आफ्ना कमजोरीहरु कसरी हटाउने ?

रितु शाक्य

कुनै कोठामा अँध्यारो छ भने हामी त्यो अन्धकार हटाउन के गर्छौ ? अवश्य पनि हामी बत्ती बाल्छौं । तब त्यस कोठाको अन्धकार आफै हट्छ । एवं प्रकारले जीवनको कमजोरीलाई हटाउन पनि हामीले आफ्ना सबलतालाई बढाउनु पर्छ । हाम्रो शरीरमा रोग लागेको छ भने हामी रोगलाई हटाउँदैनौ । हामी रोग निको बनाउने दवाईको प्रयोग गर्छौ ।

हाम्रो जीवनमा हामीले नानीदेखि लगाउँदै आएका यस्ता थुप्रै बानीहरु हुन्छन् जुन हत्तपति हट्दैनन् । किनकि ती बानीहरु हाम्रो अवचेतन मस्तिस्कमा बसेका हुन्छन् । त्यस्ता बानी हटाउनतर्फ़ लग्नु आफ्नो समय खेर पठाउनु मात्र हुन्छ । हाम्रो हातमा असफलता मात्र हात लाग्छ । बरु त्यसको सट्टा हामीले आफ्ना राम्रा बानीहरुलाई बढाउने हो भने ती नराम्रा बानीहरु स्वतः हटेर जान्छ । आफ्ना दुर्गुण हटाउन सद्गुणलाई बढाउने हो । हामीले आफ्ना नराम्रा आदतहरुलाई धेरै प्राथमिकता नदिई राम्रा आदतहरुलाई बढाउनेतर्फ लग्नु बुद्धिमानी हुन्छ ।

हामीले कुनै पनि राम्रो आदत आफुमा बसाल्न त्यो आदतलाई कम्तिमा २१ दिन निरन्तर दोहोराउनु पर्छ । वास्तवमा साधना भनेको नै आफूभित्रको दुर्गुणलाई हटाई सद्गुणको विकास गर्ने अभ्यास हो । हामी सबलाई थाहा छ के गर्नु हुन्छ, के गर्नु हुँदैन । तर पनि हामी आदतबाट मजबुर भएर हामी त्यस्ता नराम्रा काम गर्न वाध्य हुन्छौं । जस्तै कोहि कुलतमा फसेको छ, उसलाई थाहा छ त्यो लत सहि होइन, त्यसले उसको नाम, दाम, इज्जत, प्रतिष्ठा सब खत्तम बनाउँछ, तैपनि उसले त्यो आदत छोड्न सकेको हुँदैन । जति कोसिस गर्छ, त्यति उसले हार खान्छ । यस्तो अवस्थामा उसले आफ्नो त्यस्तो लतलाई छोड्न अर्को कुनै राम्रो लत लगाउनु पर्ने हुन्छ । उसले ध्यान, योग, प्राणायामको लत लगाउने, सद्गुरुको सानिध्यमा आफुलाई राख्ने, आफुलाई कुनै असल काममा ब्यस्त राख्ने, जुन वातावरणमा आफु खराब लतको शिकार भएको हो, त्यो वातावरणलाई त्यागेर अर्को सहि वातावरणमा आफुलाई ढाल्ने इत्यादी ।

हामीले आफ्नो जीवनमा अनगिन्ती ज्ञानहरु हाँसिल गरेका हुन्छौं । तर हामीले ती ज्ञानको आफ्नो जीवनमा प्रयोग गर्न सकेका हुँदैनौ । त्यसैले हाम्रो जीवनमा दुखः आउँछ । हामी वेद, पुराण, त्रिपिटक आदि विविध धर्मग्रन्थका ज्ञाता हुँदा पनि हामीले ती ज्ञानहरु ब्यबहारमा उतार्न सकेनौ भने त्यसको केहि पनि अर्थ रहँदैन । यदि हामीले सिकेका एउटा मात्र मुख्य ज्ञान जीवनमा अपनायौं भने हामी त्यतिको भरमा आफुलाई दुख मुक्त गर्न सक्छौं ।

हामी भित्र राक्षस पनि हुन्छ, देवता पनि हुन्छ । हामीले आफूभित्रको राक्षसलाई पोषण दियौं भने दुर्गुणरुपी राक्षस बलियो हुन्छ र देवतालाई पोषण दियौं भने सद्गुणरुपी देवता बलियो हुन्छ । छनौट आफ्नै हुन्छ। हामीले पुज्दै आएका जति पनि देवताहरु छन्, ती सब मात्र संकेत हुन् असल गुणको । जस्तै हामी शिव भगवानलाई पुज्छौं । अर्थ उहाँ आफ्नो क्रोधलाई वसमा राखेर आफुलाई जस्तोसुकै परिस्थितिमा शान्त राख्न सक्ने देवता हुन् र त्यो गुण हामीमा आओस् भन्नाका लागि । गणेश भगवानलाई पुज्छौं, जीवनमा आउने विघ्न हटाउने शक्तिका लागि । लक्ष्मीमातालाई पुज्छौं सम्वृद्धिका लागि । सरस्वतीमातालाई पुज्छौं विद्याका लागि । यी सब गुणहरु हामीभित्रै छन् तर आलश्य, लोभ, रिस, जस्ता अवागुनका सिकार हुन्छौं । त्यसैले आफ्ना नराम्रा बानीका बेफाईदाबारे सधैं सजग र सतर्क हुनु जरुरी हुन्छ ।

म के गर्दैछु, के बोल्दैछु, के सोच्दैछु, कहाँ जादैछु, के खाँदैछु आदि सब पलपलको होस हुनु जरुरी हुन्छ । हाम्रो मस्तिस्क ९०% अवचेतन मनले चलेको हुन्छ भने १०% मात्र चेतन मनले चलेको हुन्छ । त्यसैले हामीले ध्यानमार्फत आफ्नो अवचेतन मनका नकारात्मक भावहरुलाई सकारात्मक भावमा परिवर्तन गर्नुपर्छ । या आफु प्रत्यक पल होसमा बाँचेर आफ्नो चैतन्यलाई बढाउँदै त्यो चेतन मनलाई १०% बाट ९०% मा बढाउन सकेमा हामी पूर्ण रुपमा दुखःबाट मुक्त हुन सक्छौं ।

हामीमा साक्षी भाव, धन्यवाद भाव ,स्वीकार भाव र क्षमा भाव भएमा हामी हरेक कुराबाट मुक्त भै बुद्धत्व प्राप्त गर्न सक्षम हुन्छौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button