
म महिनावारी बार्ने शिक्षित नारी
विद्या खड्का
म महिनावारी बार्ने शिक्षित नारी
सोच्नुहोला
धेरै छाउगोठ भत्काए अधिकारकर्मीले
यस्को हृदयको छाउगोठ भत्केकै रैनछ
त्यसो हैन
मेरो मनमा गोठको सट्टामा
सुन्दर महल बनेको छ
वर्षभरी न कुनै बार न कुनै चाड
एक दिन छुट्टी नपाउने म
केही हैन झैं लाग्ने भान्साको कामबाट
असी प्रतिसत भए पनि
छुट्टी पाउँछु
ती चार दिनमा ।
जिब्रोमा फरक स्वाद
दिनभर
कपासका नरम डस्नामा लट्पटिँदै
बेला बेलामा
तातो चिया, कफिको चुस्कि लिँदै
आफुलाई ईच्छा लागेका किताब पढ्नु
निस्फिक्रि कपिमा भावनाहरू पोख्नु
न कसैको निन्द्रा बिथोलिने डर
न केही काम बिग्रने चिन्ता
बेला बेलामा पाउने सहानुभूति, स्नेह,
पिता, पति, पुत्रद्वारा
तातो हटब्यागमा दिइने न्यानो स्पर्स
नछोई गरिने प्रेम
आहा कति आनन्द !
परिवर्तनको गति
कछुवाको हिँडाईमा छ
अन्तिम विन्दु पुग्नुअघि
भत्काईनु भन्दा छाउगोठहरू
परिमार्जित गरिनु पर्छ
यस्तै महलमा
जहाँ विश्राम लिन पाउनेछन्
महिनाभरिका थकान
महिनावारीका नाममा ।
रमाउन पाउनेछन्
स्वतन्त्रतामा
हराउन पाउनेछन्
आफैमा
शारीरिक सकसका ती चार दिनमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



