सिद्धि हजुरबा ! तपाईंका मिहिन कुराहरु यो छातीभित्र कति छन् कति

पेशल आचार्य

जीवन भनेको बगिरहनु हो । बहिरहनु हो । उदय र अस्त हो । याने क्रियाशीलता हो । गति हो । क्रम भङ्गता हो ।
वेदले जीवनलाई चरैवेती चरैवेती भनेर हिँडिरहू हिँडिरहू भनेको छ ।

सम्वत् २०४२ साल जेठ पहिलो साता हामी फेरि झापाबाट इनरुवा बसाइँ आयौं । म किनकिन झापाको बसाइमा उति रम्न सकिरहेको थिइनँ । त्यसैले इनरुवा नै फर्किने भन्ने थाहा पाएपछि अति खुसी भएँ । झापाको बसाइ हाम्रो करिब पाँच वर्षको रह्यो । झापाबाटै मैले एसएलसी पास गरेँ । कलेज लाइफको सुरुआत पनि मेरो झापाबाटै भयो । तर पूरा गर्न मोरङ कलेज नै पुग्नु प¥यो ।

इनरुवा आएपछि हामीले दुईतीन वर्ष जति धेरै मिहिनेत ग¥यौं । हाम्रो बस्ने घर सानो थियो । पढ्न बस्नका लागि धेरै कठिनाइ भएकाले हामीले छिमेकी सिद्धिनाथ पोखरेल (जसलाई गाउँले सबैले आदरपूर्वक सिद्धि हजुर बा भन्थे) को घरमा एउटा माथि पट्टिको कोठा लियौं । करिब एक वर्ष जति नै हामी त्यहाँ बस्यौं । त्यो कोठाको वहाँहरुले भाडा लिनु भएन । पढ्ने बस्ने र केही सामान राख्ने गर्दथ्यौं त्यो कोठामा ।

रहँदा बस्दा वहाँलाई पनि हामीले हजुरबा भन्न थाल्यौं । खासमा वहाँहरु पोखरेल हामी आचार्य हजुर बा र नातिको नाता हुने कुरा भएन । जीवनमा रगतको नाताभन्दा भावनाको नाता बलियो हुन्छ भन्ने किताबमा मात्र पढिएको थियो अब बेबहारमा समेत भोग्न थालियो ।

उहाँ रेडियो नित्य सुन्नु हुन्थ्यो । पहिले कलकत्ता बस्दा रेडियो सुन्ने बानी परेछ वहाँलाई । हामी त्यहाँ बस्दा समेत उहाँ रेडियो खूप सुुन्ने । निरक्षर भए पनि वहाँको चेतना शक्ति उच्च थियो । मैले कतिपय विश्व इतिहासका घटनाहरु वहाँसँगै सोधेर बुझेका सन्दर्भहरु रहेका छन् ।

खेतीपातीका कुरा । गाईबाख्रा पालनका कुरा । मानिसका आनीबानीका कुरा । मधेशका मानिसका आनीबानीका कुरा । हावापानीका कुरा । प्रकृतिका कुरा । जीवनका कुरा । रिसरागका कुरा । प्रेम सम्बन्धका कुरा । यौनका कुरा । सबैसबै क्षेत्रका कुरा सिकाउने हजुर बा हुन् मेरा सिद्धि हजुर बा ।

एक दिन पनि नबिराइकन बीबीसी हिन्दी सेवा र नेपाली सेवा सुन्नु वहाँको बिहान बेलुकाको अम्मल नै थियो । मैले पढालेखा नभए पनि कानका भरमा त्यति धेरै कुराहरु दिमागमा राख्न सक्ने र परेका बेला भाँती पु¥याएर बोल्न सक्ने निरक्षर मानिस जीवनमा त्यसपछि कहिल्यै भेटिनँ ।

बहुत सांस्कारिक र बेबहार कुसल मानिस हो वहाँ । हाट बजार गै रहनु पर्ने । घरमा बाख्रा र गाई अटुट पाल्नु हुन्थ्यो । सानो र नम्र बोलीले कसैलाई पनि रिसाउने गर्नु भएन । हामीले वहाँहरुको जीवनचक्रबाट धेरै कुरा सिकेका छौं । अझ खासगरी मैले त धेरै सिकेको छु । मेरो जीवनको अघोषित गुरुजस्तै हुनुहुन्थ्यो सिद्धि हजुर बा ।

मैले रेडियो सुन्ने प्रेरणा उहाँबाटै लिएर जीवनका करिब ३५ वर्ष बीबीसी सेवा सुनेँ । बीबीसी सेवा सुनेरै मैले इतिहास लिएर बीए पास गरेको हूँ । अझ त्यसमा पनि मैले प्रथम श्रेणीको नम्बर ल्याएको छु । भन्न खोजेको कुरा इतिहासको निर्मम र निष्पक्ष विश्लेषण गर्न सक्ने तुल्याइदिने बीबीसी सुन्नु पर्छ भनेर रुचि जगाइदिने मेरा अघोषित गुरु सिद्धि हजुर बा गएको चार वर्षअघि काल कलवित भए ।

यो हप्ता उनकी धर्मपत्नी पनि बितिन् । मलाई नाम नामेसी थाहा छैन ती हजुर आमाको । तर पनि म वहाँलाई असिम श्रद्धा र नमन गर्न चाहन्छु । वहाँले पकाएका भात, चिया र अन्य धेरै पकवान्नहरु खाएको छु । जीवनमा यति धेरै बेबहारिक कुराहरु सिकाउने मेरा ती अघोषित गुरु बा र गुरु आमालाई पुन यही बेलगाम डायरीमार्फत् श्रद्धाञ्जली दिन चाहन्छु ।

जीवन भनेको केही रहेनछ । चार दिनको घामछाँया । आज छ मानिस भोलि नहुन पनि सक्छ । तैपनि मान्छे म सधैँ बाँच्छुजस्तो गरेर अरुप्रति व्यवहार गर्छ । यो उसको नादानीपन हो । भूल हो । मित्थ्या बेबहार हो ।

मैले मानेका सरलताका प्रतीक नातामा गाउँले हजुर बा मात्र भने पनि हुने सिद्धि हजुर बा र सिद्धिनी हजुर आमाप्रति यो ऐकान्तिक स्थलबाट सम्झनाका दुई थुँगा फूल चढाउनुबाहेक अरु केही पनि छैन ।

तपाईहरुबाट सिकेका कुराहरु जीवनमा उतार्न सकियोस् । आफूभन्दा जुनियर र भनेको मान्नेलाई निष्पक्ष भएर सिकाउन सकियोस् । यही आसा छ जीवनमा ।

अहिलेलाई यो सम्झौटोबाट विदा सिद्धि हजुर बा सिद्धिनी हजुर आमा ! तपाईंहरुका मिहिन कुराहरु यो छातीभित्र कति छन् कति ? मेसो मिलाएर र भाँती पु-याएर लेख्ने जमर्को गरौंला । आज यत्ति । विदा !


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button