
एसएलसी पास गर्न भाकल !
प्रकाश अजात
२०५५ सालमा एसएलसीकाे अनुहार राक्षसजस्ताे थियाे। एसएलसि परिक्षामा असफल हुँदा आत्महत्या गरिएका खबर आउने युग थियाे त्याे। उतिखेर (इफ् आइएम नट रङ) ४४ जनाले शंखादेवी मावि(न्वाकाेट)बाट एसएलसी दिएका थिए। हाम्राे परीक्षा केन्द्र देबिघाटकाे रभु मावि थियाे। थियाे। र, केही महिनादेखि नै हामी एसएलसीकाे महाभारत युद्ध लड्न देविघाटमा डेरा गरि (हामीचाहिँ ठूली आमाकाे घरमा) बसेका थियाैँ।
टट्याङ पठ्याङमा पहिले देखि नै अघि थिएँ। स्कुल रअन्तरस्कुल स्तरमा हुने भाषणभुषण प्रतियाेगिता पनि जित्थेँ, कविता नि लेखिटाेपल्थेँ। अतिरिक्त क्रियाकलापमा पुरस्कार मेरै हात पर्थे। तर पढ्ने कुरामा लिच्चड। म्याथ भनेसि साताे जान्थ्याे। अउँरेजीमा चाहिँ लटरपटर बनाएरै किन नहाेस्, म सबैलाई भ्याइदिन्थेँ।
एसएलसिमा अरु विषय त पास हुन्छु भन्ने थियाे, म्याथले परान लिन्छ भन्ने थियाे। त्यसैले मैले “हे घाटकी देबी, गणीतमा ३२ दिइदेउ, अरु मै पास गर्छुु” भनेर मैले देविघाटकी ठूली देवी-जालपासँग भाकल गरेँ। भर थिएन, तैपनि ठूली देवीभन्दा मेरा अरु काेही सहारा थिएनन्। किनभने हिसाब मेराे जन्मजात सत्रु थियाे। २ र ३ कक्षामा (गाेर्स्याङकाे प्राथमिक स्कुल) मा सप्तरीका सुगम्बर यादबले सिमलीका लठ्ठीले कुटेर मलाई याे जुनीलाई हिसाबकाे पाेस्तक पढ्न नपाए हुन्थ्याे भन्नेगरी कायल बनाएका थिए।
र,देबिघाट इपिसेन्टरमै हिसाबकाे ट्युसन नि शिवमणि घिमिरे सरसँग पढिटाेपलेकाे थिएँ। तर मलाई हिसाब पढ्नु र ढुंगा चपाउनु उस्तै लाग्थ्याे। तैपनि कर्मकाण्ड गरेझैँ सरका कक्षामा जान्थेँ र पढेझैँ गर्थेँ। “नजाने पनि किताब भटट भट्याउनु पनि पुण्यकाे काम हाे र त्यसाे गर्दा पास हुने सम्भावना हुन्छ” भन्ठानिन्थ्याे। अन्तत: राक्षसकाे ढाेकाभित्र छिरियाे। ठसठस कन्दै जाँच दिइयाे। चाेर्ने हिम्मत नभएनि अलेलि टाक्कटुक्क चाेरियाे। र, त्यति धेरै विद्यार्थीमा ३ जना पास भए। म दाेस्राे भएँ। हे गाँठ्ठे, पास पाे भइयाे!
र, “ठूली देवीले पनि पक्कै मलाई पास गराउन भूमिका खेलिन् हाेला। उनले सहयाेग गरेकाे भए त पक्कै उनकाे पुजा गर्नुपर्छ। पुजा नगरे त उनले मलाई कारवाही गर्लिन्” भन्ने ठान्दै डराइ डराई तिनकाे बुर्चामा गएर टाक्कन टुक्कन फूल छरेँ। एसएलसीकाे प्रेत मन्साउन आफूले गरेकाे कसरत सम्झँदा अहिले मजै लाग्छ। अचेल न एसएलसी नामकाे ज्यानमारा प्रेत नै छ, न मान्छेकाे कमजाेर मनाेवलमा टिक्ने ईश्वरसत्ताप्रति नै मेराे विश्वास नै छ। निरन्तरकाे टाक्कनटुक्कन अध्ययनले मलाई प्रष्ट-भाैतिकवादी बनाएकाे छ। र, मैले गरेकाे स्नातकाेत्तरसम्मकाे औपचारिक अध्ययनले भन्दा मैले व्यक्तिगत रूपमा गरेकाे अध्ययनले नै मलाई जीवनदर्शन बुझ्न सक्ने बनाएकाे छ।
(अजातको फेसबुकबाट)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



