पद्मकन्या कलेजमा के के गरिएन ?

प्रतिभा सुवेदी

त्यति बेला पद्मकन्या कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भयो । त्यो समयमा सामान्य किसिममा नै चुनाव भएको मलाई सम्झना छ । मलाई साथीहरूले चुनावमा उठ्न भने । घरमा भनेको भए त मलाई भाग लिन दिन्थेनन् । हाम्रो टिमभन्दा अघि युनियनमा रत्ना थिइन् ।

त्यति बेला त्यो समूहमा रत्नालगायत उषा दीक्षित, मीना पाण्डे, शारदा उप्रेती लगायतका साथीहरू भागवत गीताको चर्चा गर्दथे । मङ्गलबार गणेश मन्दिर अनिवार्य जाने गर्दथे । प्रा. शिवगोपाल रिसालको अध्यात्म दर्शनमा गहिरो दक्खल थियो । किनकि साहित्यमा राम्रो भएका विद्यार्थीहरूलाई पुरस्कारमा पनि गीताको पुस्तक वितरण भएको थियो । मलाई त्यति बेलासम्म भागवत गीताका महत्वबारेमा केही थाहा पनि थिएन । पढेको पनि थिइनँ ।

म, सृजना शर्मा, सीता प्रधान, गङ्गा श्रेष्ठ, उर्मिला श्रेष्ठ, रीता प्रधान हामी सबै जोसिला थियौँ । हामी निर्वाचनमा भाग लिने भयौँ । चुनावका लागि एक–दुईवटा पोस्टर बनाएर टाँगेका थियौँ । त्योभन्दा अघि चुनावमा पोस्टर पनि टाँसिएको थिएन रे । धेरै महिला विद्यार्थीहरूलाई चुनावको चासो पनि थिएन । त्यही पोस्टरका कारण पनि चुनावमा जित्यौँ । त्यसपछि विजयी टिमले साथीहरूलाई धन्यवाद दिनुपर्ने भयो । कलेजको हातामा एउटा चौतारा थियो । त्यही रूखमुनि हामी जम्मा भयौँ । अनि म मञ्चमा उक्लेँ भाषण गर्नलाई, तर म अलिकति अलमलिएँ । राम्रो भाषण गर्न सकिनँ, मलाई साथीहरूले गाली गरे ।

केही साथीहरूले राजनीतिक भाषण सुन्न खोजेका रहेछन्, तर त्यो क्षमता आइसकेको थिएन । कुनै पनि पार्टी विशेषका नेताहरूले पनि हामीलाई चिनेका थिएनन् र केही सिकाएका पनि थिएनन् । यसै जोसको भरमा जितियो पनि । यता युनियनको चुनावमा आएपछि जानिनजानी राजनीतिमा आइयो । त्यो भिजन पनि थिएन । राजनिति गर्ने कि पढ्ने भनेर बुबाआमाले गाली गर्न लाग्नुभयो । किनभने मेरा काका मुरारीमोहन शर्मा खतिवडा काङ्ग्रेस राजनीतिमा लागेर काठमाडौँबाट दुम्जा गई प्रशिक्षणमा लागेर उच्च अध्ययन छोडेकामा बुबालाई दुःख लागेको थियो । परिवारिक विमतिकै बीचमा यसरी जेनतेन छ महिनाजति बीए पढ्दा म युनियन प्रेसिडेन्ट भएँ ।

त्यस बेला नयाँ शिक्षा योजना लागू भएको थियो, त्यसको विरोध गरेका थियौँ । तर त्यसताका पद्मकन्या कलेजमा इन्द्रराज मिश्र प्रिन्सिपल हुनुहुन्थ्यो । अङ्गुरबाबा जोशी विदेश जानुभएको थियो । हामीलाई तिमीहरू केटीहरू भएर हडताल नगर भनेर सम्झाउनुहुन्थ्यो । हामी चुप लागेर सुन्नु हुँदैन पनि नभन्ने, भोलिपल्ट हड्तालमा भने सामेल भैहाल्ने गर्दथ्यौँ । त्यस बेला वैशाख महिनामा आइए पास गरी बीएका लागि कलेज जाने समय मेरो एक वर्ष मात्र जस्तो थियो । ढिलो रिजल्ट हुदा एक वर्ष कलेज नै जान पाइँदैनथ्यो । पद्मकन्या कलेजको मेरो पढाइ छोटो थियो । मपछि बाँकी समय सृजना शर्माले आफ्नो अगुवाइमा युनियन सञ्चालन गरिन् । उनको परिवारिक पृष्ठभूमिमा जेठा दाजु आनन्ददेव भट्ट भएकाले उनी प्रगतिशील पक्षकी भइन् । मेरो पारिवारिक पृष्ठभूमिमा मुरारीमोहन शर्मा, लवप्रसाद शर्मा, प्रदीप खतिवडा र बन्धु खतिवडा थिए । मेरो समर्थन रूख चिन्हमा नै अघि बढ्यो । मेरो माइती पक्षका बुबा, काका, दाजु, दिदी, भाइहरु पवन खतिवडा, विनय खतिवडा सबै जन्मजात काङ्ग्रेसबाट प्रभावित थिए । बुबाका मावली मालीगाउँ, मुड्खु, काठमाडौंका आचार्यहरू हुन् ।

उनीहरू पनि पनि काङ्ग्रेस राजनीतिमा लागेको हुनाले उनीहरूका बुबा बद्री आचार्यको न्यायाधीश जागिर खोसिएको थियो । मेरा बुबालाई पनि काङ्ग्रेस समर्थक भएकै कारण जागिरमा खेदिएर बहादुरगन्ज हुँदै, चितवनबाट डोटी सरुवा हुनुपरेको थियो । अनि बुबाले जागिर छोड्नुभयो र चितवनमा बस्नुभयो । उहाँ बस्नुभएको ठाउँलाई हाकिम चोक भनिन्छ । त्यस समयमा त्यस स्थानमा त्यही एउटा घर थियो । उ त्यो हाकिमको घर भनेर लोकेसन दिन प्रयोग गर्दागर्दै हाकिम चोकको नाम चलनचल्तीमा आयो । यसपछि वीए सन् १९७४ मा पास भए । छोरीहरुले वी एड (शिक्षाशास्त्र) पढेर शिक्षिका भएको राम्रो भनेर भन्नेमा हाम्रो वुवा र दाजुहरु एक हुनुहुन्थ्यो । सन १९७५÷१९७६ एक वर्षे वीएड अध्ययन गर्दा ताका मेरा साथीहरु विजया केसी, विनोद गुरागाई, शंकरकुमार श्रेष्ठ, रामकुमार श्रेष्ठ, ईश्वर पोखरेल, तुलसा लता अमात्य र सुशिला शाक्यहरु हुन् । मेरो दाजु प्रदिप खतिवडा, लवप्रसाद खतिवडा, तुलसी भट्राई आदिले पढाउनु हुन्थ्यो । केदारभक्त माथेमा प्रिन्सिपल हुनुहुन्थ्यो ।

त्यतिबेला त्यही क्याम्पसमा प्रदिप खतिवडा दाजुले पनि प्राध्यापन गर्नु हुन्थ्यो । छ छोरीहरु शिक्षिका हुनपर्छ भन्ने बुवा दाजुहरुको ईच्छा थियो । बिना पन्त दिदी पनि सँगै अध्ययन गर्ने मौका मिल्यो । विद्यार्थी राजनीतिमा मेरो संलग्नता पदमकन्या क्याम्पसमा छोटो रह्यो । वीएड पढ्दाको समय राजनीतिमा भाग लिइनँ, अध्ययन मात्र गरेँ । घर परिवारले छोरीले राजनितिमा भागलिन हुँदैन भन्नेको मात्र एकमत भयो । मेरो भुमिका पछि पनि परिवारका पुरुष सदस्यलाई सहयोग गर्ने भयो । मेरो उर्जा अध्ययनमा र सामाजिक काममा गयो । विद्यार्थी राजनीतिमा मेरो संलग्नता छोटो रह्यो । विद्यार्थी जीवनमा नै जेल नगएको व्यक्ति हुनाले राजनीतिमा स्थान पाउन कठिन भयो ।

मेरो भूमिका परिवारका पुरुष सदस्यलाई सहयोग गर्ने भयो । मेरो ऊर्जा अध्ययनमा र सामाजिक काममा गयो । यसपछि सन् १९७४ मा बीए पास भएँ । छोरीहरूले बीएड् पढेर शिक्षिका भएको राम्रो भनेर भन्नेमा हाम्रा बुबा र दाजुहरू एक हुनुहुन्थ्यो । सन् १९७६ एक वर्षे बीएड् पनि पूरा भयो । केही समय अध्यापन गर्ने मौका भयो । त्यति बेला त्यही क्याम्पसमा प्रदीप खतिवडा दाजुले पनि प्राध्यापन गर्नुहुन्थ्यो । बिना दिदी पनि मसँग बीएड्को अध्ययन गर्नुहुन्थ्यो । छोरीहरू शिक्षिका हुनुपर्छ भन्ने बुबा, दाजुहरूको इच्छा थियो । तर मलाई अर्थशास्त्रमा एमए गर्न मन थियो । सन् १९७७ सालतिर म त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा भर्ना भएँ ।

हामी महिलाहरूमा आइए पढ्दा बीस जना सहपाठी थियौँ । एमए पढ्न पुग्दा सङ्ख्या घट्दै गएर जम्मा पाँच जनामा पुगेका थियौँ । यो एमएको अध्ययन पूरा गर्न मलाई पनि निकै कठिन हुन थाल्यो । विद्यार्थी हुँदैको समयमा विवाह भयो ।

(सुवेदीको प्रकाशोन्मुख पुस्तक ‘मेरो पहिचान’बाट)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button