
प्रेमपत्रः फेसबुकको सर्चबक्समा तिमीलाई के भनेर सर्च गर्ने ?
विनोद अर्याल
तिमीलाई मैले यति राम्री कहिल्यै देखेको थिइनँ, जब तिमीले हिजो बन्द गरेको ढोका खोल्दै केही कुरा गर्दै थियौ ।
तिमी संवाद लम्बाउने कुराहरू गर्दै थियौ । भन्दै थियौ, ‘मैले देखिन, केही ढिला भयो ।’
तिमीले ढोका लगाउन पनि मलाई दिइनौ । ढोका लगाउँदै धेरै कुराहरू गर्न खोजिरहेकी थियौ । मैले तिम्रो भाव बुझ्नेै सकिनँ । केवल ठिक नि केही छैन भन्दै आफ्नो कोठातर्फ निस्किएँ तर तिमी तल केही क्षण अल्मलिएकी थियौ । मैले ढोका खेलेर भित्र पसिसकेपछि मात्र तिमी आफ्नो कोठामा गएकी थियौ । तिमी मलाई केही कुराहरू भन्न चाहेको जस्तो लागेको थियो तर म भने तिमीले भन्ने चाहेको कुरा सुन्न नचाहेको जसरी निस्किएँ ।
हुन त हामीहरू बीच हिजो नै पहिलो संवाद थियो किनकि हिजो तिमी एक्लै थियौ । प्राय तिमी सधैं आमासँग नै हुन्थ्यौ । त्यसैले त होला तिमीसँग कुराकानी नभएको । मलाई यो कुरामा पश्चाताप छैन बरू पश्चाताप त यो कुरामा लाग्छ कि हिजो तिमीले चाहँदाचाहँदै नि तिमीसँग किन बोलिन ?
हुन त तिम्रो नाम पनि थाहा छैन फेसबुकको सर्च बक्समा गएर टोलाएँ, तिमीलाई के भनेर सर्च गर्ने ? तिम्रो बारेमा मलाई खासै धेरै थाहा छैन । म अबोध थिएँ तिम्रो सुन्दरतादेखि । कसैले आएर तिम्रो सुन्दरताको बयान नगरेको पनि होइन । तर मेरो ध्यान जान सकेन किनकि मेरा आँखाले नदेखि विश्वास गर्नेै मन नै लागेन । तिमीसँग अनेकौं भेटहरू भए तर तिमीलाई मैले त्यो नजरले हेरिनँ । त्यसैले त होला तिम्रो सुन्दरताको सुवासले मलाई नछोएको । जब तिमीलाई देखेँ, तिम्रो सुन्दरताले मलाई लठ्ठाएको छ अफिमले जस्तै । न केही गर्न सक्छु न केही सोच्न नै । मात्र तिम्रो त्यो मुहार अनि तिमी बर्बराएको तिम्रो त्यो सुरिलो स्वर मेरो मन मस्तिष्कमा घुमिरहेको छ र सधै घुमिरहोस् जस्तो पनि लाग्छ मलाई ।
निदाउन सकेको छैन म । जतिबेला पनि तिम्रो कल्पनामा डुबिरहन्छु र डुबिरहुँ जस्तो पनि लाग्छ कुनै महासागरमा तिमी र म । बगैंचामा फुलेका फूलहरूले हाम्रो लागि सुगन्ध छरिरहेका हुनेछन् । वसन्त पनि हाम्रो पर्खाइमा रहनेछ ।
तिमीलाई म के भनेर सम्बोधन गरौँ ? न त तिम्रो नाम नै थाहा छ । मलाई वस् थाहा त यत्ति मात्र छ कि तिमी संसारकी एक सुन्दरी हौ, जसको सुन्दरताले म पागल भैसकेको छु । मेरो पागलपनको उपचार गर्ने कुनै पागलखानामा छैन । तिमीबाहेक तिमीलाई मैले यसरी देखेको थिइनँ या भनौं तिमी मेरो नजरमा परेकी थिइनौ । जब तिमी मेरो नजरमा पर्यौ अनि म सारा संसारलाई नै बिर्सिएर तिमीलाई सम्झिरहेको छु हरपल । हरक्षण सम्झिरहुँ जस्तो पनि लाग्छ, धपक्क बलेको तिम्रो मुहार जसले आजकाल कैदीबन्दी जस्तै लाग्न लगेको छ आफूलाई । आफुमै कैद भएको जस्तो पनि लाग्छ तिम्रो सम्झनामा । तिमीबाहेक त अरू सोच्न पनि सकेको छैन । सोच्नु पनि कसरी ?
मेरो कल्पनामा तिमीले शासन गरिबसेकी छौ र तिम्रो शासनकाल लम्बियोस जस्तो पनि लाग्छ कैयौं समयको लागि । खै किन यसरी आफूलाई नै तिम्रो कल्पनामा बन्दी बनाएर राखेको छु ? जवाफ छैन मसँग र म जवाफ खोज्ने प्रयास गर्छु केही पाउँदिन तिम्रा कल्पनाहरूबाहेक ।
म त सोचाइमा डुब्न पुगेछु थाहै नपाई, तिम्रा कल्पनामा मात्र । खै तिमी कताबाट आउँछौ मेरो कल्पनामा थाहै पाउँदिन अचेल । मनमा अनौठा अनौठा कुराहरू खेल्छन् । जता पनि तिम्रो नै उपस्थिति भएजस्तो लाग्छ । मैले खाना पकाउने किचनमा तिमीले हतारहतार गर्दै खाना पकाएको जस्तो लाग्छ । तिम्रो कपाल जतिबला पनि तिम्रो मुहारतिर आएर डिस्ट्रब गरिरहन्छ तिमीलाई । कपाले पनि तिमीलाई जिस्काए जस्तो लाग्छ । मैले त्यो कपाललाई मिलाएर बाँधिदिन्छु । तिमी मुसुक्क मुस्काउँदै मेरो ओठमा ओठ जोडेर मायाको आभाष दिलाउछौ । म झसङ्ग हुन्छु र कल्पनाबाट व्युँझिन्छु अनि आफै मुसुक्क मुस्काउँछु । कहिलेकाहिँ त काल्पनिक कुराहरूले पनि खुशी बोकेर आउने रहेछन् जब आफ्नो या भनौं तिम्रो मायाको नजरबाट हेर्न लागेपछि ।
पसलमा राखेको दुबोको माला देख्दा तिम्रो नै कल्पना गर्छु । कतै टोलमा पन्चेबाजा बज्यो भने म तिमीलाई सम्झिन्छु ।
तिमीलाई थाहा छ, दुबोको माला कैयौं ससाना दुबोहरूलाई एकै धागोले बाधेर बनाइएको हुन्छ । सायद हाम्रो जीवनमा पनि यस्तै ससाना सुखदुखका पलहरूलाई माया र भरोसाको धागोले बाधेर राखेको हुन्छ अनि पछि नियालेर स्वच्छ हृदयले हेर्दा हाम्रो जीवन पनि कति सुन्दर देखिन्छ हगि ? विवाहमा दुबोको माला मात्र साटिँदैन, त्यहाँ प्रेम साटिन्छ, सुख साटिन्छ दुख साटिन्छ स्नेह साटिन्छ या भनौ सारा जीवन साटिन्छ । सायद को पो चाहदैनन् होला र यो संसारमा आफूभित्र अनगिन्ती कुराहरू साटेर जीवनको एक गन्तव्यहिन यात्रा गर्नलाई । सायद यो संसारमा माया, प्रेम र स्नेह भन्ने शब्द नहुँदो हो त कुनै पनि मानिसले जीवनको एक गन्तव्यहिन यात्राको सुरुवात नि गर्ने थिएन होला । सुरुवात त अझ के भनौ परिकल्पना पनि त गर्ने थिएन ।
मभित्र पनि अचेल तिमीसँग जीवनको अनाधिकृत बाटोमा हिँड्ने रहर जागेको छ । नजागोस् पनि त कसरी ? तिमी मगमग वास्नामय फूल हौ अनि म तिम्रो वरिपरि भमरा । जिन्दगीभर तिम्रो वरिपरि घुमुँजस्तो पनि लाग्छ । के भएको छ मलाई ? केही पनि थाहा पाउँदिन । रातभर मलाई तिम्रो यादले सताइरहन्छ । तिम्रा यादहरूबाट म उम्किन पनि सक्दिनँ । केवल सिरानी च्यापिरहेको हुन्छु । कहिले सिरानीलाई नै किस गर्छु तिमीलाई सम्झेर ।
खै कताबाट हो मेरो मनमा उर्जा भरिएको छ । तिमीलाई आफ्नो बनाउनलाई मनका सबै कुराहरू तिमीसँग एकान्त सुनसान ठाउँमा बसेर गर्नेछु । तिमीसँगै जीवनका खुशीहरू साट्नेछु । सायद तिमी पनि मेरो हातमा हात समाएर आफ्ना अनेकौं कुराहरू सुनाउनेछौ । म तिम्रो बरबराउने ओठको तालमा सबै कुराहरू मनको डायरीमा कहिल्यै नमेटिने गरी लेख्नेछु हाम्रो प्रेमको बारेमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



