बाउलाई आमा मन परेन, आमालाई बाउ, बच्चाको के दोष ?

लक्ष्मी मैनाली पाठक

मनमा अनेकौं सवालजवाफ पैदा भए नि कसैसँग केही सोध्दिनन् रितु । गाह्रोसाह्रो जे होस्, कसैसँग गुनासो छैन । मनभरी पिडा त हुँदो हो । दुख पोख्ने ठाँउ पनि पाउँदिनन् । समय बित्दै जान्छ, वरपर सबैको परिवर्तन देख्छिन् । आफैमा अचम्मको महसुस गर्छिन् । जमाना कति स्वार्थले भरिसकेछ ।

विवाह गरेर गएको पाँच बर्ष नि भएको छैन । पल्लाघरकी सानी माइतीघरमै छिन् । आफ्नो विवाह गरेको यत्रो बर्ष भैसक्दा नि चाडबाडमा जान नि हम्मेहम्मे छ ।उनीहरुले त घर पनि कस्तो पाको होला भन्ने सोच्छन् भन्ने सोच्दै भान्सामा दाल बसाल्दै गर्छिन् । यतिकैमा मोबाइलको घण्टी बज्छ । हेर्छिन् छोरीको हुन्छ । हत्पत उठाउँदै बोल्छिन्, के छ सन्चो बिसन्चो । नियमित झै आमाछोरीको कुराकानी हुन्छ ।

कुरैकुरामा छोरीको मुखबाट थाहा पाउँछिन् पल्लाघरे सानीको पर्सि बिहे हुने कुरा । सामजिक सन्जालमा नजोडिएकी रितु बल्ल पो था पाउँछिन् सानी माइती बस्नुको कारण, चार बर्षको त्यो अबोध बालक आमा र बाउबिनाको कस्को सहारामा बाँच्छ होला । मनमा अनगिन्ती प्रश्नले दिमाग तताउँछ ।

त्यो बच्चाको के दोष ? बाउलाई आमा मन परेन, छोडिदियो । आमालाई बाउ मन परेन छोडिदिइन् । एक आपसमा समझदारी गर्न नसक्ने सम्बन्धको के अर्थ ? फेरि पनि जोडिएको सम्बन्ध दिगो होला भन्ने के ग्यारेन्टी ? यसरी नै कति अबोध बालकले आफ्नै बाबाआमाले गरेको गल्तिको शिकार हुनुपर्ने होला ? स्वार्थैस्वार्थले भरिएको यो संसार र समाजमा उस्ले आफ्नो अस्तित्व बनाउन सक्ला त ?

यिनै अनेक प्रश्न मनमा खेलाउँदै बच्चाको भविस्य अन्योलमा धकेल्ने यस्ता आमाबाउले पनि जीवनभरी सुख पाउलान त ? त्यो बच्चाप्रति मातृत्वप्रेमले भरिएको रितुको आखा रसाउँछन् । दिनभरिको कामले थाकेको आफ्नो शरीरलाई विछ्यौनामा विश्राम दिँदै तिनै अबोध बालकको अनिश्चित भविस्य सोच्दै लोलाउँछिन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button