
आत्तिँदा किन मुखबाट राम राम !
मान्छेहरु आत्तिँदा किन मुखबाट राम राम ! भन्ने शब्द आउँछ ?…
स्वागत नेपाल
रामको जीवन वास्तवमै दुखान्त बन्यो । राज्य गुमाए, जंगल गएर बस्नु पर्यो, श्रीमती गुमाए; अपहरणमा परिन्, नियमित ५ वटा लडाइँ भए, हारेको हार्यै गरे, बाहिर आफ्नी श्रीमतिको बारेमा धेरै कुराहरु सुनिरहनु पर्यो, त्यसैवीच जुम्ल्याहा बच्चा श्रीमतिको गर्भमा आए । ‘इन्डलेस डिज्यास्टर’, ‘सेरिज अफ डिज्यास्टर’ ! तर पनि उस्तै शान्त, सौम्य !
जो मुक्तिको खोजीमा हुन्छन्; जो ‘ग्रेसफुल लाइफ’ चाहन्छन् ‘सक्सेसफुल’ मात्र होइन उनीहरु जीवनमा जति दुःख आए पनि आत्तिँदैनन् । रामको जीवनमा जति संकट आए पनि लक्षबाट ‘डेभिएटेड’ कहिल्यै भएनन् । रामको नाम सँधै संकटमा सम्झनुको कारण तिमीजस्तै संकट सहने क्षमता होस् भन्ने अर्थ हो । खाने बच्चाहरुले माछा खाँदा काँडा अड्कियो भने लालीगुराँसको फूल खुवाउने चलन छ, फूल पाइएन भने ‘लालीगुराँस लालीगुराँस’ भन्न लगाउने चलन छ । राम नै नभए पनि संकटमा रामलाई सम्झिएको कारण तिमीजस्तै संयमित बन्न बल देऊ भन्ने हो ।
हाम्रो जीवनमा पनि जुनसुकै बेला त्यस्ता संकटहरु आउन सक्छन्, हाम्रो अभियानमा र पार्टीमा आउन सक्छ । हामीले अहिले हामीसँग भएको सबै कुरा जुनसुकै बेला गुमाउन सक्छौँ । रामलाईजस्तै जंगल जानुपरेजस्तो स्थिति आउन सक्छ । जुनसुकै बेला हामीसँग भएका कुराहरु हामीबाट गुम्न सक्छन्, श्रीमान्श्रीमति, छोराछोरी, बाबुआमा, दाजुभाइ र साथीभाइ हामीबाट छुट्टिन सक्छन् । रामको जीवनमा अन्त्यसम्म पनि रामले चाहेको भएन, दुखान्त भयो । कृष्णले पनि चाहेका थिए एकथोक तर भयो अर्कै, जीजसले पनि चाहेको एकथोक थियो भयो अर्कै थोक ।
‘सक्सेस’ काे लागि होइन ‘ग्रेसफुलनेस’का लागि हामी पूजा गर्छौँ, ‘हाउ डिड यु कन्डक्ट योरसेल्फ’ भन्ने कुराको सम्झना र पूजा हुन्छ । त्यसैले जीवनमा सफलताका लागि मात्र होइन जीवनमा आएका ठूला चुनौतिसँग लड्ने संयमका लागि विचारको पूजा हुन्छ । देशको लागि राम्रै गर्छु भन्ने मान्छेहरु धेरै छन् । हो, देशमा धेरै असलमान्छेहरु छन् तर थोरै मात्र समझदार र संयमित छन् । सबै असल मान्छेहरु समझदार नहुन पनि सक्छन् (All good people may not be sensible)। असल भएर पनि संयम र समझदारी पनि प्राप्त होस् भन्ने आजको दिन अर्थात् राम नवमीको दिनको कामना हो । सबैमा रामनवमीको यही शुभकामना ! Happy Ram Nawamee !!!
(रामका बारेमा नकारात्मक टिप्पणीहरु पनि छन्, सीतालाई अनावश्यक रुपमा लिइएको परीक्षाको विषयमा मेरो पनि केही रिजर्भेसनहरु छन्, तर यसबारे पनि महाभारत जत्रै एक लाख श्लोकको रामको बारे्मा रामायणजस्तै सीताको बारेमा प्रा. डा. रमेशचन्द्र अघिकारीले लेख्नु भएको ‘सीतायन’को सबै भागहरु अध्ययन गर्नुभए केही चित्त बुझ्ला कि । हालसम्म ५०,००० श्लोक र १२ औं भागसम्म चाहिँ मैले अध्ययन गरेको छु । उहाँकै निवासमा पुगेर लिएको थिएँ । मेरो केही चित्त बुझेको छ । बाँकी सबै भाग प्रकाशित भइसकेपछि हेरौँ । नकारात्मक कुरा सबैका बारेमा छन् तर हामी कृष्णले गोपिनीको सारी लुकाइदिएको मात्र चर्चा गछौँं र उनको खिल्ली उडाउँछौं । तर श्रीकृष्णले अन्तिममा सारी फिर्ता दिँदा के भने दिए भन्ने बिर्सन्छौँ । कृष्णले वास्तवमा पर्यावरणलाई दुषित नबनाउनू, पानीको मूललाई फोहोर नगर्नु, पानी बाहिर झिकेर मात्र नुहाउनु, पानीको मूल सबैको साझा हो भनेर त्यसमा प्रतिबद्धता जनाएपछि मात्र कपडा फिर्ता दिएको र वास्तवमा त्यो सजाय थियो भन्नेतर्फ चाहिँ हामी ध्यान दिँदैनौँ ।)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



