कुकुरको छाउरो पाल्न पाएर हामी मख्ख थियौं

कुकुर पुराण

पेशल आचार्य

माइलो भाइ कुकुर भनेपछि भुतुक्कै हुन्थ्यो । उसको नाम लाभ थियो । कान्छो पनि कुकुर मन पराउँथ्यो तर हल्का घिन मान्थ्यो । मलाई भने कुकुर बिरालाका बच्चादेखि घिन र डर खूबै लाग्ने । बाफ रे बाफ हुन्थेँ म तर पनि कुकुरसँगका एकाध सम्झनाहरू मसित छन् ।

म ठ्याक्कै आमा गोत गएको थिएँ । आमालाई कुकुर भनेपछि ठ्याम्मै मन नपर्ने । बुवा र भाइहरू मन पराउने । मलाई भए ठिकै । नभए केही जिद्दी गर्दिनथेँ ।

जीवनमा म केही कुराको पनि क्रेजी भइनँ । त्यसैले मलाई कुनै कुरामा सुख र दुःखको अनुभूति छैन । जे छ त्यसैमा रमाएको छु ।

माइलो भाइ भने कहिले कुकुरका छाउरा, कहिले बिरालाका ङ्याउरा र कहिले सुगाका बचेरा, कहिले रुप्पीका बच्चा घरमा ल्याएर पालिरहन्थ्यो । मैले उति जोडबल गरेर खास केही पालेको याद छैन । माइलो भाइले पालेको छ ।

एकपटक नारन काकाको घरबाट चन्दने नामको बेलायती कुकुरको छाउरो ल्यायो । त्यो छाउरो हाम्रो बुवाले नारन काकासँग मागेको करिब ६ महिना भन्दा बढी भएको थियो तर उनले दिएका थिएनन् । पछि एक दिन उनका बा (जसको नाम तबिल्दार बा थियो) पूजा गर्न लागेका बेलामा पूजाकोठा छिरेछ । बूढाले बूढीलाई हपारेको शैलीमा भनेछन् –‘ए बूढी ! तेरा बाजे कुकुरको छाउरोले पूजासामान छोइदियो । लु अपवित्र बनाइहाल्यो नि गोट्टीले ।’

बूढीले नबोलिकन कानमा त्यान्दुङ् पार्दै झुण्याएर बाहिर निकालिन् र आँगनमा पछारिन् । त्यसै बेलामा नारन काका चिया दोकानबाट चिया खाएर र गफिएर घर आएका रहेछन् । हाम्रो बुवा र उनी साथीसाथी । उनी जिल्ला पञ्चायतमा खरदार हाम्रो बुवा भूमि प्रशासनमा खरदार । बुवा चिया पसलमै भएको थाहा पाएर उनी घरभित्र टेक्दै नटेकी आँगनबाटै फनक्क फर्केर फेरि चिया दोकानमा पुगेछन् । बुवासँग भेट भएपछि भनेछन् ।

‘श्यामजी । तपाईंलाई बेलायती कुकुरको छाउरो चाहिएको होइन । लु मेरा घरमा छ । हिँडि हाल्नोस् ।’ नारन काकाले यसो भनेपछि बुवा छक्क पर्नु भएछ ।

विश्वास नलागी नलागी बुवाले भन्नु भएछ, ‘होइन आज के भन्नु हुन्छ ? अरु दिन माग्दा नदिने कुकुरको छाउरो । आज लैजा कि लैजा पो भन्नु हुन्छ त ?’

‘नपत्याउने तपाईं । म घरमा पुगेर लिएर आउँछु है त ।’ उनी यति भनेर लामालामा डेग चाल्दै घर गए र छाउरो लिएर आए ।

बुवाले बेलायती कुकुरको छाउरो बोकेर ल्याउनु भयो ।

घरमा ल्याएर त्यसलाई त्यो दिन कार्टुनमा थाङ्नाको बस्नौटो बनाएर राखियो । दिउँसो अफिस जाँदा फलामको सिक्री किनेर ल्याउने कुरा भयो । हामी खाना खाएर स्कुल गयौं ।

दिनहरू सुलुलुलु गर्दै आफ्नै गतिमा बित्दै गए ।

घरमा सबैको माया पाएर छाउरो पन्पियो । रत्तियो । बलियो भयो । माइलो भाइले छाउरोको नाम चन्दने राख्यो । हामी सबैले ताली बजायौं । निखुरा कालो रङ्को कुकुर नाकको डाँडीमा सेतो भएकाले चन्दने नामकरण गरियो जुन उपयुक्त थियो ।

माइलो भाइको नाम बिमल थियो । कान्छोको ईश्वर । दुवैले चन्दनेलाई सामान्य तालिम थिए । भनाइको मतलब । हात दे भन्दा दिने । खडा हो भन्दा उभिने । बस् भन्दा बस्ने । बाहिर जा भन्दा भित्रबाट बाहिर जाने । यस्ता तालिमले कुकुर सबैको प्यारो भयो ।

शनिबार शनिबार हामी कुकुरलाई नुहाउने गर्दथ्यौं । घरमा अरु काम भएका बेला कलबाट पानी तानेर बाल्टीमा जग राखेर कुकुरलाई साङ्लाले बाँधेर नुहाइदिने गरिन्थ्यो भने फुर्सदमा पश्चिमतिर नजिकै भएको नहरमा लगेर साबुन लगाएर माडीमाडी नुहाइदिने गरिन्थ्यो । त्यसो गर्दा घरको काम गरेको पनि हुने । आफूले नहरमा पौरी खेलन पनि पाइने । एक गोली से दोदो सिकार हुन्थ्यो ।

हामी मख्ख थियौं कुकुरको छाउरो पाल्न पाएर । स्कुल जाँदा र स्कुलबाट घर आउँदा बिमललाई चन्दनेले धेरै खोज्थ्यो । जाने बेलामा हात मिलाउँथ्यो भने आउँदा स्वागत् गर्दथ्यो । रहँदा बस्दा कुकुरलाई बाहिर गुहालीमा राख्न थालियो । गाईगोरुहरू गुहालीमा पालिएका हुन्थे । त्यो सिन्दुरीको जमाना थियो । जसका बारेमा मैले अघिल्लो संस्मरणमै लेखिसकेको छु ।

एक दिन गाउँमा गाईवस्तु चोर्ने चोर आएछ । गाउँभरिका कुकुरहरू रातभरि आँखा झिमिक्कै नपारी भुके । चन्दने पनि भुक्यो । त्यस्को एउटा नराम्रो बानी के थियो भने त्यो आफ्नु शत्रुलाई छोप्दै जान्थ्यो । भुक्दै र छोप्दै जाने बानीले त्यसलाई चोरको नजिक लग्यो होला । चोरले कटबाँसको लौराले घुमाएर चन्दनेको नाके डाँडीमा दिएछ । भोलिपल्ट बिहान त कुकुर सिन्दुरीको बाछीको काखमा मरिरहेको रहेछ ।

हाम्रो कुकुर पाल्ने सपनामा तुषारापात भयो । बिमल र ईश्वर त दिनभरि स्कुल गएनन् । रोई रहे । घरमै बसे ।

म स्कुल गएँ ।

बिस्तारी बिस्तारी पीडा शान्त भयो ।

मैले आज यो कुकुरको कुरा गर्न खोजेकै होइन । मैले लिँडे कुकुरको कथा हाल्न खोजेको हो । लिँडे कुकुर लोकनाथ पोखरेलले पालेका कुकुरको नाम थियो । त्यो खिच्चा कुकुरको ठिम्मर थियो । कडा हवोस् भनेर सानैमा कुकुरको पुच्छर फेदै लगाएर काटिएको थियो । तराईमा कुकुरहरू परेवाका खोर मुनि बाँधेर पालिन्छन् किनकि परेवा खान भनेर न्याउरीहरू आउँछन् । लोकनाथ ठूलो बुवाकहाँ पनि लिँडे खोर मुनि बाँधेर पालिएको थियो । तर कहिलेकहिले खोलिन्थ्यो । खोलेका बेला त्यो अराजक हुन्थ्यो र मान्छे टोकी हिँड्थ्यो ।

मलाई त्यसले धेरैपटक टोकेको छ । हामी केटाकेटीहरू कुकुरले लखेट्यो भने भाग्ने गर्दथ्यौं । त्यो लिँडे भुक्दैनथ्यो । लुसुक्क अघिल्तिर देखा पर्दथ्यो । अनि हामी डरले पिसाब फुस्किने गरी कुद्थ्यौं र ऊ दौडेर आई क्याप्प टोक्दथ्यो ।

मलाई कुहिनामा, तिघ्रामा, खुट्टामा र हातमा गरी ४–५ पटक नै टोकेको छ । पछि त्यो कुकुरलाई गाउँभरिका केटाकेटी टोक्ने भएपछि बाँधेरै मात्र पाल्न थाले पोखरेलहरूले ।

तिनीहरूको ठूलो परिवार थियो । बाबु लेखापढी गर्दथे । गोपाल, माधव, दामोदर, मणि, बिष्णु र राजकुमार नामका ६ भाइ छोरा र कल्पना नामकी एउटी बहिनी थिइन् त्यो परिवारमा । पछि सबै सानो तिनो जागिरे भए । राजकुमार चाहिँ अहिले पूर्वतिर अधिकृत भाका छन् । बूढाबूढी काल कलवित भैसके । ती सबैमा समानदूरीको सम्बन्ध राखियो । हाँच मिल्ने भएकाले विष्णु र राजुसँग बढी मिलिन्थ्यो । कहिले खेलबाडमा कहिले पिकनिकमा । कहिले सिनेमा हेर्न जाँदा ।

अनुशासनमा अति कडा परिवार थियो– पोखरेल परिवार ।

चोट दिएर टोक्ने लिँडे कुकुर पनि अब त स्वर्गमा पुगिसक्यो होला तर त्यसको झझल्को मलाई बेला न कुबेला झ्वास्सझ्वास्स आइरहन्छ ।

अघि दिउँसो स्कुलबाट डेरा फर्किंदा एउटा स्याल रङ्को लिँडे कुकुर देखेर म फेरि झसङ्ग भएँ । यो मेरो बाल्यकालको लिँडे थिएन । अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भनेझैँ भयो । अघिपघि विद्यार्थी थिए । मैले तिनेरुलाई मेरो बाल्यकालीन लिँडेका बारेमा कथा भन्दै ल्याएँ । मेरो डेरा आयो । अनि बाई सर भन्दै तिनेरु छुट्टिए ।

कुकुर भैरवको बाहन हो । भैरव शिवको रिसाहा रुप हो । अहिले पनि स्याल रङको लिँडे कुकुर देखेँ भने म तरङ्ग गरेर तर्सिन्छु अनि मेरो बाल्यकालम पुगिहाल्छु ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button