ममीबाबाकाे अबदेखि कहिल्यै झगडा नहाेस्

लघुकथा: एउटै पुकारा

विष्णु उप्रेती
सृजनानगर, भक्तपुर

पाँच वर्षे छाेरीले शिव बाबाको मुर्तिमा ढाेग्दै मनमनै भनिन्- “मेराे ममीबाबाकाे अबदेखि कहिल्यै झगडा नहाेस् ।” उनी आमासँग आज मन्दिर आएकी थिइन् ।

बिहान पाँच बजेदेखि लाइनमा बसेकी तीन घण्टापछि बल्ल पूजा गर्न पालाे पाएकी सारदाले दियाे बालेर अगरबत्ती घुमाउदै मनमनै पुकारा गरिन्- “हे बाबा मलाई अरु केहि चाहिँदैन, मेरा बूढाकाे मति बुद्धि सुध्रियाेस्, मलाई माया गरून् ।”

यता बिहानै मर्निङवाक निस्केका उनका बूढाकाे, एक पुराना साथीसंग अचानक जम्काभेट भयाे । हेलाे हाई, खाेजखबर गर्दागर्दै आठ बजेमात्र घर आए । घरमा श्रीमती र छाेरी नदेखेपछि मनमनै सम्झिए- “आज साउने साेमबार, पक्कै शिव मन्दिर गई हाेला छाेरी लिएर । कस्ती मान्छे कम्सेकम मलाई त भनेर जानुपर्ने, यसकाे बेहारै नराम्रो ।” मनमनै पुकारा गर्न थाले- “हे भाेले नाथ मेरी बुढीकाे मति र बुद्धि सुधारेर पठाइ दिनु है, घर झगडा कहिले न हाेस् अबदेखि ।’

उनले घडि हेरे ८/४५ भएकाे थियाे । किचनमा पसे, सबैतिर खाेजतलास गरे । फेरि बाहिर आए । ग्वालिमा गाई उनैलाई हेरेर कराउँदै थियाे । उनी गाईको थलामा पुगे, चारैतिर हेरे, केही देखेनन् । एउटा परालको मुठाे गाईलाई हालिदिए । गाई मिठाे नलागी नलागी चपाउन थाल्यो ।

उनी फर्केर काेठामा गए । लुगा लगाएर निस्किए ।

उता सारदा पुजा सकेर घर फर्किन लाग्दा भीआईपी सवारीले बाटाे बन्द भयाे । नराम्ररी तीन घण्टासम्म फसिन् । छाेरी भाेकले रुन थालिन् । चार बज्न लाग्याे ।

उनलाई पनि टाउकाे दुखेर रिङ्गटा लाग्न खाेज्दै थियोे । उनले घर सम्झिन्, मास्टर बूढा खाएर गएकी भाेकै स्कुल गए, ग्वालीमा गाई कराउँदै हाेला ।

फेरि उनले पुकारा गरिन्- “हे भगवान् म याे के फसादमा परें, कहिले घर पुग्नु ।”

नानी झन् झन् साराे रुदै थिई ।

याे सबै परिदृश निहालिरहेका, तीनै जनाकाे एउटै पुकारा र अनुराेघ सुनिरहेका, भाेले बाबा भने मन्द मुस्काउदै मनमनै भन्दै थिए- “हे धर्तिवासी नर नारी, सबै समस्याकाे समाधान तिमीभित्रै छ, नियालेर आफ्नाे अन्तरमा हेर, कति सजिलाे समाधान छ । किन मलाई समस्या सुनाउँदै पुकार्छौ ।”


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button