गुनासो त मलाई आफूसँग पनि छैन

पेशल आचार्य

सम्वत् २०३५ सालको कुरा हो यो । त्यो जमानामा अग्र्यानिक खेतीपातीका कुरा धेरै हुने गर्थे । हामीले पनि खेती गरेका थियौं । बुवाको जागिर फिल्डको भएकाले उहाँ प्रायः घर बस्न नपाउने । हामी केटाकेटी बेवहारको मेलोमेसो केही थिएन । घर भित्रका गोरखधन्दादेखि लिएर बाहिरफेरको काम समेत आमाले भ्याउनु पर्दथ्यो । यो देखेर भाइहरु र म आमालाई काममा खूब सघाउँथ्यौं । हामीलाई आमाले गरेको दुःखले धेरै प्रेरणा दिन्थ्यो ।

छिमेकीका छोराछोरीहरु पनि आआफ्ना आमाबालाई उनीहरुका घरमा सकेको काम सघाउँथे । त्यो बेला नै काम र परिश्रमको थियो । हिजो आजजस्तो छोराछोरीहरु फुर्सद भयो कि फेसबुक र टिकटकमा झुण्डेर घन्टौं बिताउने गर्दैनथे । शुक्रबार हाप छुट्टी हुन्थ्यो । शनिबार पूरै । हामी चाहिँ शनिबार धेर काम गर्दथ्यौं । शुक्रबार चाहिँ कहिले लिम्बुको बगैँचामा अम्बा चोर्न, कहिले नहरमा पौरी खेल्न र कहिले दोकानबाट सामान ल्याउन आमालाई मद्दत गर्दथ्यौं । यो देखेर हामीलाई बुवाले समेत माया गर्नुहुन्थ्यो । आमाले त झन् फकाई फकाई काम लगाउने नै हुनुभयो ।

हाम्रो घरको विशेषता के थियो भने बुवालाई मिठो खानु पर्ने अनि आमालाई राम्रो लगाउनु पर्ने । यी दुवै थोक भएपछि के चाहियो र छोराहरु त्यसैत्यसै मख्ख थियौं ।

घरमा फरकफरक खालका कामहरु हुन्थे । मलाई घोडाको लिदी सोहोर्न असाध्यै घिन लाग्थ्यो । यो कुरा मैले बेलागम डायरीको ‘रातो घोडा चढ्ने रहर अझै मरेको छैन’ शीर्षकमा लेखिसकेको छु । म कुकुरका छाउरा र बिरालाका ङ्याउरादेखि पनि असाध्यै टाढा भाग्ने गर्थेँ । अझ गाउँकै लोकनाथ ठूला बाको घरको लिँडे कुकुरले पटकपटक टोकेर हैरान पारेपछि म सारै डराउँथे पनि । तर मलाई कुकुरका छाउरा राम्रा चाहिँ लाग्थे ।

बाल मन यी सबै कुराहरु गरेर कहिलेकाहीँ उपध्रो समेत गर्न भ्याइन्थ्यो ।

शनिबार दिउँसो गाई चराउन जान्थ्यौं । पौरी खेल्न पाइने । आँपको सिजनमा आँपका टिकुलाहरु नुन खोर्सानीसँग चोपलेर खान पाइने । कटहरका सिजनमा खेतमा भएका कटहरका रूखमा चढेर कटहर टिपेर घर ल्याउन पाइने । यी सब सुविधाहरु भएकाले हामी आफैँ जिद्दी गरेरै भए पनि गाई चराउन जाने गर्दथ्यौं ।

त्यो बेला सामान्य गृहस्थ कहाँ कटहरको तरकारी, लोकल रहरको दाल र टमाटरको अचार खूब चलेको थियो । भर्खरभर्खर मुश्लिम धानको चलन आएको थियो । यी सबै थोक मिलाएर खान जान्नेहरु गाउँमा धनीमनी मै गनिन्थे । हाम्रो घरमा त्यो सबै पाकेको र बनेको हुन्थ्यो । मलाई ती खानेकुराहरुको स्वाद मजैले थाहा छ । बाक्लो बाहुन गाउँ थियो । खार्पाली पोखरेल र लामीडाँडे भट्टराईहरुको हाइदुवाईका बीच अन्य थरझैँ हामी पनि अल्पमतमा थियौं । गाउँ असाध्यै मिलेर बसेको थियो । मिलीजुली गरेर बस्नु, परिश्रम गर्नु, आफ्नो सोझो गर।र उन्नति गर्नु र आफूभन्दा ठूलालाई मान्नु यी सबै कुराहरु मैले जन्मिँदै त्यो ठाउँमा संस्कारका रुपमा पाएकाले मलाई अहिले समेत जीवन जिउन सजिलो भएको छ । मैले यी सबै कुराहरु भोगेका हुनाले अहिले बेधडकसँग अरुलाई बताउन पाएको छु ।

मेरा दुई भाइहरु यतिखेर प्रवासी जीवन बिताएर अमेरिकामा छन् । धन, दौतल र ऐशआरामको जीवन छ उनीहरुको । तर मलाई मेरो नेपालको धपेडीमय जीवन नै सुखी र खुसी लाग्छ । मैले उनीहरुलाई बाल्यकालको यस्ता अनुभूति मैले लेखिरहेको छु भनेको पनि छैन, भन्ने पनि छैन किनकि विदेशीएका मानिसहरुलाई देशको बारेमा, संस्कृतिका बारेमा, यहाँको दुःखसुखको बारेमा र आम भुइँ मान्छेका बारेमा केही पनि थाहा हुँदो रहेनछ । मैले यो कुरा मेरा भाइहरु र अन्य मेरा साथीहरुबाट पनि सूक्ष्म रुपले अध्ययन गरेर थाहा पाएको हूँ ।

मलाई कसैसँग कुनै गुनासो छैन । गुनासो त मलाई आफूसँग पनि छैन । मैले जे भोगेँ । जे देखेँ । जे पाएँ । जेमा रमाएँ । त्यही मेरो प्राप्ति हो । अहिले तिनै सबै थोकले मलाई यति राम्ररी लेखनका गुत्थीहरु दिएका छन् । म बेधडक सम्झेर लेखिरहेको छु ।

खुसी छु । धेरै खुसी त अझ केटाकेटीमा कटहरको तरकारी खान पाएर थिएँ । त्यो खुसी अहिले पनि मेरो मानसपटमा रहिरहेको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button