शिक्षाका आँखाबाट त्यो समय !

पेशल आचार्य

समय नदी रहेछ । अनवरत बगिरहने । कहिल्यै नथाक्ने । आफ्नो लय र लक्ष्यमा क्रियाशील भैरहने ।

मैले सम्वत् २०३८ सालमा एस्एलसी परीक्षा दिएको हूँ । अहिलेको एसइईलाई त्यो बेलाँ एसएलसी भनिन्थ्यो । सम्वत् २०३६ सालसम्म ४०० को व्यावसायिक विषयहरू पढाइ हुन्थ्यो । विद्यालयहरूमा व्यावसायिक विषयका रुपमा ४०० पूर्णाङ्कका विषयहरूमध्ये छानेर लिन पाइन्थ्यो । जसमा कुनै स्कुलले कुखुरापालन, कुनैले टाइपिङ्, कुनैले सर्टह्यान्ड, कुनैले वागवानी र कुनै कुनैले चाहिँ कार्यालय सञ्चालनजस्ता विषयहरू पढाउँथे ।

योचाहिँ भयो अलि अघिको कुरा । याने २ वर्ष अघिको ।

मैले एसएलसी दिँदा ९०० को कूल पूर्णाङ्कमा त्यो व्यावसायिक विषयको मेसो फेरिएर २०० को व्यावसायिक विषय पढ्ने चलन चलिसकेको थियो । मैले झापाको वीरेन्द्र मावि, चन्द्रगढीबाट एसएलसी दिएको हूँ । त्यो बेलामा हामीले एसएलसी दिएको विद्यालयले व्यावसायिक विषयका रुपमा ऐच्छिक द्वितीयमा कार्यालय सञ्चालन राखेको थियो । लेखा भन्ने विषयको पुच्छर जोडिएको हुँदैनथ्यो । जसमा १५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा प्रणाली हुन्थ्यो ।

मैले सेकेन्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरेको हूँ । हामीले एसएलसी दिँदा अहिलेजस्तो टेन सेटका नाममा प्रश्नपत्रका बग्रेल्ती पुस्तकहरू छापिने चलन नै चलेका थिएनन् । मैले अङ्ग्रेजी, गणित र विज्ञानजस्ता विषयहरू समावेश भएको मोटो किताब किनेर परीक्षाको तयारी गरेको हूँ । जसलाई ‘म्यानुअल’ भनिन्थ्यो ।

अरु विषयका कुनै पनि सहयोगी पुस्तिका र प्रश्नका किताबहरू छापिने चलन नै चलेको थिएन । कुनै कुनै सरहरूले महिनाको ५० रुपैयाँ लिएर ट्युसन पढाउने गर्दथे । त्यो बेलामा ट्युसन पढाउनु भन्दा पनि कक्षामै मिहीनेत गर्ने चलन थियो । मास्टरहरू मिहीनेती र विद्यार्थीहरू जिज्ञासु अधिक हुन्थे ।

हामी स्कुलमा मन लगाएर पढ्थ्यौं । स्कुलले गर्ने सबै प्रकारका अतिरिक्त क्रियाकलाप र सहक्रियाकलापहरूमा हामी मन लगाएर भाग लिने गर्दथ्यौं । स्कुलमा भित्ते पत्रिकाहरू पनि निस्कन्थ्यो । अहिलेजस्तो बाल क्लवको चलन चाहिँ थिएन । हामीले स्कुलमा मन लगाएर पढ्ने लेख्ने काम गरेकाले सर मिसहरू हामीलाई असाध्यै माया गर्दथे ।

हिउँदमा सरस्वती पूजा धूमधामसँग गरिन्थ्यो । सरहरूले नै आयोजना गर्ने भएकाले हामी सो पूजामा सहयोगीका रुपमा हुन्थ्यौं । एउटा कुरा गज्जबले अहिले पनि याद आइरहेको छ । अरु दिन माघका दिनमा नुहाउन असाध्यै गाह्रो लाग्थ्यो भने त्यो सरस्वती पूजाका दिनमा भने भक्ति भावका कारण हुन पनि सक्छ कि बिहानै चीसो पानीले नुहाए पनि हामीलाई फिटिक्कै जाडोको महसुस हुँदैनथ्यो । भएको जाडो पनि हामीबाट भाग्थ्यो ।

स्कुलमा धूमधामका साथ सरस्वती पूजा गरेर मात्र घरमा आई भात खाने गरिन्थ्यो । भोलिपल्ट माटाको मूतिलाई नदीमा सेलाउन लैजाने परम्परा नै हुन्थ्यो । हामी ट्रक भाडामा लिएर कहिले पूर्वको मेची नदी, कहिले सुनसरी र कहिले चाहिँ कन्काई नदीसम्म मूर्ति सेलाउन भनेर आउने गर्दथ्यौं ।

सरहरूको मान मनितो खूबै हुन्थ्यो । अझ हामीले त भारतीय शिक्षकहरूलाई घरमा राखेका थियौं । ती सरहरू भारतको विहार राज्य अन्तर्गत दरभङ्गाबाट आएका हुन्थे । उनीहरू एक्लै आउँथे र बस्थे । सक्नेले एउटै घरमा र नसक्नेले तीनचार घर मिलेर एकजना मास्टरजी राख्ने गरिन्थ्यो । यो चलन मेरो बिहे हुने बेला सम्वत् २०४८ सालसम्मै चलेको थियो । मलाई सम्झना छ मेरो बिहे हुँदा २०४८ सालमा ती मास्टरजी (जसलाई हामी काइते मास्टर भन्थ्यौं) लाई कमिज, सुरुवाल, धोती र जुत्ता बिहे भागका रुपमा दिइएको थियो ।

समाजको उहिलेजस्तो मास्टर प्रतिको आदर र मनितो अहिले साट्टै घटेको छ । त्यसबेलामा शिक्षा पेसा नभएर सेवा थियो भने अहिले पेसा भयो । अझ बोर्डिङ् स्कुलहरू त बेपार गर्ने थलो नै भएका छन् । लुगा, जुत्ता, झोला, टाई, किताब, परिचयपत्र, कापी लगायतका अनेक कुराहरूले गर्दा शिक्षालाई कमोडिटी मार्केटमा विक्रीको जिनिश बनायो ।

त्यसैले अहिले बाहिरबाहिर मास्टरलाई मानेजस्तो गरे पनि भित्र भने सरकारले, जनताले र आम नागरिक समाजले पनि तीन कौडीको मान्छेमा गन्दैनन् । अझै मास्टरले खाने तलबलाई अनुदान भनेर दिइन्छ जबकि सबै राष्ट्र सेवकहरूले खाने तलबलाई कसैले पनि अनुदान भनेको छैन ।

कहिलेकाहीँ यस्तैयस्तै कुराले विगताकाङ्क्षी बनाउँछ । विगतका यादहरू झल्झली आउँछन् । अनि त्यसैत्यसै ती दिनहरूमा अनायाशै पुगिहालिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button