बाबालाई काेक्राेबाट बाहिर नलगेकाे भए म त एकादेशको कथा !

तारा श्रेष्ठ

म सानै थिएँ । हजुरआमाकाे काखमा टाउका अढेस लगाएर वहाँकाे कुरा कथा झैं आन्नद ‌मानेर सुनिरहेथेँ ।

हजुरआमाले भन्दै हुनुहुन्थ्यो, ‘छाेरा छाेरीकाे माया त मुटुकाे घाउ जस्तै हाे । घरधन्दा सकेर मेला जान छाेराेलाई (मेरा बाबा) कोक्रोमा सुताएर निस्कन लाग्दै थिएँ, मेरा गाेडा गर्हौ बने, पाइला अगाडि बढेनन् । मनमा एककिसिमको डर पसाे । निदाएकाे नानी चेपेर बाहिर मात्र के निस्केथेँ, अचानक पृथ्वी हल्लिन थाल्यो, पिङ खेले झैँ । एकैछिनमा घर त गर्ल्यामगुर्लुम पाे ढल्याे । पुरिएकाे सामान पन्छाउँदै हेरेकाे त बाबुकाे काेक्राे त राेटी जस्तै चेप्टिएकाे रहेछ । काेक्राे समातेर खुब राेएँ ।’

म जिज्ञासु बन्दै साेधिरहन्थे, ‘किन रुकाे ?’

‘मैले तेरा बाबालाई बाहिर नलगेकाे भए, मेराे बाबु मसँग हुनेथिएन अनि तँ पनि हुने थिइनस् ।’

म बुझे झैं गर्थें ।

भन्दाभन्दै हजुरमा सुक्सुकाउन थाल्नुहुन्थाे । त्याे नब्बे सालकाे भूइँचालो रहेछ ।

अहिले संझन्छु, म आमा बनेर पाे छाेरा, छाेरीकाे माया बुझेँ । साँच्चै मुटुकै घाउ हुँदाेरहेछ ।

कठै ! मेरी हजुरमा अनि मेरा बाबा ! काेक्राेबाट उठाएर मेरा बाबालाई बाहिर नलगेकाे भए म त एकादेशको कथा पाे हुने रहेछु ।

बाघ जस्ता मेरा बाबा सार्है परिश्रमी र लगनशील हुनुहुन्थ्यो, सबै खाले काम गर्न आउने वहाँलाई । वहाँले सानैदेखि जागिर खानु भा रे । उतिबेला मासिक तलब दुई, अढाई रुप्पे थियो रे । उतिबेलाका बाबा अहिले ओराली लागेकाे मृग झैं हुनुहुन्छ । काँध खत्रक्क गलेका छन् । धेरै कुरा गर्न नि मन नलाग्ने । त्याे काँधमा चढेर ‘दाइ त काले भाइ पनि काले’ भन्ने गीत गाउँथे रे म । कति पाखा बेँसी पुग्नु भाे मलाई काँधमा राखेर । म सानी हुँदा त्याे काँध मेराे वैशाकी थियो आज बाबा बुढा हुदैँ गर्दा मेराे काँध खै‌, काम‌ लागेकाे ? मैले मेराे बाबालाई के गर्न सकेँ त ?

म रिसाउँदा ‘नक्कलीलाई भगाइ लगाे झिल्केले, झिल्केलाई …’ भन्ने गीत गाउनुहुन्थ्यो, मलाई राम्ररी याद छ । दौरासुरुवाल, कालाेकाेट, कम्मरमा पेटी, कालै भादगाउँले टाेपी लगाएकाे मेरा बाबा कम्ता राम्रा थिएनन् । अहिले संझन्छु, मेरा बाबा त संसारकै राम्रा बाबामा पर्नुहुँदाे रहेछ ।

हामी चारवटी छाेरी जन्मिसकेका रहेछौँ । बाबा र हजुरआमालाई नातिकाे मुख हेर्ने मन । हलेसी महादेवकाे दर्शन गर्याे भने छाेरा जन्मिन्छ भन्ने विस्वासले मलाई चेपेर हलेसी दर्शन गर्न झर्नु भाे रे । म बाटामा थाेरै हिड्थे रे । लाज लाग्ने कुराे त, म रक्सी खाएपछि रौसेर हिड्थे रे । रक्सीलाई चक्सी भन्थे रे । बाबाले सुनाउँदै हाँस्नुहुन्थ्याे ।

भगवान् हलेसी महादेव त साँच्चिकै पुकार सुन्दारछन् । एक वर्ष पछि आमाले भाइ पाउनु भाे अनि भाइ डाक्ने छाेरी भनेर मलाई माया त कति हाे कति गर्नु भा काे । पहाडमा दु:ख हाेला हामीलाई भनेर आफु जहाँ जहाँ सरुवा हुने उतै लाने बाबाले । आमा पहाडमा दु:ख काटेर हामीलाई सहर राख्ने । हाम्रा बाबाआमा कति महान थिए ।

जब हामी धरानमा बस्थ्यौं, बुबा हवलदार हुनुहुँदाे रहेछ। वहाँ खुबै साहसी र याेद्धा पनि । कति पटक राति डाकासँग एक्लै भिड्नु भा थ्यो रे । चाेरलाई तुरुङमा राखेर पिटेकाे कुरा सुनाउँदा म निन्याउरो हुँदै साेध्थेँ, ‘अनि चाेरलाई कति दुख्याे हाेला है ?’

बाबा भन्नहुथ्याे, ‘बदमासी गरेर कुटाइ खाकाे नि । कसैकाे केही चाेर्नु हुन्न । आज सियाे चाेर्नेले भाेलि फाली चाेर्छ,‌ पर्सि घर फाेड्छ । प्रहरीको काम देश र जनताकाे सेवा र सुरक्षा गर्ने हाे ।’ हामी काेही बदमास भएनौं ।

जब हामी ठुला हुँदै गयौं, बाबासँग खुब डराउन थाल्यौं, बाबासँगकाे बसाइ पनि पातलिँदै गाे । वहाँकाे ठुल्ठुला आँखा, सद्दाम हुसेनकाे जस्तो जुँगा । एक पटक आँखा घुमाउँदा र जुँगा बटार्दा हाम्रो साताे गइसक्थ्याे । हामी बाबासँग आँखा जुधाएर बाेल्न डराउँथ्यौ ।

जब बाबा सरुवा भएर वीरगंज, जनकपुर, राजबिराजतिर जानु भाे, तैताक म बुबालाई गाडी चढाउने बहानामा वहाँकाे झाेला बाेकेर लिखिरलिखिर झुम्कासम्म पुग्थे । वहाँ चढ्ने काेशी बस परैबाट देखेर हतारहतार ‘पैसा चाहिएकाे छ बाबा’ भनेर आधा सास बाहिर आधा पेटभित्र राखेर बाेल्थेँ । दश रुपिया माग्दा बीस रुपियाँ दिने मेरा बाबासँग किन त्यति धेरै डराएहुँला ? बाबा बस चढेपछि बस अाेझेल नपरुन्जेल हेरिरहन्थें । बाबाले झन मलाई कति संझिरहनु हुन्थ्यो हाेला, त्यत्राे झाेला जाे बाेकेर वहाँलाई बिदा गर्न जान्थेँ ।

हाम्रो परिवार निकै ठूलो थियाे । पाउना पासा पनि उतिकै हुन्थे । पाँच छाेरी, तीन छाेरा आफूहरु । खेतिपाती थाेरै, एकजनाकाे कमाइँ कसरी पढाइ लेखाइ गरे हाेलान् । बिहे दान कसरी फर्स्याए हाेलान् । कसरी धाने हुन् । मेरा बाबा कति महान ! हाम्रै लागि भनेर कति पसिना घुटुक्क निले हाेलान् । कति घामपानी सहेहुन् ।

ज्यूउँदाे इतिहास वहाँ , सप्पैले असइसाप भन्थे वहाँलाई । वहाँको रवाफ निकै पछिसम्मै उस्तै थियो । तर अहिले सबै सकियाे । मासु सुके । आँट बल हरायाे । तैपनि रिस त उस्तै छ । बेला बेलामा पुलिसकाे झ्वाँक देखाइ हाल्नुहुन्छ । पहिले पहिले कविता लेखेर मलाई देखाउनु हुन्थ्यो । म खुब हौस्याउँथे वहाँलाई ‘ॐ शान्ति’काे कार्यक्रममा जाँदा कविता वाचन गरेर सुनाउँदै, मेरी छाेरीकाे प्रेरणाले कविता लेखेकाे हूँ भनेर मेराे परिचय गराउँदा गर्व लाग्थ्यो ।

नब्बेऔँ जन्मदिनमा पनि मलाई आफै फाेन गरेर बाेलाउनु भाे । मन पर्ने खानेकुरा ल्याउन भन्नु भाे । सबै छाेरा, बुहारी, छाेरी, ज्वाइँ, नातिनातिना मिलेर जन्मदिन मनाइरहँदा रमाईलो मान्नु भाे । यतिका बेलासम्म बाबाकाे छहारीमनि बाँच्न पाँउदा, वहाँकाे आशीरवचन सुन्न पाउँदा हामी त्यसै त्यसै पुलकित छौं । हामी भाग्यमानी छौं । बाबा युग युगसम्म बाँच्नुहाेस्, दीर्घ जीवन र सु-स्वास्थ्यकाे कामनासहित जन्मदिनको एक भूगाेल शुभकामना बाबा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button