आमाको होटल, बाउको लज

पालो बाँधेर पत्रिका पढ्दा !

पेशल आचार्य

यो चाहिँ सम्वत् २०४२ सालतिरको घटना हो । आजभन्दा ३६ वर्ष अघिको । इनरुवामा हाम्रो पुस्तक पसल नामक पत्रिका तथा स्टेसनरी पसल खोलिएको थियो । सो पसलका सञ्चालक खेमराज पोखरेल थिए । पोखरेल त्यसबेला वाम राजनीति गर्दथे । हामी सबै उनलाई प्रेमपूर्वक खेमराज सर भन्थ्यौं ।

उनका दाजु जीवनाथ पोखरेल शारदा मावि, बलाहामा पढाउँथे । करिब करिब बहुमुखी स्वभावका जीवनाथ सर शारीरिक विषय पढाउँथे । उनी पढाउने लेखाउने विषयमा अब्बल शिक्षक थिए । त्यो बेला बलाहा स्कुलमा बीएस्सी सर, टंक निरौला सर, स्काउट र अतिरिक्त क्रियाकलापमा समेत उनको पकड थियो ।

जीवनमा धेरै ससाना कुराहरु जीवनाथ सरले सिकाउने सधाउने गर्नु भएको छ । हामी पढाइ लेखाइका अतिरिक्त अनुशासनमा समेत जीवनाथ सरले दिएका अर्ती बुद्धि मान्दथ्यौं । उहाँ हामीलाई नेपाली र अंग्रेजी अक्षर दुवै क्षेत्रमा अब्बल हुनु पर्छ भन्नु हुन्थ्यो । हामी पनि केही अब्जेक्सन नगरी लुरुलुरु सरले भन्नु भएको कुरा मान्दथ्यौं ।

रहँदा बस्दा उहाँका भाइ अर्थात् खेमराज सर २०४४ सालको स्थानीय निकायको चुनावमा उठ्नु भयो । सबैले सकेको हेल्प गरे । बौद्धिक, मानसिक, आर्थिक र दौडधूपको हेल्प हामीले गर्यौं । मलाई पत्रपत्रिकाको पठन लतबानी बसिसकेको थियो । वहाँका पसलमा सबै प्रकारका साप्ताहिक र गोरखापत्र पत्रिका पाइन्थ्यो । मैले उहाँका पत्रिका पसलबाट पैसा भएका बेला किनेरै र नभएका बेला उधारो र कहिलेकाहीँ त साथीभाइहरुले पढिसकेपछि पनि मागेर दिएका पत्रपत्रिका पढेको छु । जे होस् पठन चेतनाको भोक मर्न दिनुभएन खेमराज सरले । उहाँले जिल्ला पञ्चायतको क्षेत्रीय सदस्यमा चुनाव समेत जित्नु भयो । केही महिना पछि सो पसल बन्द भयो । दृष्टि, प्रकाश, छलफल र विमर्शजस्ता पत्रिकाहरु सापट लिएर पढेको अझै यो दिमागमा तरोताजा भएर रहेको छ । पछि सोही पढाइले बीए पास हुन मलाई मद्दत गरेको छ । अझ म बीएको पहिलो वर्षमा प्रथम नै भएको छु । जीवनमा पहिलोपटक प्रथम हुँदा ममा खुसीको सीमा रहेन ।

अभाव गुरु रहेछ । मलाई अभावले जीवनमा सिकाउने काम गरेको छ । २०४६ सालसम्म इनरुवाको बसाइ केही साहित्यिक चेतनाका साथ अघि बढ्यो । सोही सालको अन्त्यतिर राजधानीतिर लागियो । घरमा बाआमा र भाइहरुलाई छाडेर पढ्न र रोजगारीका लागि गएको म त्यसपछि घर बसेको तेतिधेर सम्झना छैन ।

मैथिलीमा एउटा उखान छ– थोडा पढा हल से बहार, ज्यादा पढा घर से बहार । बीएसम्म पास नगरेको भए सायद् घर छाडिदैनथ्यो । अहिले पनि इनरुवाकै बसाइ हुन्थ्यो होला । बीए पढाइले र पास गराइले घर बाहिर बस्न बाध्य बनायो । अनि छुट्यो आमाले पकाएको भात र मिठो गृह सम्झना ।

आमाको होटल र बाउको लजसित्तै हुन्जेलसम्म मानिसले केही पनि प्रगति गर्दैनन् भन्ने सुनेको थिएँ । जीवनमा के कति प्रगति भयो, सोबारे अझै म बेखबर छु तर केही चेतना, ज्ञान र सीपले यसो बोलेर, पढाएर र लेखेर खान सक्ने हुती दिएको छ । यसका लागि बहालाका सबै सरहरु र अझ जीवनाथ सरलाई यतिखेर म सम्झिरहको छु ।

पछि नेपाली साहित्यमा केही लेख्न र स्थापित हुँदै जान थालेपछि जीवनाथ सरको चित्रकारिता व्यक्तित्व पनि बाहिर आयो । वहाँ रिटायर्ड जीवनमा चित्रकार जीवनाथ पोखरेल पन्छी उपनामले चिनिनु भयो । पछि एक कार्यकाल ललितकला एकेडेमीका प्राज्ञ समेत हुनुभयो । अहिले वहाँ घरमै चरा चित्रकलाका धेरै सिर्जनाका साथ बसिरहनु भएको छ । हामीले सानो हुँदाचिनेको जीवनाथ सर अहिले चित्रकार जीवनाथ पोखरेल पन्छीमा फेरिनु भएको छ । यो देख्दा सारै खुसी लाग्छ ।

जीवन भनेकै ससाना प्राप्तिमा खुसी हुन सिक्नु रहेछ । म यसैमा अति खुसी छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button