीरमा पसिना आउने गरि गरिने विविध किसिमका ब्यायाम, योग अभ्यासले कुण्ठा विसर्जन गर्न मद्दत गर्छ ।

३) ताली मार्ने क्रिया, दाह्रा किट्ने क्रिया, मुठी बेस्सरी कस्ने क्रिया, मुखलाई बेस्सरी खुम्चाउने क्रिया आदिले पनि हामी भित्रको कुण्ठा हटाउन मद्दत गर्छ ।

४) आफुलाई मन परेको गीत गाउँदा, सुन्दा या कुनै भजन किर्तन गाउँदा सुन्दा, कुनै मन्त्र जप या संस्कृत श्लोक बोल्दा पनि कुण्ठा विसर्जन हुन मद्दत मिल्छ । त्यहि भएर अहिले पनि भाका हालेर गीत गाउदै आफ्ना व्यथा सुनाउने चलन छ।

५) अभिनयको माध्यमबाट पनि आफ्नो कुण्ठा हटाउन सकिन्छ । जीवनका हरेक पलमा आफुलाई अभिनय गरेको महसुस गर्न सके हामीलाई दु:खले कति पनि पिरोल्न सक्दैन । भनिन्छ, जीवन एक चलचित्र हो जसमा हामी सब पात्र मात्र हौँ र त्यो चलचित्र को निर्देशक स्वयं ईश्वोर हुन् । आत्मा कलाकार हो जसले विविध भूमिका खेल्छ विविध शरीरमा बसेर ।

६) सत्य घटनामा आधारित कथा, पौराणिक र दन्त्य कथाहरु, ठुला व्यक्तिहरुका आत्मकथाहरु, विविध धर्मग्रन्थका ज्ञानहरु, अध्यात्मका विविध ज्ञान आदिको श्रवण आदिबाट पनि हामीले आफ्नो कुण्ठा हटाउन सहजता हुन्छ ।

७) कुनै पनि खेल जसमा आफुलाई आनन्द आउँछ, त्यस्ता खेलमा मन लगाउँदा पनि हाम्रा पिडा कम गर्न मद्दत मिल्छ ।

८) विविध बाद्य बादनको माध्यमबाट पनि हामी आफ्ना कुण्ठालाई हटाउन सक्छौं । विविध बाजाका संगीतले मन त्यसतर्फ़ खिच्छ, जसले गर्दा मन शान्त हुन्छ ।

९) आफ्ना जीवनका कथाव्यथालाई कथा, कविताआदिको रुपमा शृजना गर्दा पनि धेरै मात्र मा कुण्ठा बाहिर निस्कन मद्दत हुन्छ ।

१०) जिउलाई पुरै कम्पित गर्ने या नबुझ्ने भाषामा कराउने चिच्याउने क्रियाहरु गर्दा पनि कुण्ठा हटाउन सहयोग मिल्छ ।

११) विगतका राम्रा घटना सम्झने, त्योसंग सम्बन्धित फोटो हेर्ने, साथीभाई या आफन्त भेटघाट गर्ने, खान पकाउने खाने, त्यस्तो ठाउँमा घुम्न जाने आदि क्रियाकलाप गर्नाले पनि कुण्ठा विसर्जन गर्न मद्दत हुन्छ ।

यी सब त भए आफुभित्रका कुण्ठा र विकार हटाउने विविध अस्थाई विधिहरु । स्थाई रुपमा आफुलाई हरेक विकारबाट मुक्त गर्ने हो भने हामीले यसको लागि ध्यान नै अपनाउनु पर्ने हुन्छ । हामी भित्रको क्लेश हटाउन पहिले त्यसको कारण पत्ता लगाउनु पर्छ । मुलभूत रुपमा हरेक दु:ख को पछाडी हाम्रो आफ्नै अहंकार लुकेको हुन्छ । त्यो अहंकारलाई नष्ट नगरिकन हामी दुखबाट मुक्त हुन सक्दैनौ । हामीलाई आफूभित्रको त्यो अहंकारको बोध गराउने ध्यान नै हो । यसले हामीलाई पल पलमा होसको अभ्यास गराउन थाल्छ जसले हामीलाई त्यो आफुभित्रको अहमतालाई हटाउँछ । ध्यानले आफु, संसार र ईश्वरमा अद्वेतको भाव जगाउँछ । त्यसले गर्दा कुनै पनि कुरामा आफु र आफ्नो अवस्था भिन्न पाउँछ । आफ्नो अवस्थालाई मेरो नबुझेपछि समस्या आफै हट्छ । त्यो अहम नैं मेरो समस्या हो भन्ने बुझ्न हामीले ध्यान साधनामा आफुलाई लगाउन जरुरी हुन्छ । यसप्रकार हामी पूर्णतामा प्राप्ति हुन सक्छौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. अति जीवनोपयोगी, ब्यबहारिक र तार्किक बिचारयुक्त चेतनामूलक रचनाका लागि लेखिकालाई बधाई ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button