
‘कान्छा ! आमाबा भन्दा पनि ठूला हुन् र राजा ?’
केशवराज आचार्य
दुई कक्षाको महेन्द्रमालाको पहिलो पाठमा बालसाहित्य, छन्द कविता र समालोचनाका क्षेत्रमा सिद्धहस्त कलम चलाउने कवि दैवज्ञराज न्यौपानेको एउटा बालकविता थियो । “राजा सबका साझा” शिर्षक मा रहेको त्यो कविता ‘राजा’ को प्रशस्ती वारेमा थियो । उक्त कवितामा राजालाई धेरै कुरासँग दाँज्दै यो भन्दा ठूला, त्यो भन्दा ठूला भनेर लेखिएको थियो ।
“हामी सब नेपालीका एउटै साझा राजा । नेपालीलाई माया गर्ने राजा सबका साझा”बाट शुरु गरिएको उक्त कविता “आमाभन्दा ठूला, बाउभन्दा ठूला । हामी सबैभन्दा राजा नै हुन् ठूला”मा लगेर अन्त्य गरिएको थियो ।
अरु कुरा मनमनै पढ्ने म छन्दात्मक कविता पढ्ने बेला चाहिँ धोद्रे भए पनि ठूलो स्वरले पढ्ने गर्थेँ । मैले त्यो कविता पढेको सुनीरहनु भएकी मेरी आमाले केही आश्चर्यचकित भावका साथ सोध्नुभयो, “आमाबा भन्दा नि ठूला हुन् र कान्छा राजा ?”
त्यो उमेरका केटाकेटीका लागि कितावमा लेखेका कुरा अकाट्य सत्य हुने गर्थे, गर्दछन् । आमाको जिज्ञासाको भाव वा गहिराइ बुझ्ने वा सोच्ने उमेर पनि थिएन । तर सानो उमेरको भए पनि त्यो जिज्ञासा राख्ने बेलाको आमाको अनुहारको अभिव्यक्ति मैले भुल्न सकेको थिइन, छैन । त्यसैले म ठूलो कक्षामा चढ्दै गए पनि सो कवितालाई पछ्याइरहेको थिएँ ।
सायद मेरो आमाले जस्तै धेरैका आमाले र स्वयम् रचानकारकी आमाले पनि सोध्नुभयो होला, “राजा आमाबा भन्दा नि ठूला हुन् र?” त्यसैले मैले सो कविताको अन्त्य सम्पादन गरिएको देखेँ । सम्पादन गरेर कवितालाई, “आमा बाउ जस्तै राजा नि हुन् ठूला” भनेर अन्त्य गरिएछ । परिवर्तित लाईन पढ्दा ठूलो राहत महसुस गरेको म अझै पनि सम्झन्छु । त्यति बेलासम्म म अलि बुझ्ने भई सकेको थिएँ । सायद आमाको त्यो बेलाको जिज्ञासामा भन्न नसकेको, “होइन आमा । आमाबा भन्दा राजा ठूला होइनन् । हाम्रो लागि राजा भन्दा हजुरहरु ठूलो हो” पश्चाताप भाव म मा बाँकि नै थियो होला ।
मेरो आमाले पढ्नु भएको छैन । तर आफ्ना सात सन्तानहरुलाई ठीकठाकको जीविकोपार्जन गर्न लायक बनाउनुभयो । त्यसैले नपढेको, डिग्री नभएको भन्दै राजनीतिक व्यक्ति वा अन्य कसै माथि खिसिट्यरी गर्ने, खसाल्ने वा उनीहरुको हुर्मत लिने मान्छेहरुप्रति म कहिल्यै सहमत हुन सकिन । चाणक्य जस्ता विद्वानले पनि ब्रम्हभाव राख्न सक्ने व्यक्तिका अगाडि अन्य ज्ञान गौण हुन् भनेका छन् ।
सबैभन्दा मुख्य कुरा दृढ ईच्छाशक्ति, ईमानदारिता, अनुशासन र ब्रम्हभाव (अर्को पनि म जस्तै आत्मा हो भन्ने सोच राख्ने भाव) को नजिक पुग्न र बाँच्न खोजिने प्रयास जीवनका लागि महत्वपूर्ण कुरा रहेछन् । पक्कै पनि औपचारिक पढाइले सुनमा सुगन्ध थप्नसक्छ तर सुगन्ध विनाको सुनको मूल्य पनि कहाँ कम छ र ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




सहि हो दाई । हाम्रो समाजमा पढाई लेखाई भएका फताई गरेर खानेलाई फताई जस्तो नसम्झिने र पढाई लेखाई नभएर ईमानदार मान्छेलाई ईमानदार नसम्झिने परिपाटी रहि आएको पाईन्छ । पढाई लेखाई भएका खुरापाती गरेर खाने मान्छे भन्दा खुरापाती नजाने तर ईमानदार मान्छे छ भने मलाई उहांहरु नै ज्ञानी जस्तो लाग्छ । उहांले नै सहि आचरण र ज्ञान सिकेको जस्तो छ । अक्षर मात्र चिन्नु सहि ज्ञान जस्तो लाग्दैन मलाई पनि !
हार्दिक धन्यवाद मोहन भाइ ।