
हाम्रो प्रेमको विश्वासमा नै मैले तिमीलाई शरीर सुम्पिएकी हुँ
कविता
सुप्रिया खनाल
जिन्दगीमा सबैभन्दा प्यारो तिमी
अनि तिम्रो मिठो परिचय
जुन नाम सुन्दा मात्रै पनि
आज यी ओठ अनायासै मुस्काउँछन्
भोलि त्यही नाम सम्झिएर
यी आँखा रुझाउने काम नदिनु है ।
तिमी नहुँदा जिन्दगी उजाड लाग्थ्यो
अब तिमी वसन्त लिएर आएका छौ
हिजोसम्म बेरङ्गिन मेरो जिन्दगी
तिम्रो आगमनले यतिकै रङ्गीन बनेको छ
औंशीको कालो रात झैं जिन्दगीलाई
पूर्णिमाको उज्यालोले भरेका छौं
पुन मेरो जिन्दगीलाई औशीको साम नदिनु है ।
तिमीबिना म बाँच्न सक्दिन
तिमी बिना न मेरो प्रेम छ न त अस्तित्व नै
हो मैले यस्तै भन्दा तिमी रुने गर्छौं
अनि भिजेका ती परेली कोमल हत्केलाले छुने गर्छौं
भोलि यो दिन बिर्सिएर कसैगरी
मेरो हातमा तिम्रो बिहेको खाम नदिनु है ।
तिमी र म नचाहेरै नजिक हुँदै गयौ
हिजोभन्दा आज अनि आजभन्दा झन्झन् भोलि
भो नसोच केही त्यस्तो नराम्रो अनि नमान गलत
हाम्रो प्रेमको विश्वासमा नै
मैले तिमीलाई शरीर सुम्पिएकी हुँ
बिन्ती ! भोलि मलाई बजारुको नाम नदिनु है ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



