
कुखुरा भनेपछि हुरुक्कै, खोर्सानी नभई हुन्नथ्यो
खोर्सानी सम्झँदै पनि पिरो हुन्छ !
पेशल आचार्य
सम्वत् २०३४ साल तिरकै सम्झना हो, जुन बेला हामी भर्खर ६ कक्षामा पढ्थ्यौं । ऊ बेलाको पढाइलेखाइ र अहिलेको पढाइमा आकास जमिनको अन्तर छ । त्यो बेला स्कुल र घर दुवै ठाउँमा कडा अनुशासन थियो । घरमा बाआमाको कयस र स्कुलमा सरहरुको शासन । हामी पढ्नमा औशतमा गनिने विद्यार्थी थियौं । न धेरै जान्ने न धेरै नजान्ने !
स्कुलको पढाइ राम्रो थियो । थोरे विद्यार्थी भए पनि पर्याप्त शिक्षकहरु भएकाले जेजति ज्ञानगुन पाइयो त्यसमा सन्तुष्ट हुने ठाउँ देखिन्थ्यो । हामीमा पत्रपत्रिका पढ्नु पर्छ भन्ने भर्खरभर्खर ज्ञान पसेको थियो । त्यो जमानाका पत्रिकाहरुमा ‘नयाँ सन्देश’ फरक खालको पत्रिका थियो भने ‘साप्ताहिक मञ्च’, ‘मातृभूमि’ र ‘राष्ट्रपुकार’ साप्ताहिक नाम चलेका पत्रिकाहरु थिए । मधुपर्क भन्ने साहित्यिक पत्रिका पनि रहेछ तर हाम्रो स्कुलमा त्यो पत्रिका आउँदैनथ्यो । हामी पाएमा नयाँ सन्देश पत्रिकाचाहिँ खोजीखोजी पढ्ने गर्दथ्यौं । बाँकी पत्रिकाहरु पाए पढ्ने उस्तो धित धरान गरेर नपढ्ने । तर मैले नियमित रुपले पत्रिका पढ्न थालेको चाहिँ अलि पछिबाट मात्र हो ।
मैले केटाकेटीमा उति मन लगाएर पढिनँ । माथि नै मैले स्वीकारिसकेको छु म औशत किसिमको छात्र मात्र हूँ । मैले मन लगाएर पढेको र पढाइका मसिना मसिना कुराहरु बुझेको चाहिँ एस्एल्सी पास गरेदेखि हो । अझ मैले मेची क्याम्पसमा आइए मे पढ्दा फोर स्टार्स ग्रुपको सङ्गत र साथीहरुको प्रेरणाले हो ।
म आजचाहिँ यहाँ पढाइलेखाइ र पत्र पत्रिकाको कुरा गर्न गइरहेको छैन । म गाउँ घरमा आउने पाहुनापासा र खानपिन र गाउँले समाजका ससाना कुराहरु गर्न गैरहेको छु । त्यो समयमा हामी सुनसरीको इनरुवामा बसोबास गर्दथ्यौं । सुनसरीमा राम्रो उब्जाबाली र उत्पादन हुन्थ्यो । हामी आफू पनि कहिलेकाहीँ पाहुना पासा जान्थ्यौं र हाम्रा घर परिवारमा पनि विभिन्न प्रकारकार नातागोताहरु पाहुनाका रुपमा आउँथे । त्यो क्रम उस्तैउस्तै हुन्थ्यो ।
हाम्रामा एकजना खड्गबहादुर पौडेल नामथरका पाहुना प्रायः आइरहनु हुन्थ्यो । वहाँको घर सुनसरी जिल्लाकै सोनापुर भन्ने गाउँमा थियो । पहिले उहाँ निक्कै धनीमानी हुने खाने हुनुहुन्थ्यो । जसले गर्दा उहाँलाई खानपिन, बसउठ र अनेक चालचलनका कुराहरु धेरै थाहा थिए । मिठो मसिनो खान मन पराउने भएकाले वहाँ हाम्रो घरमा महिना पन्ध्र दिनमा पाहुना लाग्न आइरहनु हुन्थ्यो । हाम्रो घरमा त्यो बेलामा दुहान कहिल्यै पनि टुटदैनथ्यो ।
प्रायः हामी गाई पाल्ने गर्दथ्यौं । गाईको स्याहारमा बुवाआमा दुवै अति मन गर्नु हुन्थ्यो । गाईको स्याहार गर्दा हल्का व्यायाम पनि हुने भएकाले बुवाले घाँस, कुटी, कुँडो र दानाको जोहो गर्नु हुन्थ्यो भने आमाचाहिँ गाईको पूजा गर्न पाउँदा मख्ख पर्नु हुन्थ्यो । एवम् रितले हामी सन्तानहरुचाहिँ आफ्नो सक अनुसारका ससाना कामहरु बाआमालाई सघाएर मख्ख थियौं ।
्कहिले काहीँ ती खड्गबहादुर पौडेल ठूलो बा अलिअलि छिटोछिटो पनि पाहुना आउनु हुन्थ्यो । त्यसो हुँदा घरमा केकसो गाह्रो साँघुरो हुन्थ्यो हामीलाई केही थाहा हुँदैनथ्यो तर हामीलाई चाहिँ पाहुना आउने निहूँमा मिठो मसिनो खान पाइने भएकाले खुसी नै महसुस हुन्थ्यो । हामी केही बोल्दैनथ्यौं ।
हाम्रो बोलीको कुनै माने मतलब पनि थिएन ।
ती क्षेत्री जातका पौडेल रहेछन् । प्रायः घोडामा हिँड्थे । कहिलेकाहीँ मात्र पैदल आउँथे नत्र धेरैजसो घोडामा नै आउँथे । उनी खानपिनका जति सौखिन थिए त्यति नै लगाउने कुराका पनि सौखिन थिए । यो कुरा हामी केटाकेटी नै भए पनि याद खबर गर्ने गर्दथ्यौं । म त्यतिबेला करिब १० वर्षको रहेछु ।
खड्गबहादुर तिनको छोटकरी नाम थियो । अझ कुनै बेलामा त बुवाआमा ‘खड्गे’ पनि भन्नु हुन्थ्यो । तिनी भात मज्जाले खान्थे । तराईमा त्यो बेलामा दाल, भात, तरकारी र अचार मिलाएर खाने चलन चलिसकेको थियो । अनि साइडमा हुने अन्य कुराहरुमा दूध, दही, मोही र ध्यू हुने नै भए ।
बाहुनको घर भएकाले हामीले कुखुरा खाने गरेका थिएनौं । यद्यपि बुवा चाहिँ कहिलेकाहीँ हाटबाट जिउँदो कुखुरा किनेर बनाउन लगाएर झोलामा हालेर साइकलको पछाडिको क्यारियरपट्टि झुण्ड्याएर ल्याउनु हुन्थ्यो । खसीको मासु खाइरहने हामीलाई कुखुराको मासु चखिलो लाग्ने नै भयो । आजआज भोलिभोलि गर्दागर्दै हामीले कुखुराको मासुमा बानी प-र्यौं ।
ती खड्ग ठूलो बा पनि कुखुरा भनेपछि हुरुक्कै गर्थे ।
तर तिनको भात खुवाइ डरलाग्दो थियो । सबै थोक एउटै थालमा हालेर आँखा चिम्लेर नबोलीकन खानु तिनको ज्यादै राम्रो विशेषता थियो । मैले खाना खाने बेलामा बोल्नु नहुने कुरा तिनीबाटै सिकेको हूँ ।
भात खाँदा तिनलाई खोर्सानी नभई हुन्नथ्यो । एकैपटकमा हरिया खोर्सानी भए तिनी पाँच-सात वटा र सुकेका राता खोर्सानी भए दुईवटा पोल्न लगाएर खानाका साथ खान्थे । मलाई चाहिँ तिन्ले खाएको खोर्सानीले नै कसरी कसरी हो पिरो महसुस भैसक्थ्यो ।
हुन त मैले हरुवा र चरुवाले भात खाँदा पनि हरिया पिरा जातका खोर्सानीहरु २-३ वटा खाएको देखेको हूँ तर खड्गबहादुर जस्तो गरी पिरो खाने मान्छे चाहिँ मैले कहिले देखिनँ । तिनी भोलिपल्ट त्यो खोर्सानीलाई के गरी पचाउँथे कुन्नि ? सोध्न मन लागे पनि हामीमा त्यो आँट हुँदैनथ्यो ।
आज पनि जबजब कसैले भातसँग हरिया या राता सुकेका खोर्सानी खान थाल्छन् म ती मेरा प्रातःस्मरणीय खडुगबहादुर ठूलो बालाई सम्झिहाल्छु । कसो कसो गरी मेरो मुखमा पानी आइहाल्छ र पिरो महसुस हुन्छ । सायद् यो मेरो केटाकेटीमा परेको प्रभावले पनि होला ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)