‘जमाने पे हम् है ! हम पे जमाना नही ! ’

पेशल आचार्य

‘सम्वत् २०३२/०३३ सालतिर ५ पैसा कप दूध चिया, १५ पैसा थर्ड क्लासमा सिनेमा हेर्न र ४ सय रूपैयाँ जतिमा गज्जबको लैनो गाई पाइन्थ्यो’, यो कुरा मैले यही हप्ता आफ्नो फेसबुक वालमा पोष्ट गरेपछि एकै छिनमा ह्वारारार्अ गरेर अनेकौं कमेन्टका वर्षा भए ।

मानिसहरूले आआफ्नो समय र काल खण्डका कुराहरू लेखेर सेयर गरे । उनीहरूले कसैले सिनेमाका कुरा लेखे । कसैले घिउका कथा हाले । कसैले चाहिँ गाई भैँसीका कहिरन सुनाए । जमाना साह्रै सस्तो रहेछ ऊ बेला । मानिसहरू बास्तविक मानिसजस्ता थिए । इमानजमान थियो । अ‍ैँचो पैँचोमा मानिसहरू रमे÷रमाएका थिए ।

त्यसै बेलाको कुरो म सझिन्छु । सलाई र लाइटर धेरै कम गृहस्थीका घरमा मात्र हुन्थ्यो । आगो माग्न जाने चलन थियो । मानिसहरू सखुवाकै दाउरामा आगो बालेर अगेनुमा राख्थे । मधेश भए पनि केही पुरातन चलन भएका घरहरूमा अगेनुको चलन राम्रो थियो । हाम्रो घरमा चाहिँ बुवा जागिरे भएकाले सलाईको चलन आइसकेको थियो ।

मैले पहिलो चोटी बिजुली बलेको देखेको इनरुवा बजारमा हो । त्यो अलि अघि याने सम्वत् २०२६ सालतिरको कुरा हुनुपर्छ । मेरो माइलो भाइ लाभ (जसको घरको बोलाउने नामचाहिँ विमल थियो) जन्मेपछि इनरुवा बजारमै बिजुली देखेको हो । विकासे गाईभैँसी पाल्ने चलन चलिसकेको थियो । फ्याट नापेर दूधका ससाना सहकारीजस्ता संस्थाले किसानलाई पैसा दिन्थे । पानी हालेर दूध बेच्ने चलन भर्खर चल्न थाल्यो । चलन त के भनौं कुचलन रहेछ –त्यो ।

एक दिन एकजना गाउँको साथीले घरबाट थोरै दूध बाल्टीमा हालेर बजारमा बेच्न लैजाँदा मनमा पाप पसेछ । नहरको पानी मिसाएर मारबाडीका दोकानमा दूध भरेर दिँदा भ्यागुताको बच्चा झरेर मारबाडीको हप्की खाएको थियो । त्यो कुरा हाम्रो हाँचमा धेरै महिनासम्म हाँसोको विषय बन्यो ।

पछि रहँदाबस्दा त्यो पूरै इनरुवा बजारभरि फिँजियो ।

हामी ट्युसन पढ्न जान्थ्यौं । बी.एस्सी.सर उमनामले चिनिने तर बुद्धिप्रसाद पौडेल नाम थरका एकजना हाइस्कुल शिक्षक हाम्रो बलाहा स्कुलमा आउनु भयो । वहाँहरू बूढाबूढी नै शिक्षक भएर आसामबाट आउनु भएको थियो । पत्नी मञ्जु मिस (जसको पूरा नाम मञ्जुमाला पौडेल थियो) वहाँ अङ्ग्रेजी पढाउनु हुन्थ्यो ।

बूढा हिसाब र बूढी अङ्ग्रेजीकी शिक्षिका भएपछि वहाँहरूको ट्यूसनको बजार गतिलोसँग जम्यो । मञ्जु मिस निमावि तहमा पढाउने हुनाले हामीले कक्षामा कहिलेकाहीँ पढे पनि ट्युसन पढेको मलाई उति याद् छैन तर बी.एस्सी.सरसँग भने सम्वत् २०३६ सालतिर पढेको याद छ ।

पच्चीस रूपैयाँमा एक विषय ट्युसन पढेको याद् छ । पछि सोही फिस तीस हुँदै चालीस समेत भयो ।

सम्वत् २०३६ साल फागुनतिर हामी झापा बसाइँ गयौं । त्यहाँ मैले पचास रूपैयाँमा तीन विषयको ट्युसन पढेँ । चलन नै त्यही रहेछ । शिक्षक कालीप्रसाद पोखरेलले अङ्ग्रेजी पढाउनु हुन्थ्यो । अति कडा र राम्रो विषयवस्तु भएका शिक्षक हुन् – ती कालीप्रसाद पोखरेल सर ।

उनी केपी सर उपनामले चर्चित थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता रहेछन् तिनी । जिल्ला भित्र र बाहिर भाषण गर्न गैरहन्थे । त्यसैले कक्षा प्रायः खाली भैरहन्थ्यो । उनका सट्टामा हेड सर (जसको नाम डिल्लीप्रसाद भट्टराई थिया) उनी कक्षामा आउँथे । उनलाई कोही विद्यार्थीहरू पनि नटेर्ने ‘भट्टराई बाजे’ भनेर कन्डा पछाडि गिल्ला गर्दथे । सरल तरिकाले नकुटिकन पढाउँथे । मैले धेरै ग्रामरका रुलहरू हेड सरबाट सिँके । म चाहिँ उनलाई अति मन पराउँथे ।

म नौलो विद्यार्थी भएकाले उत्ति बोल्दिनथेँ ।

मैले झापामा हाइस्कुल २ वर्ष पढेर सम्वत् २०३८ सालमा एसएलसी परीक्षा दिएँ । त्यो बेलामा माघमा परीक्षा भएर साउनमा रिजल्ट निस्किन्थ्यो । घोकने जमाना थियो । फेल भएकाहरूलाई घर, गाउँ, समाज र स्कुलमा पनि हेला गर्ने र गिल्ला गर्ने चलन थियो । त्यसैले हामी कम्मर कसेर पढ्थ्यौं । कतिपय अवस्थामा त रातरात भर पढिन्थ्यो म पुगेस् पुगेस् भएर सेकेन्ड डिभिजनमा पास भएँ ।

बनारसमा पढ्न बसेका विद्यार्थीले त टुप्पी कसेर पढेका भनेर गफमा सुनिन्थ्यो । एकपटक मैले लहैलहैमा लागेर टुप्पी त होइन निधारमा डोरीले कसेर पढेको याद् छ । भोलिपल्ट त डोरीको डामै बसेछ । त्यसपछि मैले डोरीले निधार बाँधेर पढ्न छाडिदिएँ ।

जमाना सारै रमाइलो थियो । सिनेमाले बजार पिटेको थियो । पिटेको भनेको नाम चलेको । समाज जान्न, सुन्न र बुझ्न मानिसहरू सिनेमाको सहारा लिन्थे । मैले पनि धेरै खाले सिनेमा हेरेको छु । सिनेमा भनेपछि म हुरुक्कै हुन्थेँ ।

मैले त्यो बेलाका धेरै चर्चित सिनेमाहरूबाट जीवनमा काम लाग्ने धेरै कुराहरू सिकेको छु । गीत गाउन पाएपछि संसारै जितेको अनुभूति हुन्थ्यो । खान पिनमा पनि धेरै रौस चल्थ्यो । साथीहरू घरबाट पैसा मागेर र चोरेर ल्याएर चना, चटपटे र माछा खुवाउँथे । म पढ्नमा औशत भए पनि धेरै साथीहरूले माया गर्थे । म सहयोगी थिएँ ।

पछि एसएलसी पास भएपछि चाहिँ स्कुले साथीहरूको हूल छुट्यो । नदीबाट कुलोमा पसेको पानी खेतका गह्रामा गएर बिलाएझैँ हामी क्याम्पस पढ्दा आफ्नो परिचय बनाउनै सङ्घर्ष गर्ने गर्दथ्यौं ।

जमाना गज्जबको थियो । त्यो बेला चलेकै डायलग थियो, ‘जमाने पे हम है । हम पे जमाना नही !’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button