शुक्रबार हाफ, शनिबार साफ, आइतबार त बाफ रे बाफ !

कुकुरलाई ‘लाइफ ब्वाइ’ साबुनले नुहाउँथ्यौं

पेशल आचार्य

जिन्दगी बिन्दास रहेछ ! भनिन्छ –‘जीवन व्यस्त, मानिस मस्त !’ यो त मैले निक्कैपछि मात्र बुझेको हूँ ।

केटाकेटी जीवन उधुम खेलेर÷कुदेर नै बिताइयो । करिब ८÷१० वर्षको उमेरसम्म मैले पढ्ने के ? विषयवस्तुहरू बुझ्ने कसरी ? कसका लागि पढेको ? किन पढेको ? यो पढेर जीवनमा के प्राप्ति हुन्छ ? पढ्ने मानिस र नपढ्ने मानिसका बीच खासमा के अन्तर हुन्छ ? मानिस सीपले चिनिन्छ कि ज्ञानले भन्नेजस्ता कुरा केही पनि बुझेको थिइनँ । त्यो जमानामा हामीलाई यी र यस्ता कुराहरू मिहीन रुपले बुझाइदिने गुरुहरू कोही पनि थिएनन् ।

त्यो जमाना नै अँध्यारो थियो । किताब पढ्नु नै पढेको मानिन्थ्यो । सिनेमा हेर्न उधुम मन लाग्थ्यो तर सिनेमाप्रति आम मान्छेको जस्तै मेरा घर परिवारका बाआमा र छिमेकीको समेत नकारात्मक धारणा थियो । त्यसैले हामी बा आमाको आँखा छलेर लुकीलुकी फिलिम हेर्दथ्यौं । हाम्रा लागि फिलिम नै जीवन बुझ्ने र बुझाउने एक मात्र विश्वविद्यालय थियो ।

पहिलेपहिले हिन्दीका श्यामश्वेत फिलिमहरू धेरै हेरियो । पछि मात्र रङ्गीन सिनेमा आएका हुन् । ठ्याक्कै त याद छैन तर सोले भन्ने चर्चित फिलिममा इष्टरमेन कलर भन्ने लेखिएको थियो । त्यसको मतलब त्यो बेला कसैले बुझाइदिएनन् । हामीले पनि सोधेनौं । पछि जागिरमा रहँदा २०५६ सालतिर मन्थलीमा शिक्षक तथा अध्येता नारायणप्रसाद सुवेदीले बुझाइदिनु भयो । सोले नामक हिन्दी फिलिममा ‘इष्टर मेन’ नामका विदेशीको प्रयोगमा कलर (रङ्गीन) फोटो प्रविधिको प्रयोग गरिएकाले ‘इष्टर मेन कलर’ भनिएको भनेर बुझेँ । वहाँ निक्कै गहिरो अध्येता हो । वहाँबाट मैले धेरै कुराहरू सिकेको छु । जो म पछिपछिका बेलगाम डायरीहरूमा विस्तारका साथ लेख्ने छु ।

अहिलेलाई चाहिँ सम्वत् २०३२ साल तिरका कुकुरका केही घटनाहरू सम्झन्छु । हुन त यस अघि नारान काका कहाँबाट ल्याएको बेलायती कुकुरका बारेमा लेखिसकेको छु तर पनि पूरै धीत मरेको छैन ।

त्यही चन्दने नामक बेलायती कुकुरसँगका केही रानारुनी सम्झनाहरू अझै बाँकी छन् । बच्चाका बेलामा यस्ता कुराहरू खोतलेर लेख्दा सारै हलौं हुने गर्छ । त्यसैले म केही महिनादेखि बेधडक लेखिरहेको छु ।

ऊ बेलामा शुक्रबार हाफ छुट्टी हुन्थ्यो । कहिलेकाहीँ अतिरिक्त क्रियाकलाप भए पनि चौथो घन्टी अघि नै सबै सकिन्थे । लोकल मास्टरहरू हामीभन्दा अघि नै घर जान हतारिएका हुन्थे । सबैका केही न केही काम बितिरहने । कसैका भैँसीले राँगा खोज्ने त कसैको मिलमा धान कुटाउन लैजानु पर्ने हुन्थ्यो । अनि कोहीकोही गुदरीमा तरकारी किन्न जान हतारिएका हुनाले हामीले राहत पाएका हुन्थ्यौं । तर ती सबै कुरा हाम्रो केटाकेटी दिमागमा घुस्दैनथ्यो । घुसोस् पनि कसरी हामीलाई पौरी खेल्न, काब्रा खान र आसपास खेल्न बितिसकेको हुन्थ्यो ।

यसो सोच्दा अहिले लाग्छ केटाकेटी समय पूरै खेलेरै नबिताएको भए लेखक हुने सामल जिन्दगीले यति निःशुल्क दिने थिएन । त्यसैले त्यो बेलाको जिन्दगी, स्कुल, स्कुले लोकल मास्टर र साथीसँगीलाई अहिले म यो एकान्तिक स्थलबाट मुरीमुरी धन्यवाद दिन चाहन्छु । ती सबै हिन्दीमा भनिएझैँ ‘बिते हुए कल !’ भैसके । कसैकसैलाई थाहा होला नत्र नयाँ पुस्ता हाम्रा जीवनका यस्ता बेमिसाल आनन्द दिने पहेलीहरूबाट पूरै बेखबर छन् ।

हामीले ऊ बेला छुट्टीका बारे एउटा गीतै बनाएका थियौं—

‘शुक्रबार हाफ,
शनिबार साफ !
आइतबार त बाफ रे बाफ !!’

शनिबार पढाइ नहुने हुँदा बिन्दास खेलवाडमा बित्थ्यो । कहिलेकहिले चरुवासँग गाई चराउन गइन्थ्यो । एकपटक बिहानको पढाइ भएका बेला एघार बजेतिर स्कुल छुट्टी भएपछि घरमा आएर भात खाएर हुन्डरीझैँ वेगसँग गाईवस्तु चराउन गैयो । त्यो दिन अरु पनि धेरै साथीहरू बस्तुभाउ लिएर ‘बाद’ (तराईमा बाँझो खेतलाई बाद भनिन्थो ऊ बेला) मा गयौं । गहूँ काटेको भनेपछि चैत निगल्दो र बैशाख लागेको हुनुपर्छ क्यार । अलिअलि चप्पल लगाएका गोडामा गहूँका छवालीले घोचेको याद दिमागमा आउँछ ।

स्कुल लागेकै दिन भएकाले आइतबारदेखि शुक्रबारको कुनै एउटा दिन हुनुपर्छ । खेत लैजाने बित्तिकै पूरै गाईहरू एकर्कामा जुध्न थालेछन् । हामी केटाकेटी डरका मारे लुक्न ठाउँ खोज्न थाल्यौं । त्यो बेला हाम्रा घरमा बाख्रा पालिएका रहेछन् । भर्खर घाँस लाग्न लागेका काँक्राका चिराजस्ता पाठा र माउ पनि चराउन खोलिएको रहेछ ।

पूरै गाईवस्तु जुध्दा हाम्रो घरको एउटा रातो स्याल रङको बोको गोरु जुधेको बीचमा परेछ । वरा ! सिङ्ले चेपिएर प्या भन्न पनि नपाई परमधाम गयो । पछि हामी केटाकेटीले थाहा पायौं । म रुन लागेँ । मरेको पाठो बोकेर लाले भन्ने चरुवा घरमा आयो । आमाको खप्की खानु खायो । पाठोलाई आँपका फेदमुनि लगेर खाल्टो खनी गाडीयो । बाँकी रहेको बोकोले धेरै दिन उसको भाइ खोजेर प्याप्या गर्दै कराएको अझै झल्झली सम्झन्छु । यति मात्र कहाँ हो र मलाई त्यसपछि ‘साँढेको जुधाइ बाछाको मिचाइ’ भन्ने उखान जबजब सरहरूले नेपाली पढाउँदा पढाउँथे अनि त्यही बोको चेपिएको सम्झन्थेँ । त्यो उखानलाई जिन्दगीमा आफ्नालागि र विद्यार्थीका लागि जतिपटक प्रयोग गरियो त्यही बेलाका दृश्यहरू झल्झली याद आइहाल्थे, अझै आउँछन् ।

शनिबार ! पौरीको बार ! नहर जाने बार । बरको रूखमा ढोल खेल्ने बार । बाँकी सबै रमाइलो निखन्ने बार !!

चन्दनेलाई नुहाउन भनेर लाइफ ब्याइ साबन हसियाँले चटक्क काटेर कदमका पातमा बेरी कुकुर डोहो¥याउँदै नहरतिर लुसुक्क जाने दिन । अनि अर्को सम्झना पनि छ । शनिबार प्रायः गाउँमा खसी काटेर घरमा मासु ल्याउने हुनाले मासुभात खान पाउने दिन भन्ने मनमा आइरहन्छ ।

अझै त्यो बानी हटेको छैन ।

चन्दनेलाई नुहाउने त बहाना मात्र हुन्थ्यो । आफैँ दिनभरि पौरी खेलेर, काब्रा खाएर, आँखा रातो पारेर दिन ढल्न लाग्दा घरमा आउँदा कहिलेकहिले त बुवाको हातको गतिलै पिटाइ पनि खाइन्थो । कुकुरका निहूँमा अरु साथीहरू पौरी खेल्न जाँदैनथे किनकि अरुका घरमा बेलायती कुकुर पाल्ने चलन थिएन ।

एक रुपियाँ २५ पैसामा हातभरिमा नअटाउने लाइफ ब्याइ साबन आउँथ्यो । रातो झोल निस्कने सो साबुनको विशेषता घाउ, खटिरा र फोडा आउँदा समेत अलिअलि तातो पानीले जिउका घाउ भिजाएर सो साबुन दलीदली नुहायो भने केही दिनमै सबै घाउ साफ हुने गर्थे । करिब ३ सय ग्राम जत्रो त्यो साबुन हामी आधा काटेर कुकुरलाई नुहाउन प्रयोग गर्दथ्यौं भने आधाचाहिँ पौरीमा नहर लगेर फरो गरीगरी पन्ध्रदिन महिनादिन पु¥याउँथ्यौं ।

अहिले लाइफ ब्याई साबुन प्रायः कसैले प्रयोग गरेको देख्दिनँ । चालीस रुपैयाँ गोटाको सो साबुन जबजब पसलबाट किनेर लैजान्छु र शौचालयमा राख्छु म मेरो जीवनको त्यो पहिलो कालखण्डमा अनायाशै पुग्दछु । ती दिनका कुराहरू मनमा चलचित्रझैँ जब सल्बलाउन थाल्छन् अनि मन एक तमासले रोमाञ्चित हुन थाल्छ ।

सायद् जीवन भनेकै बितेर गएका भूत कालका कुराहरू प्रसङ्ग सम्झेर वर्तमानमा रमाउनु नै त होला नि हैन र ? कि कसो ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button