पछि त्यो परेवा कहाँ गयो ?

परेवाको मासु कोभीको तरकारीसँग खाएको सम्झिँदा !

पेशल आचार्य

केटाकेटीमा वन भात खाएको खूब याद आउँछ । मङ्सिर लागेपछि स्कुलमा ठूलो जाँच हुन्थ्यो । हामी वार्षिक परीक्षालाई त्यो बेलामा ठूलो जाँच भन्थ्यौं । जाँच मङ्सिर भरिमा सकिन्थ्यो । जाँचपछि विदा हुन्थ्यो । पुस र माघ पूरै छुट्टी हुन्थ्यो । सरस्वती पूजापछि मात्र नयाँ शैक्षिक सत्र लागू हुन्थ्यो ।

हामीले केटाकेटीमा कहिल्यै कुनै कक्षामा अरूले पढेर बेचेका या दिएका पुराना जडाउरी किताब पढेनौं । घरमा बुवा जागिरे भएकाले सधैँभरि नयाँ किताब मात्र पढेयौं । त्यो बेला चीन सचित्र भन्ने बाक्लो न बाक्लो चीनको पत्रिका आउँथ्यो । त्यसको मोल ५ रुपैयाँ पर्दथ्यो । हामी त्यो पत्रिका पहिले पढेर मख्ख पर्दै अनि नयाँ किताबमा गाला हालेर छक्क पर्दै सबै किताबलाई माया गरेर झोलामा थन्क्याउँथ्यौं ।

ठूलो जाँच सकिएपछि धान काट्ने समय सुरु हुन्थ्यो । त्यस बेलामा विकासे धान आइसकेका थिएनन् । पुराना धानका नाम दुम्सी, बलम्सार र रामबेलास भन्ने हुन्थे । प्रायः मङ्सिर मध्यतिर धान पाक्थे । कहिले आफैँले खेती गरेको छ भने जन (मजदुर) लगाएर धान काटिन्थ्यो । अरू कसैलाई बटिया÷अधिया दिएको छ भने आफूले अरू काम गरेर बटेदारबाट धान नआउन्जेलसम्म पर्खेर बसिन्थ्यो ।

बीचमा तोरीका लागि समय हुन्थ्यो । तोरीचाहिँ घडेरीमा छरिन्थ्यो । धेरै फल्थ्यो तोरी । तोरीको साग, गुन्द्रुक र तेलका लागि त्यो जमाना अति प्रसिद्ध थियो । तेल किनेर खाने जमाना थिएन । जो किनेर खान्थ्यो उसलाई गरिबमा गनिन्थ्यो । हामी केटाकेटी तोरी पेलेका दिन तातो तोरीको तेलसँग भात मुछेर खान्थ्यौं । अहिले पनि त्यो सम्झेर जीब्रोले पानी फेँक्छ ।

तराईमा धान पूरै काटेर लडाउने र निहिन सुकाउने चलन छ । त्यसरी सुकेको निहिनबाट फेरि आधा ढाडमा बाला काटेर मुठा बनाई बोझा बानेर गोरु या राँगा गाडीमा घरमा ल्याउने गरिन्छ । त्यसरी ल्याउँदा मूल गेडो धान आउने र बाँकी बोटमा फेदको भाग उहीँ खेतमै केही दिनका लागि छाडिन्छ । त्यो भागलाई चाहिँ लाहार भनिन्छ ।

धान घर पठाएपछि हामी जाँच सकिएको छ भने लाहारमा सिला खोज्न थाल्यौं । धानका छुटेपुटेका बालालाई खोज्ने काम नै सिला खोज्ने हो । सिला भनेको बटुल्ने हो । त्यसरी खोजेको सिला धान बेचेर हामी आफ्नो पेवापाते बनाउने गर्दथ्यौं ।

त्यसो गर्दा दुइटा कुराको फाइदा हुन्थ्यो । एक त काम गर्ने बानीको विकास हुन्थ्यो भने अर्को आफूले खोजेको धान बेचेर पैसा आउँथ्यो । जुन पैसाले हामी हाटमा गएर जिलेबी किनेर खान्थ्यौं । इनरुवा बजारमा गएर सिनेमा हेरिन्थ्यो । त्यो बेलासम्म एउटा मात्र फिलिम हल थियो । त्यो समयमा फिलिम हललाई टाँकिज भनिन्थ्यो ।

हिन्दी भाषाको प्रभावमा परेर होला टाँकिज भनिएको ।

धान सिला खोजेर बेचेकै पैसाले हामी त्यो बेलामा आफ्ना कक्षाका साथीभाइ मिलेर वनभात खान जान्थ्यौं । अहिलेजस्तो पिकनिक भन्ने चलन नै चलेको थिएन । हरेकका घरबाट एकएक माना चामल, एक ट्वाक दाल, चारपाँच दाना आलु, दुईतीन दाना प्याज, थोरै घरमा भएका सिजनका तरकारी, केही केस्रा लसुन, खुुर्सानीका ढिँडी, नुन, तेल र मसला सबैसँग बराबरी गरेर उठाइन्थ्यो ।

जोगीले पोको पारेझैँ सबै सामान पोको पारेर हामी धान काटेका तर लाहार नउठाएका खेतमा वनभात खान जान्थ्यौं । त्यो बेलामा अहिलेजस्तो ब्वाइलर कुखुराको चलन आइसकेको थिएन । कुखुरा भनेपछि लोकल नै बुझ्नु पर्दथ्यो । बाहुन बाहेक अरू जातले कुखुरा खान्थे ।

सम्वत् २०३४-०३५ साल तिरको कुरा हुनुपर्छ यो ।

हामी बाहुनले कुखुरा खानु हुँदैन भन्ने मान्यतामा अडिग थियौं । हिउँदमा आमाहरूले लिने स्वस्थानी व्रतको कथा वाचनमा पनि सघाउने भएकाले र भर्खर भर्खर व्रतबन्ध गरेका वटुकहरूले अप्सानी नहाली भात नखाने हुनाले कुखुराको मासु खानु पाप सम्झिइन्थ्यो ।

मेरो त्यो बेलामा व्रतबन्ध गरेको थिएन । मेरो व्रतबन्ध त सम्वत् २०३८ साल जेठ १० गते पशुपतिनाथको मन्दिर काठमाण्डूमा भएको हो । तीर्थ क्षेत्रका व्रतबन्धका लागि हामी बुवा र म मात्र आएका थियौं । व्रतबन्ध नभए पनि म चोखोनितो खानु पर्छ भन्ने सोचमा थिएँ । आफ्नो कुल धर्ममा रहनु पर्छ भन्ने मान्यताको केटो थिएँ । घरमा हरेक हिउँदमा स्वस्थानी व्रतकथामा आमालाई कथा श्रवण गराउने म नै हुन्थेँ । सस्वर पढ्दा खूप आनन्द आउँथ्यो पनि ।

भाइहरूले मैले गरेकोे कुरा सिक्ने जान्ने हुनाले मैले अलि अनुशासनमा बस्नु पनि पर्दथ्यो । म घरको जेठो छोरो थिएँ ।

हामी वनभात खान प्रायः मङ्सिर १५ गतेपछि मात्र जान्थ्यौं । अझ आमा र गाउँका हजुरआमाहरू त अमलाका फेदमुनि मात्र वनभात पकाएर खाएमा गति परिन्छ भन्नु हुन्थ्यो । त्यो बेलामा धर्मभिरू जमाना रहेछ । राजालाई मान्ने, गाईको पूजा गर्ने, कुलपितृको सम्मान गर्ने जमाना भएकाले आमा र हजुरआमाहरूको वचन ढुङ्गाको वचन हुन्थ्यो ।

अहिले सम्झँदा पनि आनन्द लागेर आउँछ ।

हामी एकपटक हाम्रो उत्तरतिरको धनहर अबल खेतमा वनभात खान गयौं । भकारी घरेका छोरा दयाकृष्ण पोखरेल अलि झ्वाँक्की स्वभावका केटा साथी थिए । उनी हामीभन्दा एक कक्षा मुनिको कक्षामा पढ्थे तर हामीसँग सबै कुरा मिल्ने भएकाले साथी बनाएका थियौं । त्यो वनभातको पनि उनैले नाम, लिष्ट उठाए । हामीले जिन्सी सामान सबै ठिकठाक पा-यौं । लानु पर्ने सामान केही बाँकी रहेन । थाल, कचौरा, गिलास, डाडु, पन्यौं र चम्चा समेत हालियो । उनले यो वनभातमा परेवाको मासु खानुपर्छ बुझ्यौ भनेर हामीलाई कन्भिन्स गरेका थिए । हामीले होँ मा हाँ गरेर कुरो मिलाएका थियौं ।

हो न हो आज मासु खान पाइने भयो भने हामी बिहानैदेखि खुसीले फुरुङ्ग परेका थियौं । उनले परेवा किनेर म ल्याउँछु भनेर हामीसँग उठाएको पैसा हिसाब गरेर आफैँले राखेका थिए । वनभात खान गैयो । काम भाग लगाएर सबैले आआफ्नो काम गरे । अब परेवा काटेर पकाउने बेला भयो । सबै उत्सुक थियौं । उनले चुलेँसीले परेवा काट्न लागेका थिए । उनले पनि बिर्सेका रहेछन् । एउटा बच्चो र अर्को बूढो भाले रहेछ । उनैले किनेका हुनाले उनलाई त थाहा हुनुपर्ने । किन बिर्सेका होलान् । एउटा बच्चोलाई पक्रेर काट्न ठिक्क पार्दैमा अर्को बूढो माउ भुरुरुअ उडेर गयो ।

हामी केटाकेटीहरू एक भन्नु न दुई भन्नु भई रुन्चे हाँसो हास्न थाल्यौं । त्यो वनभातमा हामीले फूलकोभी र परेवाको मासु मिसाएर तरकारी पकाएर खायौं । थोरै मासु भएकाले कोभीको तरकारी यति मिठो भयो कि अहिले पनि वनभात याने पिकनिकको लवज कतैबाट उठ्यो भने जीब्रामा पानी सररररअ आउँछ ।

एक मानेमा दयाकृष्णजीदेखि रिसरिस पनि उठ्छ । अर्को मानेमा हाँस उठ्छ । उनैले सायद बठ्याइँ गरेर एउटा बच्चो र अर्को बूढो भाले ल्याएका थिए कि भगवान् जानून । पाप चिताउनु हुँदैन भनेर हामीले केही पनि भनेनौं ।

पछि त्यो परेवा कहाँ गयो ? धेरै दिनसम्म पनि उनले र हामीले खोज्यौं । घरमा आएन । सायद् त्यो कतै भुलियो होला ।

आज पनि वनभात खान जाने कुरा उठेपछि परेवाको मासु कोभीको तरकारीसँग मिसाएर पकाएको र मिठो मानेर खाएको याद आइहाल्छ ।

म त्यो कुरा सम्झेर फेरि पनि बालकै हुन्छु र त्यही विगतको दुनियाँमा पुगिहाल्छु ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button