सम्बन्ध व्यवस्थापनः जाने उत्तम, नजाने खत्तम

रितु शाक्य

सम्बन्धले जति बढी प्रभाव पारेको हुन्छ, त्यति अरु चीजले पर्दैन किनभने हामी एक अर्कासँग जोडिएका छौँ । हामी सबै एक अर्काको सहअस्तित्वमा बाँचेका छौँ । केवल मानवमात्र नभई वनस्पति, पञ्चतत्व, सम्पूर्ण चराचर जगत नै एक अर्कासँग जोडिएका छन् । यी चीजहरू नहुँदो हो त हामी हुने नै थिएनौँ । एक अर्काको सम्बन्धलाई बुझ्न सकिएन भने जीवनमा समस्या हुन्छ ।

हरेक नयाँ सम्बन्ध, नयाँ वातावरण, नयाँ वस्तु प्राप्त गर्नु हाम्रो कमाई हो । पैसा मात्र हाम्रो कमाई हुँदैन । जीवन सुखी बनाउन सम्बन्ध पनि कमाउनु पर्छ । हामीलाई सुख या दुःखको अनुभूति यही सम्बन्धमा आएको राम्रो या नराम्रो भावले हुन्छ । जसले यो कुरा बुझेको हुन्छ, उसले सम्बन्ध राम्रो बनाउँछ । दुःखको मूल मन र मनको मूल सम्बन्ध हो । जस्तै, परिवारमा सबैसँग सम्बन्ध राम्रो छ भने सम्बन्ध राम्रो हुन्छ । प्रकृतिसँग सम्बन्ध राम्रो छ भने जस्तो वातावरण पनि हामीलाई राम्रो लाग्छ । घामसँग सम्बन्ध राम्रो भए सुख, नत्र दुःख । यस्तै हावा, पानी, पञ्चतत्व, वनस्पति र चराचर जगतसँग सम्बन्ध राम्रो भए आनन्द प्राप्ति हुन्छ, अन्यथा दुःख ।

यी त भए बाहिरी जगतका कुरा । हामी आफू आफ्नै मनसँग कस्तो सम्बन्ध राखेका छौँ ? शरीरसँग हामी राम्रो सम्बन्धमा छौँ भने हामी शरीरलाई पीडा हुने कर्म गर्दैनौँ र शारीरिक दुःखबाट बच्छौँ । हामीले फेर्ने स्वाससँग हामीले सम्बन्ध बिगार्यौं भने हामी छट्पटिन्छौँ । मुटु, कलेजो, हात, खुट्टा आदि अंगहरुसँग हाम्रो सम्बन्ध कस्तो छ ? यी अंगसँगको सम्बन्ध बिग्रियो भने यिनीहरू रोगी हुन्छन् । मान्छे कस्तो बुद्धि नभएको, चेतना नभएको जसले आफ्नो शरीरसँग सम्बन्ध राम्रो राख्न सक्दैन । शरीरलाई अपमान गरेपछि दुःख हुनु स्वाभाविक हो । अत्याधिक धूम्रपान, मदिरा सेवनपछि फोक्सो, कलेजो बिग्रिन स्वाभाविक हो र शरीर गतिलो नभएपछि मन अशान्त हुन्छ र मन अशान्त भएपछि दुःख हुन्छ नै ।

‘परोपकार पुण्याय पापाय पर पिडनम’ भनिन्छ । अरुलगायत आफैलाई उपकार गर्नु पुण्य हो, पीडा दिनु पाप हो । अरुलाई दुःख दिने व्यक्ति पापी हो भने स्वयं आफैलाई दुःख दिने व्यक्ति महापापी हो । हामी राम्रो कुरालाई सम्झन सक्दैनौँ, नराम्रो कुरालाई सम्झेर दुःखित बनिरहन्छौँ । यसरी आफैले आफ्नो मनको हिंसा गरिरहेका हुन्छौँ । हामीले शरीर, मन, भावनालाई माया गर्नु पर्छ । यसको लागि दैनिक योग, प्राणायाम, ध्यान गर्ने बानी बसाल्नु पर्छ ।

अरु आफ्ना परिवार, इष्टमित्र, छरछिमेक, कलिगहरु सबैसँग हामीले राम्रो सम्बन्ध बनाउनु पर्छ । आफ्नो सम्बन्ध सपार्ने जिम्मा हाम्रो आफ्नै हो । हामी अरुलाई दोष दिँदै हिँड्छौँ तर आफ्नो गल्ति पहिचान गर्न सक्दैनौँ । जहाँ सम्बन्ध राम्रो हुन्छ, त्यो परिवार समान हुन्छ । जहाँ सम्बन्ध बिग्रन्छ, त्यो आफ्नो भए पनि पराया हुन्छ ।

सम्बन्ध तीन प्रकारका हुन्छन्:
१) जगतसँगको सम्बन्ध
२) मनसँगको सम्बन्ध
३) ईश्वरसँगको सम्बन्ध

सम्बन्ध मनले बनाउँछ । मनका दुईवटा अवस्था छन्:
१) चेतन मन (Conscious mind)
२) अवचेतन मन (Subconscious mind)

मनोविज्ञान भन्छ, बिहानदेखि बेलुकासम्म गर्ने सम्पूर्ण काममध्ये १०% चेतन मनले गर्छ । अर्को ९०% अवचेतन मनले गर्छ । ९०% काम गर्ने अवचेतन मनलाई आफ्नो अनुसार काम गराउन प्रशिक्षण दिनु पर्छ । बारम्बार दोहोरिएका काम सोच विचार आदत बनेर आउँछ र अवचेतन मष्तिष्कले त्यही अनुरुप स्वतः काम गर्दछ । जसको बानी व्यहोरा राम्रो हुन्छ, त्यो असल कहलिन्छ । जसको आदत खराब हुन्छ, त्यो गलत हुन्छ । राम्रो सुन्दर अनुहार हुँदैमा त्यो राम्रो मानिँदैन । शरीरको सुन्दरता क्षणिक हुन्छ भने आत्मा र मनको सुन्दरता सदाका लागि हुन्छ । यहाँ देवता भनेर राम्रो आत्मा र मन भएको व्यक्तिलाई संकेतको रूपमा प्रयोग गरियो र दानव भनेर दुष्ट आत्मा र खराब मन भएकोलाई मानिएको हो ।

राम्रो बानी भएकाले सबलाई आफ्नो बनाउन सक्छ। सबैले उसलाई मन पराउँछ तर खराब बानी भएकोलाई कसैले मन पराउँदैन । खराब बानीले सबलाई दुश्मन बनाइदिन्छ । आफ्नो आचरण नास पारी सम्बन्ध राम्रो पार्न असम्भव छ । म यदि सप्रने हो भने मैले आफ्नो आदत सपार्नु पर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button